मनोरञ्जन

सन्तोष सेन : जब्बर र आँटिला निर्माता, स्वार्थ नै फिल्ममा लगानी

By संगम ढकाल

July 19, 2024

काठमाडौं– निर्देशक तथा निर्माता सन्तोष सेन आँटिला फिल्म मेकरका रूपमा परिचित छन् । नेपाली चलचित्रको सानो बजारमा ठूलो बजेटका फिल्म बनाउने निर्माताहरूको अग्रस्थानमा उनी पर्छन् ।

सन्तोष फिल्म ‘लार्जर देन लाइफ’ अर्थात्‌ जीवनभन्दा विशाल हुनुपर्छ भन्ने मान्यता राख्छन् । सो कुरा उनले लगानी गरेका फिल्मबाट पनि प्रष्ट हुन्छ ।

अहिले ‘सन्तोष सेन’ नेपाली फिल्मका लागि ब्रान्ड बनिसकेको छ । उनले निर्माण घोषणा गरेको फिल्म छायाङ्कनमा नजाँदै चर्चामा पुग्छ । त्यसमा पनि उनको लगानी रकमले प्रमुख स्थान पाउँछ ।

सन्तोषले लगानी गरेको पहिलो फिल्म प्रदर्शनमा आएन । प्रेम गीतका तीन श्रृंखला, मेरी मामु र चंखे शंखे पंखे उनले निर्माण गरेका फिल्म हुन् । अहिले उनी फिल्म बलिदान निर्माण तयारीमा छन् ।

अहिलेका उम्दा निर्माता एवम्‌ निर्देशक सन्तोष सेन संयोगले फिल्ममा आइपुगेका हुन् । भारतीय सेनामा भर्ती भैकन पनि भागेर, सिङ्गापुरमा होटलमा काम गर्दा होस् वा ब्रुनाइमा रोयल गार्ड गेरर नेपाल फर्कँदासम्म उनलाई फिल्म निर्माणबारे थाहा थिएन ।

तर, फिल्ममा प्रवेश गरेपछि उनले यातायात व्यवसाय पनि छाडे । अहिले उनी नितान्त फिल्म निर्माणमा समर्पित छन् ।

घर किन्न जाँदा फिल्म क्षेत्रसँग ठोकिएका सन्तोष सेन कसरी आँटिला निर्माताको छवि बनाउन सफल भए ? जान्नुहोस् उनको बाल्यकालदेखि अहिलेसम्मको यात्रा:

बाल्यकालदेखि सुनेको- ‘छोरो लाहुरे बन्छ’ सन्तोष स्याङ्जाको पुतलीबजारमा जन्मिए । जग्गा जमिन प्रशस्त, खानदानी परिवार, बुबा गाउँ-ठाउँमा चलेका नेता ! उनको बाल्यकाल सहज थियो, खासै अभाव खेप्नुपरेन ।

उनको स्कूले जीवनसम्म गाउँमा विकासका पूर्वाधार छिरेका थिएनन् । मोटरबाटो, बिजुली पुगेको थिएन । तर, प्राविधिक तहसम्मको स्कूल घर छेउमै थियो । उनले त्यहीँ पढे ।

६ कक्षाबाट माथि पढ्न स्याङ्जा बजार पुग्नुपर्थ्यो । स्कूल जान दैनिक ४५ मिनेट उकालो-ओह्रालो गर्नुपर्दा उनलाई कुनै गुनासो थिएन, न अहिले नै छ । किनकी आफू सरहका साथी सबैको जीवनशैली त्यही थियो ।

भन्छन्, ‘तल जिल्ला पढ्न झरेपछि रमाइलो पो भयो । दुईवटा फिल्म हल स्कूल नजिकै थिए । बरु फिल्म हेर्ने बानी पो बस्यो । भागेर पनि फिल्म हेर्न गइन्थ्यो । माथि स्कूल हुँदा पढाइमा राम्रो थिएँ, तल झरेपछि फेल पनि भएँ ।’

छरछिमेकका प्रायः सबै लाहुरे ! सोहीकारण उनका आमाबुबालाई पनि छोरो लाहुरे भएको हेर्ने ठूलो रहर थियो रे !

