समाचार

भक्तपुरको महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

By खबरहब

August 19, 2024

भक्तपुर– चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न उज्यालो नहुँदै भक्तजनको घुइँचो लागेको हो ।

मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने गर्दछन् ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो कथन रहेको लामाले बताए ।

उनले भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ । जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फर्ने कार्य गरेका छन् ।

वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए ।