भक्तपुरका राजा रणजीत मल्ल (वायाँ) र राजा पृथ्वीनारायण शाह (दायाँ) ।
राज्य विस्तार अभियानका क्रममा पृथ्वीनारायण शाहले सबैभन्दा ठूलो क्षति भक्तपुरमा गराएका थिए । शहरको बीच भागमा आगो लगाइएको थियो । गोरखाली सेनाले छानामाथि चढेर बन्दुक प्रहार गरेका थिए । त्यो समयको युद्धमा खासगरी सैनिक र त्यसमा पनि पुरुषहरुको मृत्यु हुन्थ्यो, तर भक्तपुरमा ठूलो सङ्ख्यामा निहत्था नारीहरुको पनि गोरखाली बन्दुकको निशानामा परेका थिए । पृथ्वीनारायण शाहको युद्धनीतिअनुसार गोरखालीहरुबाट पहिल्यै भक्तपुरलाई घेराउमा पार्ने कार्य भइसकेको थियो । त्यहाँ पाकेका अन्न लुट्ने योजना पनि बनिसकेको थियो ।
इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२0६१/३५६) मा त्यसबेला पश्चिमी मोर्चामा खटिइरहेका गोरखाली भारदार देवु रानालाई लेखेको पत्र प्रकाशित गरिएको छ । पत्रमा भक्तपुरमा बाली लुट्ने योजना बनाइएको विषयमा उल्लेख छ ।
भक्तपुर आक्रमण गर्नु ठीक अघि लेखिएको यो पत्रमा ‘अब भादगाउँको बाली पनि लुट्नू । भादगाउँलाई पनि सकसलाउनु चाँजो गरी डुबुकोबाट ठाना २ सागाका फेदी महांठाना २ प¥याका ठाना दह«याकन अघि ठाना सौन्र्या गर्दैछौं । सांगाबाट पनि लभु पाटन काठमाडौं देउपाटन गोकर्न चांगु सर्वत्र प्रजा सिपाही लगाई बाली लुटाउंछौं ठाना हाली भादगाउंकन पनि सकस लगाउँछौं’ भन्ने उल्लेख छ ।
आक्रमणको नेतृत्त्व पृथ्वीनारायणबाटै पूर्वयोजनाअनुसार वि।सं। १८२६ वैशाखदेखि नै भक्तपुरलाई घेराबन्दी गर्ने कार्य सुरु गरिएको थियो । यसका लागि सरदार रामकृष्ण कुँवरका साथ गोरखाली सैनिक खटाइएको थियो (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ५०- भदौ २०३८ः१७)
यसरी बाली लुट्दै र घेराबन्दी गर्दै भक्तपुर राज्यलाई ठूलो सकसमा पारी गोरखाली ज्योतिष कुलानन्द ढकालले दिएको साइतअनुसार वि.सं. १८२६ कात्तिक २७ गते राति १० बजे भक्तपुरमा जोडदार आक्रमण गरियो ।
गोरखालीहरु पूर्व र उत्तरतिरको गोपुर तोडेर सहरभित्र पसेका थिए । युद्धको समयमा बेलखाटोलमा घर जलाइँदा त्यहाँबाट शरण पर्न मूलचोकमा आएका निहत्था नगरबासीहरु गोरखालीका गोली प्रहारमा परी धेरै मरे । ५०१ घर जले । मल्ल सैनिकहरुसमेत दुई हजार एक जनाको ज्यान गयो, त्यसमा गोरखाली पक्षका केवल ५० सैनिक मरे (आचार्य, २०६१ः ३५६-५८)
आचार्यले भक्तपुर युद्धमा गोरखाली पक्षको नेतृत्त्व शूरप्रताप शाह र वंशराज पाँडेले गरेको उल्लेख गरेका छन् ।