‘गाउँको माहौल नै लाहुरे बन्ने थियो । आमाबुबा पनि म लाहुरे भएको हेर्न चाहने । पढ्ने, लेख्ने र जागिर खाने भन्ने सोच नै थिएन, न परिवेश थियो,’ उनी भन्छन्, ‘पढेर के हुन्छ पनि मलाई थाहा भएन । घरमा पनि पढ्नैपर्छ भन्ने माहोल थिएन ।’

कक्षा सातमा पढ्दा घरमा ब्ल्याक एण्ड ह्वाइट (श्यामश्वेत) टीभी ल्याएपछि फिल्म प्रतिको आकर्षण थप बढेको उनलाई महसुस हुन्छ ।

‘सिरियलहरू हिजो आजका कुरा, चन्द्रकान्तहरू खुबै हेरिन्थ्यो । पानी परेर टीभी झ्यारझ्यार आउँदा एन्टेना हल्लाउँदै हेरिन्थ्यो,’ उनी घरमा टीभी आउँदाको क्षण सम्झन्छन् ।

उनी फिल्म हेर्नका मात्रै सौखिन होइनन्, सीडीहरू जम्मा गर्न पनि साथीहरूभन्दा अगाडि थिए रे ! त्यसबेला जम्मा गरेका सीडीहरू सुरक्षित रहेको उनी बताउँछन् ।

‘शनिबार र बिदाको काम नै ढुक्कले फिल्म हेर्ने हुन्थ्यो, हलमा एउटै फिल्म लाग्थ्यो । त्यही पनि हेर्थेँ, एउटै फिल्म १५ पटकभन्दा बढी पनि हेरेको छु,’ उनी भन्छन्, ‘त्यो सीडी जम्मा गर्नु नै फिल्ममा आउने मेरो लक्षण रहेछ । नभए किन मसँगै बढी सीडी हुन्थे र ! तर फिल्ममा कसरी आउने चाहिँ केही थाहा थिएन ।’

लाहुरे भिड्दा पहिलो असफलता सन्तोष आठ कक्षा पास भए, त्यही बेला ब्रिटिस लाहुरेका लागि छनोट खुल्यो । उमेर पुग्ने बित्तिकै छोरालाई लाहुरे भिडाउने परिवारको सपना थियो, उनी पोखरमा लाहुरे बन्न प्रतिस्पर्धामा होमिए ।

त्यसबेला उनमा लाहुरे बन्ने सोच परिवारले सानैदेखि राखिएको थियो । तर अभ्यास थिएन । दौडमा फालिए ।

‘चौरमा तीन राउन्ड लगाउनुपर्ने थियो, पहिलो राउन्डमा सबैलाई उछिनेर कुदेँ, दोस्रो राउन्ड कुद्नै सकिनँ । श्वास फुलेर मर्छुजस्तो भयो,’ उनी भन्छन् ।

लाहुरे बन्न असफल भएपछि उनले पुनः पढाइलाई निरन्तरता दिए । तर यस असफलताले उनलाई ज्ञान दिएको थियो । भन्छन्, ‘अभ्यास नगरी भिड्नु हुँदैन रहेछ, नसकिने रहेछ भन्ने भयो । त्यसपछि अभ्यास गर्न थालेँ ।’

लाहुरे बन्ने दोस्रो प्रयास वि.सं. २०६१ मा सन्तोष एसएलसी दिएर बसेका थिए । भारतीय सेनामा भर्ती खुल्यो । पोखराबाट गाडी चढेर भारत जाने क्रममा उनले मधेशमा नौलो दृश्य देखे ।

त्यसबेला मधेशमा पृथकतावादी आन्दोलन चरम उत्कर्षमा थियो । पहाडबाट मधेश छिर्ने गाडीमा तोडफोड हुन्थ्यो । उनी भन्छन्, ‘पहाडबाट तराई झर्ने कुनै गाडीमा सीसा हुँदैनथ्यो । सीसाको ठाउँमा जाली र प्लास्टिक लगाइएको हुन्थ्यो ।’

