बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका-१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।
घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको अवस्था पत्ता नलागेपछि अभिभावकले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गरेका हुन् ।
हिन्दू धार्मिक विधिअनुसार उनका परिवारले सृष्टिलाई सदाका लागि शुक्रबार बिदाइ गरेका छन् ।
त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन् । उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परिन् ।
सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए ।
असार २८ गते बिहान ३ बजेको समयमा सिमतालमा पहिरोसँगै त्रिशूलीमा खसेका बसको अझै अत्तोपत्तो छैन । तर ती बसमा सवार २४ यात्रुको शव नारायणी नदीमा भेटिएको छ ।