देश/प्रदेश

स्वर्गद्वारले उजेलियो जनकपुरधाम, २१ तस्बिर

By खबरहब

August 19, 2024

जनकपुरधाम- दुई दशकअघि गंगासागर पोखरीको दक्षिणी घाटमा झाडी र फोहोरको थुप्रो देखिन्थ्यो । मानिसहरू त्यो बाटो हुँदै हिँड्न पनि डराउँथे । कुकुरले टोक्ने डर उत्तिकै हुन्थ्यो । सुनसान त्यही सडक छेउमा थियो आर्यघाट थियो ।

शवहरू पोलिने र गाडिने उक्त घाटमा फोहोरको दुर्गन्ध सही नसक्नु हुन्थ्यो । साना बुट्यान र झाडी भएको उक्त स्थान खुला शौचालयभन्दा फरक थिएन । त्यसमाथि खुला छाडिएका कुकुर र गिद्वहरूले शवका टुक्रा छरपस्ट पार्थे ।

मलामी आउँदासमेत एउटा हातले लास अड्याएर अर्को हातले मुख छोप्नुपर्ने बाध्यता थियो । तर, अहिले यही घाटले रूप फेरेको पुनर्निर्माणपछि नाम पनि फेरिएर अब स्वर्गद्वार भएको छ । अहिले शवदाहस्थलमा रमणीय पार्क बनेको छ ।

शवदाहस्थलमा रमणीय पार्कभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ‘स्वर्गद्वार’को मुख्य विशेषता यही हो । जहाँ एकातर्फ मानिसको मृत्युपछि दाहसंस्कार भइरहेको हुन्छ भने अर्कोतर्फ अरू मानिसहरू पार्कमा रमाइरहेका भेटिन्छन् । पार्कमा सबै उमेर समूहका मानिसहरू घुम्न आउँछन् ।

स–साना नानीहरू खेलेको देख्दा यो बाल उद्यानजस्तै लाग्छ । तरुना–तन्नेरीहरू डेटिङमा भेटिँदा लभ पार्क जस्तो पनि देखिन्छ । एकतिर शव जलिरहेको हुन्छ, अर्कातिर आफ्नै लयमा मानिसहरू रमाइरहेका भेटिन्छन् ।

यसरी फेरियो रूप

२०५८ मंसिरताका जनकपुरधाम उपमहानगरपालिका–४ का निवासी थिए- पवन सिंघानिया । उनलाई आफ्नो समुदायका कसैको निधन हुँदा बिरामी बुवाको प्रतिनिधित्व गर्दै मलामी जानुपर्ने जिम्मेवारी आयो । उनी मलामी गइरहन्थे, जनकपुरस्थित गंगासागरको डिलमा । डिलभरि झाडी र वरिपरि फोहोरैफोहोर देखे । फोहोरको डंगुरले त्यसमै रमाउने जीवजन्तुलाई आकर्षण गरिरहेको थियो । कुकुर र सुँगुरका बथान नै जम्मा भएका थिए ।

पवन सिंघानिया

‘बुवा बिरामी हुनुहुन्थ्यो, मलाई मलामी पठाउनुभयो,’ उनले विगत सम्झिँदै भने, ‘करिब तीन घण्टा त्यहाँ बिताएँ । पाइखाना हटाएर शव राख्नु परेको थियो । निकै गाह्रो भयो । त्यो ठाउँ सम्झेर मनमा अनेक कुरा आए । ठूलो–सानो, धनी–गरिब जे भए पनि एक दिन त श्मशानघाट आउनैपर्छ भने किन राम्रो नबनाउने भन्ने मनमा उब्जियो । र, यसको स्वरुप बदल्ने अठोट गरेँ ।’

जताततै फोहर, झाडी र दुर्गन्ध देखेर उनी दुःखित थिए । साँझ घर फर्किए । ‘त्यही रात मैले प्रण गरेँ, त्यो ठाउँलाई सफा, सुन्दर र हरियाली बनाउनुपर्छ,’ उनले स्मरण गरे, ‘मानिसको अन्तिम संस्कार पनि सफा ठाउँमा हुनुपर्ने मेरो उद्देश्य थियो ।’

त्यसपछि सुन–चाँदीका पुस्तैनी व्यापारी सिंघानिया आफ्नो व्यवसाय बुवा र भाइलाई सुम्पेर घाटलाई पार्क बनाउने अभियानमा होमिए । भोलिपल्ट केही साथीसँग आफ्नो योजना सुनाए । व्यापारिक घरानाका उनको कुरा कतिपयले पत्याएनन् । तर पनि उनी पछि हटेनन् ।