आचार्य (२०६१ः ३५६) ले भक्तपुर युद्धको समयमा आफ्ना योद्धाहरुलाई ठीक समयका आक्रमण गर्न आवश्यक खटनपटन गरी पृथ्वीनारायण शाह आफू भने काठमाडौँमै रहेर प्रत्येक घडीको समाचार ओहोर–दोहर गर्ने व्यवस्था मिलाई लडाईको कार्य सञ्चालन गर्ने निधो गरेको उल्लेख गरेका छन् ।
तर, युद्धका प्रत्यक्षदर्शी तत्कालीन भक्तपुरका राजा रणजित मल्लका सहयोगी गरुडनारायण गोंगलले आफ्नो संस्मरणमा उल्लेख गरेको कथन आचार्यभन्दा फरक देखिन्छ ।
गरुणनारायणको संस्मरणको कथनमा ‘नेपाली सं ८९० कार्तिक सुदि ११ रोज ७ रोज रात्री घरि ९।१० मा सहर भादगाउको पूर्वपट्टि मूल ढोकाबाट लस्कर प्रवेश भै, घर १०।१२ मा आगो लाई पश्चिम पट्टिको इटाछें ढोकाबाट श्री ५ महाराजा (श्री) पृथ्वीनारायण शाह, श्री सूरप्रताप काजी साहेब प्रवेश गर्नु भै द्वादशीको दिन बिहानै कंपनी कंपनी छाना छानामा चढी बन्दूकले हानी हानी आई दरबारको छानामा पुग्या पछि हिटिचोकको उत्तर पट्टिको चार तल्या माथिको छानाबाट हानी’ भन्ने उल्लेख छ ।
यस्तै नगरको पूर्वपट्टि रहेको मूलढोकाबाटै गोर्खालीहरु छिर्न सक्नुमा स्थानीय एक पक्षको सहयोगबाट राति नै मूलढोकैबाट गोर्खालीहरुको नगर प्रवेश भयो (देविचन्द्र श्रेष्ठ, ‘भक्तपुरमा गोर्खाली हमला गरुडनारायण गोंगलको सम्झना’,२०७६ः २३)
यो युद्धका बेला पृथ्वीनारायण शाहले कान्तिपुर दरबारमा बसेर युद्ध परिचालन गरेका थिए भन्ने आचार्यले उल्लेख गरेको प्रसङ्ग माथि परिसकेको छ ।
आचार्य (३४६–३८०) ले आफ्नो पुस्तकको तेह्रौँ परिच्छेदमा उल्लेख गरेको ‘नेपाल एकीकरणको शिलान्यास’ मा भक्तपुर आक्रमणका बेला पृथ्वीनारायण शाहले कान्तिपुरमा बसेर युद्ध परिचालन गरेका थिए भन्ने उल्लेख भए पनि आचार्यले यस परिच्छेदको टिप्पणीमा प्रयोग भएका २१ वटा स्रोतमध्ये कुनैले पनि पृथ्वीनारायण शाह कान्तिपुर दरबारमा बसेर भक्तपुरको युद्ध सञ्चालन गरेको पुष्टि गर्दैन ।
बरु भक्तपुरको युद्धमा ठूलो ज्यादती भएको उल्लेख गर्दै आचार्यले यसको सम्पूर्ण दोषको भारी शूरप्रताप शाहलाई बोकाउँदै उनीप्रति पृथ्वीनारायण शाह बेखुश भएका र यसै युद्धपछि दाजुभाइ बीच फाटो आयो भन्ने उल्लेख गरेका छन् । यसरी स्रोत उल्लेख नभएको लेखनलाई पत्याउने कि युद्धका प्रत्यक्षदर्शी गरुडनारायण गोंगलको संस्मरणलाई विश्वास गर्ने ? नुवाकोट, कीर्तिपुर र कान्तिपुरको युद्धमा पुथ्वीनारायण शाह स्वयम् अघिसरा बनेका थिए । कान्तिपुर र ललितपुरसमेत हात परिसकेको अवस्थामा थप उत्साहित उनी भक्तपुरको युद्ध हाँक्न आफै पुगेनन् होला र ?
