क्रिकेट

कप्तान रोहितसँग आक्रामक बनेका बंगलादेशी बलरलाई आईसीसीको कारबाही

By खबरहब

June 19, 2024

काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रामक व्यवहार देखाएका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आईसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको थियो।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभर पछि आक्रामक हुँदै भनाभन गरेका थिए ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले त्यति नै बेला बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

आईसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ । २४ महिनाको अवधिभित्र कुनै खेलाडीको चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा निलम्बन अंकमा परिणत हुने र खेलाडीलाई प्रतिबन्ध लगाइन्छ। यो अवधिमा सकिबको यो पहिलो डिमेरिट अंक हो ।