भित्री मधेश जिल्लामा प्रहरीले स्कर्टिङ गरेर भारतको सीमामा पुर्‍याउँदा साह्रै नरमाइलो लागेको उनी सम्झन्छन् । भन्छन्, ‘हुन त म भारतमा आर्मी बन्न हिँडेको थिएँ । आफ्नै देशको जिल्लामा पनि प्रहरीले स्कर्टिङ गर्नुपर्ने, भारतमा चाहिँ खुलेआम हिँड्न पाइने, यो चाहिँ मलाई किन हो- साह्रै नराम्रो लाग्यो ।’

खैर ! उनी सिलगुढी हुँदै सिलोङ पुगेर भारतीय सेना छनोट प्रतिस्पर्धामा सहभागी भए । यसपटक भने उनी निराश हुनु परेन । अभ्यास गरेकाले प्रतिस्पर्धामा सहज भयो ।

तर लाहुरे बन्न उनी जति उत्साहित थिए- तालिममा सहभागी भएपछि उति नै निराश भए । गुरुबाहरूले प्रयोग गर्ने तुच्छ गाली र अमानवीय व्यवहार उनलाई पाच्य लागेन ।

सबैले सैनिकको बोली यस्तै हो भन्थे । कोही तालिम गर्न नसकेर ढल्यो भने पनि गुरुबाले लात्तीले हान्दै के भयो भन्थ्यो । बोल्दै बोलेन भने एम्बुलेन्स बोलाउँथ्यो । माया नराखी एम्बुलेन्समा फालिदिन्थ्यो ।

यी सबै उतारचढाव त उनले झले । तर, तालिम सकिनै लाग्दा उनलाई झन् तनाव बढ्न थाल्यो । कारण थियो– कसम !

उनलाई त्यसबेला सिनियरहरूले भन्थे रे, ‘ब्यारेक जानुअघि, तालिम सकिएपछि भारत माताका लागि जागिरको जिम्मेवारी पालना गर्दा आफ्नै आमा, बाउ, देश… जे अगाडि आए पनि मार्न तयार छु भन्नुपर्ने ! काली माताको मूर्ति अगाडि उभिएर हातमा खुकुरी लिएर कसम खानुपर्ने !’

देश र आमा–बाउविरुद्ध कसम खाने कुराले मानसिक रूपमै विचलित भएको उनी सम्झन्छन् । कसम खाने दिन नजिकिँदै गर्दा झन् असहज महसुस बढ्दै गएपछि तालिमबाटै भागेको उनी बताउँछन् ।

‘कसैको बन्धनमा पहिलो पटक परेको ! बिहान उठेर २५ केजीको भारी र राइफल बोकेर दौडँदा आफ्नो भविष्य नै कालो देख्न थालेँ,’ उनी भन्छन्, ‘खुला हिँड्न मन पराउने मान्छे बन्देजमा ! त्यहीमाथि भविष्य नदेखेको जागिरका लागि आमाबाउ र देशका विरुद्ध कसरी कसम खानु भन्ने भयो, भागेँ ।’

भागेर सिङ्गापुर भारतीय सेनाको जागिर छाड्नु सन्तोषका लागि सहज निर्णय थिएन । यतिसम्म कि उनले जागिर छाडेको घरमा समेत जानकारी दिएनन् । सिङ्गापुरमा रहेका नजिकका आफन्त विक्रम सेनले बोलाएपछि उनी घरै नछिरी त्यता हान्निए ।

सेनले विगत सुनाए, ‘फर्केर पासपोर्ट बनाएँ । घरमा छिर्न त के, थाहै नदिइ सिङ्गापुर पुगेँ ।’

उनी ०६३ सालमा सिङ्गापुर पुगेका थिए । सुरुवाती दिनमा दाइकै रेस्टूराँमा बसे पनि नोकरी नगर्नुको विकल्प थिएन । पानी जहाजको रेस्टूराँमा उनी वेटरको काम गर्न थाले ।

उनले भने, ‘पैसा पनि खासै थिएन । अब काम त गर्नैपर्ने थियो । अवस्था हल्लेर बसेजस्तै थियो ।’

तर यहाँ भने उनलाई कर्मले साथ दियो । उनका काकाको छोरा ब्रुनाइको रोयल गार्ड थिए । सिङ्गापुर भ्रमण क्रममा दाइमार्फत् ब्रुनाइकी राजकुमारीसँग सन्तोषको भेट भयो ।