अन्ततः भक्तपुरका राजा रणजित मल्लले आत्मसमर्पण गरे । भक्तपुरमा गोरखाली राज्यको झण्डा फहरायो । आफ्ना मीतबाको राज्यमा लडेरै पृथ्वीनारायण शाहले अधिपत्य जमाए ।
आत्मसमर्पितमाथि अमानवीय ज्यादती
युद्धका क्रममा गोरखालीहरुले दरबारको छानामा चढेर गोली बर्साउन थालेपछि सुरक्षाका लागि राजा रणजित मल्ललाई चौकोट लगिएको थियो । त्यसैबेला प्रहार भएको गोली खुट्टामा लाग्दा कान्तिपुरका भूतपूर्व राजा जयप्रकाश मल्ल सख्त घाइते भएका थिए ।
सुरक्षाका लागि राजा रणजित मल्ल, कान्तिपुर र पाटनका भूतपूर्व राजा, काजी प्रधानहरु तथा छरिदार हेमनारायणसमेत गरी राजा भएकै चौकोटमा दाखिला भए । तर, गोरखालीहरुले दरबारकै छानाबाट गोली प्रहार गर्न थालेपछि कोही सुरक्षित हुने अवस्था देखिएन ।
त्यसपछि खरिदार हेमनारायणले राजालाई आत्मसमर्पण गर्न पटक–पटक जाहेरी गरे, बल्ल राजाले आफ्नो शीरको पगरी फुकाएर झ्यालबाट तल झुण्ड्याए । त्यसपछि युद्ध सञ्चालन गरिरहेका शूरप्रताप शाहले आफ्ना सेनालाई युद्ध रोक्ने आदेश दिए (श्रेष्ठ, २०७६ः२८)
राजा रणजीत मल्लले आत्मसमर्पण गरेपछि पनि शूरप्रताप शाहले आफ्ना शत्रुपक्षविरुद्ध एक अत्यन्तै अप्रिय काम गरेका थिए । त्यो हो– राजाले आत्मसमर्पण गरेको विधि पुर्याउन जानेमध्ये केहीको हत्या ।
युद्धका प्रत्यक्षदर्शी गरुणनारायण गोंगलको संस्मरणअनुसार आत्मसमर्पण गरेका राजाका तर्फबाट राजकुमार धन जुजु, डाटिम्ह जुजु (अच्यूतसिंह), प्रधानहरु जसराज भँडेल र जगन्नाथसिंह नगरको पश्चिम खौमाटोलस्थित बाटुले देवालयमा काजी शूरप्रतापलाई भेट्न पुगेका थिए ।
शूरप्रतापले राजाका दूतका रुपमा आएका उनीहरुमध्ये जसराज भँडेल र जयप्रकाश मल्लका कामदार हनुमन्त सिंहलाई तत्कालै सङ्गीनले रोपेर मारे भने जगन्नाथ सिंहलाई पसिखेलमा लगेर मारे (श्रेष्ठ, २०७६ः३२)
यस युद्धमा रणजितका छोरा राजकुमार धनजुजुको बहालको कौशीमा गोरखालीहरुको गतिविधि बुझ्न जाँदा गरुडनारायणका काका मनि गोंगलले पनि गोरखालीको गोली लागेर ज्यान गुमाउनु परेको उनको संस्मरणमा उल्लेख छ (श्रेष्ठ, २०७६ः २६)
इतिहास अन्वेषक श्रेष्ठ (२०७६ः ५४–५६) का अनुसार भक्तपुरमा गोरखाली हमलाको समयको यो संस्मरणात्मक कागज गरुडनारायणकै वंशज दीपकरत्न गोंगल र ब्रम्हसिंह राठौरबाट प्राप्त भएको हो । राठौरको पुर्ख्यौली टिपोटमा ‘गरुडनारायण वर्ष ७५ (सं. ८७०–९५०) काशीबाट फिर्ता’ भन्ने जनिएको छ । यस टिपोट अनुसार ८० वर्ष आयु बाँचेका गरुडनारायण ७५ वर्षको उमेरमा काशीबाट नेपाल फर्केको भन्ने देखिन्छ । यस टिपोटमा प्रयोग भएको संवत नेपाल संवत हो ।
