काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई)मा असफल भएका लाखौं विद्यार्थी यतिबेला आगामी साउन २३ मा तोकिएको मौका परीक्षाको तयारीमा छन् । एसईईमा सामेल बहुमत विद्यार्थी (५२.१४ प्रतिशत) असफल भएका छन् । यो असफलताबारे विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । एक अर्कामाथि दोष थोपरेर उम्किने प्रयासमा सबैको एकमत छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा पनि विभिन्न खालका दृश्य देखिए । एसईईमा पास हुने विद्यार्थी दंग छन् भने फेल हुनेहरू मनमा पीडा लिएर बसेका छन् । अब कक्षा ११ पढ्न आयोग्य भएका र ग्रेड वृद्ध गर्न चाहने विद्यार्थीले साउनमा पुरक परीक्षा दिँदैछन् ।
एसईईमा आफ्नो छोरालाई एक विषय लागेकोमा पनि कुनै दुख नलागेको दोलखा नाम्दु घर भएकी लीलादेवी कार्की बताउँछिन् । उनी भन्छिन्, ‘छोरालाई गणित विषय लागेको छ । साउनमा जाँच हुन्छ । अब हुने परीक्षामा राम्रो नम्बर ल्याऊ है बाबु भनेर सम्झाएका छौं ।’
एसईईमा पास हुने विद्यार्थी दंग छन् भने फेल हुनेहरू मनमा पीडा लिएर बसेका छन् । अब कक्षा ११ पढ्न आयोग्य भएका र ग्रेड वृद्ध गर्न चाहने विद्यार्थीले साउनमा पुरक परीक्षा दिँदैछन् ।
घरमा पसल र कृषि पनि गर्दै आएकी उनी भन्छिन्, ‘छोरालाई पढाइमा अरु विषयमा राम्रो नम्बर ल्याएको रहेछ । तर एउटामा फेल भएछ । गाउँमा भएपछि काम पनि गर्नै पर्यो । बिहान बेलुका घरको यसो सानातिना काम पनि गथ्र्यो । हुन त पहिला थोरै नम्बर दिएर पास गरिदिनु भन्दा अहिले फेल नै भए पनि अर्को चोटि दिँदा राम्रो नम्बर ल्याउला ।’
छोराले चिन्ता धेरै लिएको बताउँदै उनी भन्छिन्,‘सँगैका साथी पास हुँदा उसलाई त नराम्रो पक्कै लाग्यो नै होला निराश भएर बसेको छ । मैले त पढ्ने मान्छे फेल/पास हुने त हो नि । म हुन्न । अर्को पटक राम्रो देऊ भन्दै सम्झाए ।’
आफूले सकुन्जेल तीन छोरालाई ऋण नै गरेर भए पनि पढाउने उनी बताउँछिन् । उनी आफ्नो छोरालाई हिमाल चढ्ने मान्छे कि त चढ्छ कि लड्छ भनेर सम्झाएको बताउँछिन् ।
त्यस्तै अर्की छात्रा हुन् नम्रता श्रेष्ठ । कस्मिक स्कुलमा पढेकी उनले एसईईमा ए प्लस ( ३.७९) ल्याएकी छन् । उनको रहर अब माथिल्लो कक्षामा साइन्स पढ्ने छ । उनी पढाइमा सानैदेखि अब्बल नै रहेको उनकी फुपू तारादेवी श्रेष्ठ बताउँछिन् ।
नम्रता स्कुलमा पढेर आएपछि घरमा पनि मेहनतका साथ पढ्ने गरेको बताउँछिन् । साइन्स पढ्न इच्छाएकी नम्रता भन्छिन्, ‘सुरुमा एसईईको रिजल्ट हेर्ने बेलामा धेरै साथी फेल भए रे भन्दा धेरै डर लागेको थियो । थोरै जिपिए आयो भने मैले ११ मा साइन्स पढ्न पाउँदिन कि जस्तो पनि लागेको थियो । तर रिजल्ट राम्रो आयो ।’
दोलखा जिल्लाको चरिकोटस्थित अल्पाइन इङ्लिस बोर्डिङ स्कुलबाट एसईई दिएका अभिषेक राउत ३.१ जिपिए ल्याएर पास भएका छन् ।
खुसीले दंग हुँदै उनी भन्छन्, ‘यस्तो गार्हाे फलामको ढोका पनि कट्यो अब माथि राम्रो गर्दै जान्छु ।’