‘राजकुमारीलाई के गर्छौं यहाँ भनेर सोध्नुभयो । यस्तो छ काम, यति छ तलब, भनेँ,’ उनी भन्छन्, ‘राजकुमारीले धेरै घण्टा काम गर्दा पनि थोरै तलब रहेछ, ब्रुनाइ आएर दाइको जस्तै काम गर भन्नुभयो । मलाई ड्राइभिङहरू सबै आउने, भारतीय सेनाको पनि तालिम लिएको भनेर दाइले बताएको रहेछ ।’

ब्रुनाइमा राजकुमारीले बोलाए पनि सन्तोषलाई नेपाल फर्कन सहज थिएन । सिङ्गापुरमा काम गर्नका लागि उनले पासपोर्ट त्यागेका थिए । भन्छन्, ‘सिङ्गापुर सरकारसँग आत्मसमर्पण गरेर नेपाल आएँ ।’

ब्रुनाइको त्यो अवसर सन्तोषका लागि ब्रुनाइ पैसा कमाउने अवसर थियो । त्यस अघिका ठक्करहरूले पनि उनलाई मेहनेत गर्नुपर्छ भन्ने ईख पैदा भएको थियो ।

भन्छन्, ‘ब्रुनाइ पुगेपछि सोचेँ कि सरकारी जागिर छोडेँ, सिङ्गापुरमा बसेँ, अब यहाँ चाहिँ म जिम्मेवार हुनुपर्छ भन्ने भयो । अब घरमा मुख देखाउन सक्ने हुनेगरी काम गर्छु भन्ने प्रण गरेँ ।’

क्षेत्रफलका हिसाबले सानो, तर धनी राष्ट्र थियो ब्रुनाइ । चार घण्टामा ड्युटी गर्दा चार लाख रुपैयाँ तलब पाइन्थ्यो । सेनले सुनाए, ‘ड्युटीबाट बचेको समयमा व्यापार गर्न थाले ।’

राजकुमारीले बस्नका लागि दिएको तीन रोपनी जग्गाको एक भिल्लामा ‘फार्म हाउस’ खोलेपछि आर्थिक प्रगति हुँदै गएको सन्तोष बताउँछन् । ‘०६४–६५ तिर चार लाख तलब थियो । फार्म हाउसबाट पनि आम्दानी हुन्थ्यो, दुई महिनाको पैसाले नेपालमा जग्गा किन्न पुग्थ्यो,’ उनी भन्छन्, ‘मेरो बानी जग्गामा लगानी गर्ने थियो । काठमाडौं र पोखरा सबैतिर त्यसबेला सस्तोमा किनेको जग्गाको भाउ अहिले निकै चुलिएको छ ।’

ब्रुनाइमा करिब ७ वर्ष काम गरेपछि विदेश बस्ने इच्छा उनमा हरायो । आफूलाई बोलाउने दाइले पनि ‘नेपाल फर्किरे उतै केही गर्नुपर्छ’ भन्न थाले । दुई दाजुभाइ नै नेपाल फर्किए ।

घर खोज्दा फिल्ममा सन्तोष २०७१ मा नेपाल फर्किए । पोखरामा घर किनेकाले उतै केन्द्रित यातायात व्यवसाय थाले । भन्छन्, ‘चार हायस प्रतिगोटा ६० लाख रुपैयाँमा किनेँ । पोखरामा १० वटा ट्याक्सी किनेँ ।’

हायस काठमाडौं-पोखरा गर्ने भएकाले उनलाई काठमाडौंमा पनि घरको आवश्यकता पर्‍यो । घर हेर्ने ग्रीनल्यान्ड जाने क्रममा उनको कलाकार प्रेम पुरीसँग भेट भयो ।

‘मैले किनेको घर छेउमा प्रेम पुरीको घर रहेछ । उहाँसँग चिनजान भयो । त्यहीँबाट फिल्ममा छिर्ने बाटो मिल्यो,’ उनी भन्छन्, ‘त्यसअघि फिल्ममा आउने कुनै सोच थिएन ।’

पुरीले एक फिल्मको भिलेनका लागि निर्माता भेट्न जाँदा सँगै लगेकाले फिल्मको चस्का पसेको उनी बताउँछन् । ‘उहाँसँग निर्माता भेट्न गएको थिएँ, मलाई पनि भिलेनको अफर गर्नुभयो । अनि त फिल्मको चस्का लाग्यो नि !’ उनी भन्छन् ।

चितवनमा भेट्न बोलाएर निर्माताले ठूला कुरा गरेपछि आफैँ फिल्म बनाउने इगो बढेको उनी सुनाउँछन् । भन्छन्, ‘के के कथा सुनाउन लाग्यो । जाबो एउटा हायस बेचेँ भने त आफैँ फिल्म बनाउन सक्छु नि भन्ने लाग्न थाल्यो ।’

नबनेको त्यो फिल्म सोझो र चाँडो जोसिने बानीले आफूलाई धेरैपटक अप्ठेरो पार्ने गरेको सन्तोष बताउँछन् । नबुझी जोसिँदा पहिलो फिल्म सफल नबनेको अनुभव पनि उनीसँग छ ।

उनी भन्छन्, ‘मलाई कसरी फिल्म बन्छ भन्ने केही थाहा थिएन । बनाउने भनेपछि बनाउने हो भन्ने जोशले २२ लाख रुपैयाँ डुब्यो ।’

फिल्मको नाम थियो– अचानो । प्राविधिक, निर्देशक, कलाकार सबै नयाँ भएकाले फिल्म बनेन । उनी भन्छन्, ‘फिल्म बनाउन कम्पनी चाहिन्छ, फिल्म दर्ता गर्नुपर्छ भन्ने केही थाहा थिएन । मलाई मात्र होइन, टिमको कसैलाई थाहा रहेनछ । छायाङ्कन नै पूरा हुन पाएन ।’

पहिलो प्रोजेक्ट असफल भए पनि उनीमा फिल्म बनाउने जोश पसिसकेको थियो । पहिलो फिल्मले अनुभवि टीमसँग काम गनुपर्छ भन्ने ज्ञान दिएको थियो । उनले निर्देशकका लागि निश्चित बस्नेतसँग कुरा गरे । त्यसबेला ‘लुट’ हिट भएर बस्नेत चर्चामा थिए ।

उनले भतिजोमार्फत फेसबुकमा गरेको कुराकानीमा निश्चलको जवाफ थियो रे, ‘म टलकजंग भर्सेस टुल्केको काममा छु । ६ महिनापछि कुरा गर्न सकिन्छ ।’

फिल्म आजै बनाउने, अहिले बनाउने हुटहुटी बोकेका सन्तोषले ६ महिना कुर्न सकेनन् । प्रेम पुरीले नै सुदर्शन थापा निर्देशक लिन सुझाव दिए ।

‘प्रेम पुरीसँगै सुदर्शनजीले जिम गर्नुहुँदो रहेछ । प्रेमले भेटाउँछु भन्नुभयो । सुदर्शनजीको फिल्म– मेरो एउटा साथी छ पनि हेरेको थिएँ,’ सेनले भने, ‘उहाँसँग कुरा भयो, अनि चङ्खे शंखे पंखे निर्माण गरेको हुँ ।’

प्रदीपसँगको भेट फिल्मका लागेपछि सन्तोषको मन अन्त डुलेन । यही क्षेत्रका लागि समर्पित हुने निर्णयमा पुगे । फिल्मको चस्काले यातायात व्यवसाय पनि त्याग्नुपर्ने बाध्यता आइलाग्यो ।

‘म फिल्ममा व्यस्त हुन थालेँ । उता हायस र ट्याक्सीका ड्राइभरहरूलाई रजाइँ भयो । पैसा पनि बुझाउन छाडे । अनि बेचिदिएँ,’ उनी भन्छन्, ‘गाडीहरू बेच्दा घाटा पनि भएन । प्रति हायसमा तीन लाख रुपैयाँ नाफा भयो ।’

व्यवसाय छाडेपछि सन्तोष अझ गम्भीर भएर फिल्म लाग्ने सोचमा पुगे । त्यसपछि उनलाई चल्तीका नायकसँग काम गर्न मन लाग्यो । त्यसबेला नायक अनमोल केसीको स्टारडम उत्कर्षमा थियो ।