गरुडनारायणको वंशावलीमा मूल पुरुषको खोजी गर्दा उत्तर भारत मेवाडबाट आएको रजपुत गणपतिसिंह राठौरदेखि थालनी भएको र उनलाई ‘सर्दार’ भनी जनिएकाले उनी भक्तपुरमा सैनिक सेवामा आएको ज्ञात हुन्छ ।
यक्ष मल्लका पालामा नेपाल आएका सर्दार गणपति सिंह राठौरको तेस्रो पुस्तामा श्यामसिंह राठौरलाई ‘गोंगजु’ भनेर सेवामा रुजु हाजिर गराई राजाले स्थानीय उपाधि दिएको चर्चा गोंगल वंश परम्परामा चर्चित छ । श्यामसिंहका छोरा भाजुदेव र नाति गरुडनारायण भएको उनीहरुको वंशवृत्तमा उल्लेख छ ।
यताबाट हेर्दा ने.सं. ८७० अर्थात् वि।संं। १८०७ मा जन्मेका गरुडनारायण भक्तपुर युद्धका बेला १९/२० वर्षका तरुण देखिन्छन् ।
रुँदै र सराप्दै काशीतर्फ
घेराऊ गरी, बाली लुटी, भीषण आक्रमणमा ब्यापक जनधनको क्षति गराई भक्तपुर राज्यमा अधिपत्य जमाएपछि पनि पृथ्वीनारायण शाहले आफ्ना मीत बाप्रति भने सम्बन्धको औपचारिकता राखिरहेकै थिए । सत्ताच्यूत भएपछि रणजीतले आफू काशीबास जाने ईच्छा प्रकट गरे ।
रणजीतका विवाहितातिरका छोरा युवराज वीरनरसिंहको अल्पायुमै निधन भएको थियो । उनीसँग पृथ्वीनारायण शाहले गोरखाबाट भक्तपुर आई मीत लगाएका थिए । रणजीतका उपपत्नीहरुतर्फबाट सात छोरा थिए । यी सात जनालाई सातवटा बहाल बनाई राखिदिएकाले उनीहरु ‘सातबहाले’ कहलाएका थिए ।
आचार्य (२०६१ः ३६०) ले उल्लेख गरेअनुसार रणजीत मल्ल काशी जानुअघि वि.सं. १८२६ पुस २९ गते भक्तपुरबाट काठमाडौँ आएर एक बास मात्रै बसी त्यसको भोलिपल्टै उनी काशीतिर हिँडेका थिए । उनकै आग्रहमा गोरखालीको थुनामा रहेका छोरा अवधूतसिंहलाई पृथ्वीनारायण शाहले मुक्त गराइदिएका थिए । रणजित मल्ल कान्छी उपपत्नी र छोरा अवधूतसिंहका साथ काशीतर्फ रवाना भए ।
काशीतर्फ जाँदै गर्दा जब भक्तपुरका भूतपूर्व राजा रणजीत चन्द्रागिरी डाँडामा उक्ले, त्यसपछि आफूले राज्य गरेको भक्तपुर सहरलाई हेरी बडो बिलौना गर्दै उनी रोएका थिए ।
तर, गरुडनारायण गोंगलको संस्मरणमा भने भक्तपुर छाडेर काठमाडौँ आउँदा रणजीत मल्ल एक महिना बसन्तपुर दरबारमा बसेको उल्लेख छ । उनका सबै मठ्याहा छोराहरु भने गोरखालीको कैदमा थिए (श्रेष्ठ, २०७६ः ३५)
नेपाल छाडेर काशीबास जान लागेका आफ्ना बाबु रणजीत मल्लसँग विदाई दर्शन गर्न राजकुमार अच्यूतसिंह साह्रै बिरामी हालतमा नेलसहित बसन्तपुर दरबारमा आएका थिए । रणजीत मल्ल काशी प्रस्थान नगर्दै अच्यूतसिंहको मृत्यु भयो । बिरामी हालतमै विष्णुमतिको किनारमा लैजाँदै गर्दा उनको मत्यु हुन पुगेको र उनको दाहसंस्कार विष्णुमति पारी विजेश्वरी जाने बाटोमाथिको मसानमा भएको थियो ।