एसईई दिएर बाँकी रहेको समयलाई पनि उनले सदुपयोग गरेका छन् । जसमा काठमाडौं आएर कम्प्युटर क्लास जोइन्ड गरेर कोर्ष सकेका छन् ।
‘एसईई त सकियो अब मेरो रुचि साइन्स पढ्ने छ ’ उनी थप्छन्, ‘सानैदेखि साइन्स पढ्छु भन्ने मेरो रहर हो । यो विषय बढ्न पाएँ भने म खुसी हुन्छु । नत्र घरमा जे भन्नु हुन्छ त्यही अनुसार अगाडिको कक्षा पढ्छु होला ।’
मिल्ने साथीहरू कोही पास भएका छन् भने कोही फेल भएका उनी बताउँछन् । एक दुई विषय लाग्ने साथीलाई नआत्ती अब फेरी दिएर पढ्न उनी सुल्झाउँछन् ।
त्यस्तै अर्की विद्यार्थी हुन् दोलखा कन्या मन्दिरमा पढेर एसईई दिएकी छात्रा दीपिका खड्का । उनले ३.६ जिपिए ल्याएर पास गरेकी छन् । उनको इच्छा अब म्यानेजमेन्ट लिएर पढ्ने छ । गाउँमा बसेर पढेर त्यति जिपिए ल्याएकोमा उनको पुरै परिवार खुसी छ । ‘बाहिर काठमाडौंमा पठाएर पढाउन खर्च धान्न सकिँदैन होला । यही सदरमुकामको एउटा कलेजमा हामी म्यानेजमेन्ट पढाउँछौँ’, उनकी आमा अनिसा अधिकारी बताउँछिन् ।
दिपिका भन्छिन्, ‘मिल्ने साथीलाई एउटा विषय लागेको छ उसले पनि ब्याकको जाँच दिएर पास भएपछि सँगै पढ्ने योजना बनाएका छौँ ।’
‘अरूले ले एसईई साह्रै गाह्रो फलामे ढोका हो कट्दैन भन्नेको सुन्दा मनमा झन् डर लाग्थ्यो तर पनि परीक्षामा त पास हुने गरी लेखेको रहेछु’,उनी भन्छिन् ‘नयाँ स्कुलमा पहिलो पटक गएर जाँच दिनु पर्दा त्यहाँ आफ्नो रुम कहाँ होला भन्नेमा नै हाम्रो पहिलो चिन्ता थियो । त्यहाँको सरहरुले पनि गाली गर्दा त साह्रै डर लागेको थियो । यहाँसम्म कि म्याम-सर कपी दिनुस् न भन्न पनि सकिन मैले पहिलो दिन त ।’
‘जाँच दिएर निस्किसकेपछि पो साथीहरूले तैँले कति कपि थपिस् मैले दुई वटा थपेँ भन्दा म त हेरेको हेरै भएको थिएँ’, उनी थप्छिन्, ‘त्यसपछि अर्को दिन हुँदै कपिहरू थप्न अलि सजिलो हुँदै गयो परीक्षा राम्रो नै हुँदै गयो ।’
त्यस्तै दोलखा कै सदरमुकाममा रहेको कालिन्चोक माविमा पढ्ने दिपिका कै दाइ दिपेशलाई भने ५ वटा विषय लागेको छ । उनी पूरक परीक्षा दिने तयारीमा छन् । बिहान र बेलुका ट्यूसन क्यास लिएर अब राम्रो गर्ने दिपेशको लक्ष्य छ ।
उनी भन्छन्, ‘ट्यूसन पढ्दै छु । अहिले घरमा पनि बुझेर सानातिना काम पनि लगाउनु भएको छैन । अब राम्ररी पढेर पास गर्छु ।’
‘अब परिक्षा दिन जाने स्कुलका सर म्यामले परिक्षाहलमा नथर्काउनु भए र ठूलो स्वरले नबोल्नु भए त राम्रै हुन्छ होला’ दिपेश भन्छन्, त्यसै मन आँत्तिराखेको हुन्छ त्यहि बेला सरम्यामले झरेको पेन पेन्सिल टिप्दा पनि गाली गर्नु हुन्थ्यो ।’
तर केही विद्यार्थीले आफ्नो असफलतासँग परीक्षा केन्द्रको माहोल पनि जिम्मेवार हुने गरेको बताए । उनीहरु भन्छन्, ‘हामीहरु आफ्नो परिवेशको विद्यालयमा पढिरहेका हुन्छौं । हामीलाई पढाउने शिक्षकसंग आत्मीय सम्बन्ध हुन्छ । उहाँहरुले घरको जस्तै स्नेह दिएर पढाउनुहुन्छ । तर नयाँ स्कुलमा राखिने परीक्षा केन्द्र, केन्द्राध्यक्ष, पुलिस र परीक्षा गार्डहरुको रुखो व्यवहारले होस हवास गुम्छ । होस गुमेपछि स्मरणले काम नगर्दो रहेछ ।‘