सुदर्शन थापा र सन्तोष फिल्म ‘प्रेम गीत’मा अनुबन्ध गर्नका लागि अनमोलको घर पुगे । उनले फिल्म अस्वीकार गरे ।

उनी भन्छन्, ‘अनमोलले फिल्म नखेल्ने भएपछि नयाँ हिरो ल्याएर ब्रान्डिङ गर्ने सोच आयो । हेन्डसम हिरो खोज्न लागियो ।’

फिल्मको अडिसन आह्वान गरेर उनी अनमोललाई टक्कर दिन सक्ने ‘लुक्स’ भएको हिरो खोज्न थाले । डेढ सयले नायकका लागि अडिसन दिए, सन्तोषले नै अडिसन लिएका थिए ।

उनी भन्छन्, ‘१० जनाको लिस्टमा प्रदीप खड्का छानिए । तर कसलाई लिने टुङ्गो भएको थिएन ।’

‘सुर्दशन थापासँग काम गर्न इच्छुक छु’ भनेर मिडियामा बोलेपछि आफू प्रदीपसँग थप प्रभावित भएको सन्तोष बताउँछन् । भूकम्पको राहत बाँड्न सिन्धुली जानेबेला एक पत्रकारले ‘प्रदीपलाई नै हिरो लिनू’ भन्ने सुझाव दिएपछि फिल्ममा अनुबन्ध गर्ने सम्भावना थप बलियो भएको उनी सम्झन्छन् ।

‘एउटा फिल्ममा काम गरेको अनुभव पनि भएको, हेन्डसम पनि छँदै थिए, खाजेको जस्तै लुक्स थियो । समाचार आएपछि उनमा अभिनयको भोक छ भन्ने पनि भयो,’ उनी भन्छन्, ‘पछि टिमले पनि हुन्छ भनेपछि फाइनल नै गरियो ।’

प्रेम गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पायो । प्रदीपलाई स्टार पनि बनायो । सन्तोषले सोच जस्तै ‘लभर बोइ’का रूपमा प्रदीपलाई स्थापित गरायो । दुई असफल फिल्मपछि सन्तोषको पहिलो प्रोजेक्ट सफल भयो ।

पहिलो प्रोजेक्ट सफल भएसँगै ठूलो क्यान्भासका फिल्ममा काम गर्ने इच्छा पलाउँदै गएको सन्तोषले बताए । भने, ‘मलाई युवालक्षित फिल्म बनाउन मन पर्ने । जे चलेको छ- त्योभन्दा फरक गर्ने मन लाग्न थाल्यो । चलिरहेका भन्दा फरक धारका फिल्म बनाउन लागेँ ।’

निर्माताबाट निर्देशक प्रेम गीत ३ सन्तोषको ठूलो बजेटको प्रोजेक्ट हो । सम्भवतः यो नै सबैभन्दा ठूलो बजेटमा बनेको नेपाली फिल्म हो ।

ठूलो बजेटमा बनेका फिल्म भएकै कारण निर्देशक चेतन गुरुङको करले उनले प्रेम गीत ३ मा निर्देशन गरेका हुन् ।

‘अलि ठूलो क्यान्भासमा बनाउने मेरो सोच थियो । लोकसन रेकी गर्न म र चेतन गुरुङ गयौं। चेतनले यो धेरै ठूलो फिल्म भयो मैले सोच्न पनि सकिनँ भन्नुभयो,’ उनी भन्छन्, ‘सेटहरू बनाएर खर्च पनि भएको थियो । चेतनले तिमी निर्देशक बनेर फ्रन्टमा नआए म काम गर्न सक्दिनँ भन्नुभयो ।’

घोषणा गरेको निर्देशकलाई हटाएर नयाँ व्यक्ति भित्र्याउँदा गलत सन्देश प्रवाह हुने डरले आफैँ निर्देशक बनेको उनी बताउँछन् । ‘बरु म नै टिमको अगाडि आउँदा हुन्छ जस्तो लाग्यो,’ उनी भन्छन् ।