उनकी रानीले सती जाने इच्छा गरेकीले सतीलाई लिन गरुडनारायण दुईजना सिपाहीका साथ भक्तपुर पुगेका थिए । दरबारको तलासी चोकमा नजरबन्दमा राखिएकी ती सतीलाई भोलिपल्ट काठमाडौँ ल्याएर मसानमा पोलिँदा त्यो दृश्य देख्न नसकेर गरुडनारायण बहोस भई ढलेका थिए । उनलाई दुई जनाले बोकेर बसन्तपुर दरबारमा रहेका रणजित मल्लका छेउ पुर्याइदिएका थिए ।
त्यसबेला उनलाई आशिर्वादसहित विदाई गर्दा रणजीत मल्लले भनेका थिए–
‘ये गोंगोचा । ये बाबु, यस्तो रोगी ऐल्हे तं घर जा । तैंले मेरो सेवाटहल ढेरै गरिस् । बेलामा भएन क्या गरौं । अबेलामा दुःख मात्र ढेरै पाइस् । तंलाई लैजाउं भन्या तेस्तो रोगी । तेरो घरमा बाबु बराजुहरु छँदैछ । जाउ, घर जाउ ।’
यति भनेपछि गरुणनारायण राजाबाट विदा भए । उनलाई दुई जनाले बोकेर भक्तपुर ल्याउँदा त्यसबारे आफूलाई केही थाहा सुद्धि नभएको पनि गरुडनारायणले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् (श्रेष्ठ, २०७६ः ३३–३४)
अर्थात् रणजित मल्लको विदाई आशिर्वाद पाएर घर फर्केका बेला गरुडनारायण अर्धबेहोशी अवस्थामा थिए ।
काशीतर्फ जाँदा चन्द्रागिरी डाँडामा आफूले गुमाएको राज्य हेर्दै रणजित मल्ल साह्रै विरक्त भावमा रुँदै आफ्ना भित्रिनीतिरका सातबहाले छोराहरुले कर्तब्य गरी आफ्ना विवाहितातिरका छोरा युवराज वीरनरसिंहलाई मराएको र आफूले पनि दुःख पाएको भन्दै उनीहरुलाई यसरी सरापेका थिए-
‘यी सातबहाले छोराहरु र यिनका सन्तान चन्डाल अनुहार भएका र महादरिद्र होऊन् । कुनै भला मानिसले यिनीहरुसँग सङ्गत नगरुन् । यिनीहरुले घरको झ्याल, थाम, इँट, झिंगटीलगायत बेचेर खान परोस् । आखिरमा सन्तान पनि नष्ट होऊन् ।’ (प्राचीन नेपाल, सङख्या २३–वैशाख २०३०ः२)
आफ्नै छोराहरुलाई किन सरापे ?
आफ्नो राज्य गुमाएर काशीवासतिर जाँदै गर्दा रणजीत मल्लले किन आफ्ना भित्रिनीतिरका मठ्याहा छोराहरुलाई सरापे रु उनले सराप्नु त पृथ्वीनारायण शाहलाई पर्ने हो, जसले भक्तपुरमा ठूलो जनधनको क्षति गराएर आफूलाई राज्यच्यूत गराएका थिए । त्यसमाथि पृथ्वी रणजीत मल्लका मीत छोरा पनि थिए ।
आफ्नो राज्यभिषेकपछि बनारस जाँदा आफैं जमानत बसेर भक्तपुर मठका ब्यापारी कमल बनसँग पृथ्वीनारायण शाहका लागि रणजीत मल्लले १२ हजार ऋण पनि काढिदिएका थिए । तिनै भित्रिनीतिरका सातबहाले छोरामध्ये एकजना अवधूतसिंहलाई काशी जाँदा उनले साथैमा लिएर गएका थिए ।
उनले एकपटक भक्तपुर राज्य फिर्ता गर्ने प्रयास पनि गरेका थिए । पछि अवधूतसिंह पर्वत राज्यमा देखा परेका छन् । पर्वतका राजा कीर्तिबम मल्लले अवधूतसिंहका नाममा गरिदिएको ताम्रपत्र फेला परेको छ ।