पागलको संज्ञा

सिंघानिया ‘स्वर्गद्वार’ निर्माणमा जुटिसकेका थिए । चन्दा माग्न र घाटको स्वरुप फेर्ने योजना सुनाउँदा धेरैले पागल भन्ने गरेको सयिम्झँदै सिंघानियाले थपे, ‘कतिपय साथीहरूले नै भन्न थाले, लौ एउटा मारवाडी बिग्रियो, झोला बोक्या छ, हिँड्या छ, चन्दा उठाएको छ । हिसाब–किताब खै के छ ? कतिले त गलत बाटोमा लागेको भन्दै त्यसो नगर्न पनि सुझाए । ’

चन्दा उठाउन थालेको तीन महिनामै ०५८ फागुन ११ गते स्वर्गद्वार शिलान्यास गरियो । आफन्तबाटै चन्दा उठाउने क्रममा सिंघानिया भारतस्थित ससुराली पुगे । ‘सुरुवाती समयमा तीन/चारजना साथी मिलेर काम थाल्यौँ । त्यही वर्ष फागुन ११ गते स्वर्गद्वार शिलान्यास भयो,’ उनले भने, ‘सुरुवाती समयमा मेरो योजना सुनेर गिज्याउने

साथीहरूले विस्तारै सहयोग गर्न थाले । अन्ततः ०६६ माघ २९ गते पार्क उद्घाटन भयो ।’ राजनीतिक दलले पनि आफ्नो प्रयासमा भाँजो हाल्न खोजेको उनी गुनासो गर्छन् ।

उनी अहिले बालशव व्यवस्थापनका लागि ‘स्वर्गद्वार–२’ निर्माण अभियानमा जुटेका छन् । त्यसको काम करिब ७० प्रतिशत भइसकेको सिंघानिया बताउँछन् । केही दिनमै ‘पार्ट–२’ को निर्माण पूरा हुने विश्वास उनले लिएका छन् ।

उनले दुवै योजना सफल बनाइसकेका छन् । जीवन बाँकी रहे विद्युतीय शवदाह गृह निर्माणको योजना उनीसँग छ । त्यसका लागि आवश्यक तयार थाल्ने सोच उनले बनाएका छन् ।

सिंघानियाको अग्रसरतामा अहिले त्यो ठाउँ चिटिक्क पारिएको छ । रंगीचंगी फूलले सजाइएको छ । बोट–बिरुवा रोपिएको छ । कालभैरव र भूतनाथको मन्दिर बनाइएको छ । भगवान् महादेव र पार्वतीको प्रतिमा पनि त्यहीँ छ ।

शिव-पार्वतीको पूर्णकदको मूर्ति, देवालय, शंख–घण्ट, कालभैरव मन्दिर र त्यहाँ सुनिने पूजा–पाठको ध्वनि पार्कका अरु आकर्षण हुन् । विश्रामस्थल, पाटी, खानेपानी, शौचालय, स्लेट छापेको बाटो, बिजुली र रङ्गीचङ्गी फूलले पार्कलाई सुन्दर बनाएका छन् । पार्कका भित्तामा विभिन्न दाशर्निकका भनाइदेखि नीतिशास्त्रका श्लोक पनि लेखिएका छन् ।

परिसरभित्रै एकातर्फ रमणीय पार्क छ, अर्कोतर्फ शवदाहस्थल र टिनको छानो भएको भवन छ । त्यस ठाउँलाई धर्तीको ‘स्वर्गद्वार’ नामकरण गरिएको छ ।

किशोरकिशोरी र युवायुवतीमाझ अहिले यो ठाउँ डेटिङ स्पट पनि बनेको छ । फुर्सदको समयमा जुनसुकै उमेरका मानिस त्यहाँ घुम्न जाने गर्छन् । साथीहरूसँग भेटघाटका लागि यो ठाउँ अहिले मुख्य रोजाइ बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागिरहेको हुन्छँ । व्यवस्थित बगैँचा, मन्दिर र सजावटले पर्यटकलाई आकर्षण गरेको छ ।

जनकपुर आउने अधिकांश पर्यटक स्वर्गद्वार पुग्ने गरेका होटेल व्यवसायी अभिषेश झुन्झुनवाला बताउँछन् । उनका अनुसार जानकी मन्दिर, राम मन्दिर, संकटमोचन र गंगा आरतीपछि स्वर्गद्वार र गगांसागर नै पर्यटकहरूको रोजाइमा परेको छ ।

थप तस्बिर