मनोरञ्जन

‘१०’ खड्गो भोगेका अनमोललाई ‘१०’ कै संयोग !

By खबरहब

May 19, 2024

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक नायक–नायिकाको लाइमलाइट अवधि’ एक दशक मात्रै हो भन्ने गरिन्छ । पछिल्लो समय मजबुत ‘फ्यान फलोइङ’ भएका स्टार नायक अनमोल केसीको हकमा यो भनाइ मिल्दो देखियो ।

सन् २०१३ मा नायकका रूपमा ‘होस्टेल’बाट डेब्यू गरेका अनमोल करिअरको ग्राफ उकालो मात्रै थियो । डेढ लाख पारिश्रमिक लिएर फिल्ममा छिरेका उनले ५० लाख रुपैयाँसम्म लिन लागे । ‘स्टारडम’कै कारण एक फिल्ममा उनलाई आधा करोड दिन निर्माताहरू तयार भएका हुन् ।

उनले ७० को दशकमा उत्कर्षमा रहेको स्टारडमको स्वाद चाख्न पाए । तर चलचित्र क्षेत्रमा प्रवेश गरेको ठीक १० वर्ष पुगेपछि ‘छड्के–२’ मा उनले पहिलोपटक असफलताको स्वाद चाख्नुपर्‍यो । १० को खड्गोको शिकार उनी भए ।

खड्गो किन ? जवाफ स्पष्ट छ । सन् २०२३ मार्चमा प्रदर्शनमा आएको उनको नवौं फिल्म सुपरफ्लप भयो । यो फिल्मले अनमोललाई दिएको पारिश्रमिक समेत उठाउन सकेन ।

पहिलो असफलताले झस्किएका अनमोललाई आत्मालोचन गर्न बाध्य बनायो । उनले लिखित सम्झौता गरेका फिल्म पनि छाडे । यसबीच कानूनी झमेलासमेत भोगर र डेढ वर्षपछि उनको दशौं फिल्म ‘फर्कीफर्की’मा आउँदै छ । जुन यही जेठ १० गते प्रदर्शनमा आउँदैछ ।

१० वर्षे अवधिको संयोगले करिअरको ग्राफ ओरालो लागेको नायकको दशौं फिल्म जेठ १० गते नै प्रदर्शनमा आउँदैछ । पहिलोपटक १० अंक नफापेको अनमोललाई यो पटक १० कै संयोग परेको छ । यो पटक उनको १० सँगको सामना कस्तो रहला, त्यो हेर्न भने केही दिनमात्रै बाँकी छ ।

अनमोलका लागि ‘फर्कीफर्की’ समीक्षक र समालोचकले पनि विशेष रूपमा हेरेका छन् । कारण हो – अनमोलकै स्टारडम ! यो फिल्म ‘बक्स अफिस’मा सफल साबित भए उनको ‘कमब्याक’ चर्चा चल्ने छ । कारणबस असफल भए उनको स्टारडममाथि प्रश्न उठ्ने पक्का छ ।

१० को खड्गो ब्यहोरेका अनमोललाई यो पटक भने सहज पक्कै छैन । उनी ‘फर्कीफर्की’ र ‘पुजार सार्की’का निर्माण पक्षको चेपुवामा छन् । निर्माण पक्षले यी दुई फिल्मलाई हलमा प्रतिस्पर्धा गराएका छन् ।

‘फर्कीफर्की’सँग जुध्न आएको मल्टिस्टारर फिल्म ‘पुजार सार्की’मा उनका प्रतिस्पर्धी मानिएका अर्का नायक प्रदीप खड्का छन् । प्रदीपको साथमा ६० को दशकका सर्वाधिक सफल नायक आर्यन सिग्देल छन् । साथै केही समय अघिसम्म म्युजिक भिडियोमा एकछत्र राज गरेका पल शाह पनि ‘पुजार सार्की’ का प्रमुखमध्ये एक भूमिकामा रहेकाले अनमोललाई सहज देखिँदैन ।