पृथ्वीनारायण शाहविरुद्धको षडयन्त्रपछि र पर्वतमा शरण लिनुअघिको करिब १३ वर्षजतिको अवधिको उनको भुमिका भने रहस्यमय छ । ताम्रपत्रअनुसार बागलुङ बजारसँगै उत्तरमा पर्ने उपल्ला चौरमा कीर्तिबम मल्लले अवधूतसिंहलाई बिर्ता दिएका थिए भन्ने थाहा हुन्छ । शाके १७०५ अर्थात् वि.सं. १८४० पुस ३ गते आइतबार उक्त ताम्रपत्र जारी भएको छ (टेकबहादुर श्रेष्ठ, कन्ट्रीब्युसन्स टु नेपालिज स्टडिज, वर्ष ७ अङ्क २–असार २०३८ः१००)
आचार्य (२०६१ः ३९२) ले उल्लेख गरेअनुसार राज्यच्यूत राजा रणजीत मल्लले आफ्ना छोरा अवधूतसिंहलाई आफ्नो उत्तराधिकारी बनाई काठमाडौँ उपत्यकाको राजा बनाउने उद्देश्य राखेका थिए ।
यस्तो भित्री उद्देश्यका साथ रणजीतले गोरखाली कैदमा परेका छोरा अवधूतसिंहलाई त्यहाँबाट चलाखीपूर्वक फुत्काएर आफ्ना साथ लगेका थिए । काशी पुगेर उनले पटना काउन्सिलमा रहेका इष्ट इण्डिया कम्पनीका हाकिम अलेक्जेण्डरसँग भेट गर्ने इच्छा ब्यक्त गर्दै लेखापढी पनि गरेका थिए । तर, पत्रको जवाफ नआउँदै उनको देहान्त हुन पुग्यो ।
रणजीत मल्लले आफ्नै छोराहरुलाई ‘धोकेवाज’का रुपमा रुँदै सराप दिनुको रहस्य भने अर्कै देखिन्छ । यस रहस्य उद्घाटन गर्ने एक सामग्रीलाई यहाँ निफनेर हेर्न सकिन्छ । त्यो सामग्री हो– तत्कालीन शिक्षा मन्त्रालयअन्तरगतको पुरातत्व विभाग (हालः संस्कृति मन्त्रालय अन्तरगत प्रकाशित मुखपत्रमा ‘प्राचीन नेपाल’को सङ्ख्या २३ मा प्रकाशित ‘नेपाल देशको इतिहास सङ्ग्रह’मा रहेको भक्तपुर युद्धसम्बन्धी एक प्रकरण)
‘प्राचीन नेपाल’ (२०३०ः३) मा प्रकाशित सामग्री अनुसार पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणका क्रममा राजा रणजीत मल्लका सातवहाले छोराहरुसँग घुसपैठ गरी उनीहरुलाई हात लिएर सजिलैसँग भक्तपुर कब्जा गर्ने रणनीति अपनाएका थिए । आफ्नो उद्देश्य सफल भएपछि उनै सातबहाले राजकुमार र उनीहरुका परिवारलाई नाक काटिदिने, यातना दिने तथा सर्वश्वहरण गर्नेजस्ता कार्य पृथ्वीनारायण शाहले गरेका थिए । भक्तपुर युद्धबारे हालसम्म त्यति चर्चामा नआएको प्रकरणको ब्यहोरा यस्तो छ :
महाराजले भक्तपुर आक्रमण गर्न जाँदा ‘नेपाल जितेपछि भक्तपुरको हकमा हुकुम मात्र मेरो भई गादी र आम्दानी तिमीहरुलाई दिऊँला’ भनी रणजीत मल्लका सातबाहालमा राखेका भित्रिनीपट्टिका छोराहरुलाई भनेको रहेछ । पछि भक्तपुर लडाईं गर्ने बखतमा पनि ‘लडाईं पर्दा गोला बारुद हामीलाई दिनू र तिमीहरु पट्टिका सिपाहीलाई खाली बन्दूक हान्न लाउनू । कोटघरमा हाम्रो लस्कर पस्नेबित्तिकै तिम्रा लस्करले छोडिदिनू । अनि तिमीहरुलाई नै राज्य दिऊँला’ भन्ने हुकम भएको रहेछ ।
नेपालमा कालरुप भई जन्मेका ती सातबिहारेहरुले बाबुका गादीमा बसौंला भन्ने लोभले जस्तो गोरखालीले भनेथे, उस्तै गरी भक्तपुरका सिपाहीलाई खाली बन्दूकले हान्न लगाई बारुद र गोली भित्रभित्रैबाट गोरखालीलाई सुम्पिदिए । कोटगढको ढोकासमेत छोडिदिँदा भक्तपुरका लस्कर धेरै मरे ।