फिल्म त बन्यो, तर कोरोना महामारीका कारण प्रदर्शन मिति पछि सर्‍यो । लकडाउन खुल्ने र फिल्म हल सञ्चालन हुने निश्चित थिएन ।

फिल्मको क्वालिटीमा सन्तोषलाई विश्वास थियो । प्रदीपसँग सल्लाह गरेर सो फिल्मलाई उनले भारतमा प्रदर्शन गराउने सोच बनाए ।

मुम्बई गएर डेढ महिना गल्लीगल्ली धाए, साउथ फिल्म किन्ने कम्पनी फेला पारे । पछि एजेन्टसँग पनि भेट भयो । ती एजेन्टले फिल्मको ‘शो रिल’ हेरेपछि ओटीटी र हलमा प्रदर्शन गर्ने आश्वासन दिए ।

फिल्मको सम्पादन पूरा नभएकाले उनी काठमाडौं फर्किए । पूरा फिल्म लगेर कम्पनीलाई देखाए । ‘तीन घण्टाको पूरा फिल्म हेर्‍यो र प्रदर्शन गर्न तयार भयो,’ उनी भन्छन् ।

कम्तिमा पनि टीभी र ओटीटीमा भए पनि प्रसारण गर्ने सोच उनको थियो । हलमै प्रदर्शन हुने भएपछि ७० लाख भारु खर्चेर हिन्दी भर्जनका लागि भारतीय जनिशक्ति प्रयोग गरेको उनी बताउँछन् ।

‘चलेका कलाकार र चलेका प्राविधिक काममा लगाएको थिएँ । पैसा अलि बढी नै खर्च गर्न तयार भएँ,’ उनी भन्छन् ।

जे होस्- पहिलो पटक नेपाली फिल्म भारतमा प्रदर्शन गराएर उनले इतिहास बनाए । हिन्दी र नेपाली दुवै भर्सन नेपाली हलमा लाग्यो । यो प्रोजेक्टबाट भने उनी निराश हुनुपरेन ।

बलिदान सन्तोषले निर्माण घोषणा गर्ने बित्तिकै फिल्मको चर्चा हुन थाल्छ । आँटेर लगानी गर्ने निर्माता भएकाले फिल्मका साना विषय पनि चर्चामा आउँछन् ।

बलिदान फिल्मका लागि सन्तोषले पूर्वका स्थान इटहरी, कानेपोखरी, विराटनगर र रङ्गेलीमा सेट बनाएका छन् । जसको कारण पनि उनको आगामी फिल्म बलिदान चर्चामा छ ।

सन्तोषका अनुसार बलिदान फिल्म तयार पार्न १२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । भन्छन्, ‘तामिल, हिन्दी र नेपाली गरी तीन भाषामा बनाउने हो । भारतमा प्रदर्शन गर्न सजिलो होस् भनेर त्यहाँ चर्चित अनुहारहरू प्राविधिक टिममा भित्र्याउने निर्णय गरेको छु ।’

प्रेमगीत ३ का प्रदर्शनका दौरान भारतमा रहँदा माटोको कथा भन्न चुकेको महसुस भएकाले यो फिल्म निर्माण गर्ने निर्णय गरेको सन्तोष बताउँछन् ।

बलिदानका नायक समीर भट्टसँग निर्देशक एवम्‌ निर्माता सन्तोष सेन ।

‘मेरा फिल्ममा केन्टेन्ट रहेनछ । माटोको कथा रहेनछ । त्यो महसुस भयो,’ उनी भन्छन्, ‘माटोको कथा खोज्ने क्रममा मैले भारतीय सेना बन्न जाँदा मधेशमा घटेको घटना याद आयो । रिसर्च गर्दा त्यही कथामा फिल्म बनाउँदा हुन्छ भन्ने लाग्यो ।’

यो फिल्म पनि ‘लार्जर देन लाइफ’ नै बनाउने, तर कथामा नचुक्ने लक्ष्यमा उनी छन् । सन्तोष सेन भन्छन्, ‘मेरो स्वार्थ भनेको फिल्ममा लगानी गर्ने नै हो । फिक्सन त हुन्छ, तर मेरा पूराना फिल्मका गल्ती चाहिँ दोहोरिँदैन ।’