गोरखाली लस्करले दरबार घेरी लडाईं गरेर भक्तपुर सर गरेका थिए । आफ्ना मीत राजकुमार वीरनरसिंहलाई विष प्रयोग गरी मारेको समेत हुनाले यी सातविहारे बाबुका गादीमा लोभ गरी अनेक पापद्वारा बाबुलाई दुःख दिने कुल्याहा हुन् । बाबु नभन्ने यस्ता कर्मचण्डालहरुले मलाई पनि बाँकी राख्ने छैनन् भनी तिनका जहान बच्चाहरुसमेत सबैलाई पक्रे । कसैको नाक कटाए, कसैको सर्वश्व हरण गरे र कसैलाई सासना गरे ।
सो सर्वश्व गरेमध्ये राजा रणजीत मल्ल काशी जाने बखतमा छाडी गएको उनका छोरा अवधूतसिंह मल्लको सर्वश्व खेतबारी लगायत महाराजबाट आफूलाई बिर्ता दिएको ढाल तरबारमाथि थापी लिएको जति रामकृष्ण कुवरले संवत् १८३७ माघ सुदी २ रोज २ का दिन ताम्रपत्र गरी पशुपतिनाथको सदावर्त गुठीमा राखे ।
भक्तपुरमाथि आक्रमण गर्नुअघि त्यहाँ नाकाबन्दी गर्दा त्यसको सेनापतित्त्व रामकृष्ण कुँवरले गरेका थिए । गोरखालीबाट वि.सं. १८२६ वैशाखदेखि भक्तपुर घेराउमा परेको थियो । (आचार्य,२०३८ः १७)
यसरी भक्तपुरको अभियान सफल बनाएकोमा रामकृष्णलाई पृथ्वीनारायण शाहले पुरस्कारवापत जफत गरिएको अवधूतसिंहको घरजग्गा बक्सिस दिएको देखिन्छ ।
माथि उल्लेख भएको प्रसङ्ग उनै रामकृष्णका सन्तति केशर शमशेरको सङ्ग्रहमा रहेको सामग्रीबाट पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा प्रकाशित भएको हो ।
फेरि भक्तपुर युद्धको इतिहासतिर फकौँ ।
भक्तपुर युद्धको प्रत्यक्षदर्शी गरुडनारायण गोंगलको संस्मरणका विश्लेषक इतिहासकार श्रेष्ठ (२०७६ः१५ -१६) का अनुसार त्यसबेला भक्तपुरको ‘लंक्वाठ’ अर्थात् प्रतिरक्षा किल्ला अजेय थियो । त्यसबाट परिचित पृथ्वीनारायण शाहले गढ किल्ला तोडेर भित्र पस्ने जाखिम उठाउनेतिर नभई प्रवेशद्वार खोलिदिने मतियारको खोजी गर्दा रणजितकै मठ्याहा छोराहरुमध्ये कोही तयार भएको छनक मिल्छ । त्यसमा उनका माहिला छोरा धनसिंह मल्ल पृथ्वीनारायण शाहको पक्षमा गएको घटनाक्रमहरुबाट बुझ्न सकिन्छ ।
गरुडनारायण गोंगलको संस्मरणमा पनि युद्धका बेला पृथ्वीनारायण स्वयम् पूर्वीढोकाबाट भक्तपुर शहरभित्र प्रवेश गरेको उल्लेख छ । राजा रणजित मल्लले आत्मसमर्पण गरेको विधि पुर्याउन जानेमा पनि सुरुमा उनै धनजु अर्थात् धनसिंह मल्ल देखा परेकाले पनि उनी पृथ्वीनारायण शाहका लागि घुसपैठियाको भूमिका खेल्ने भक्तपुरे राजकुमार हुन सक्ने शङ्का गर्ने ठाउँ रहेको छ ।
युद्धअघि नै भक्तपुरका केही राजकुमारहरुसँग पृथ्वीनारायण शाहले घुसपैठ गरेको नेपालका पुराना इतिहासकार रामजी उपाध्यायले पनि आफ्नो पुस्तक (नेपालको इतिहास अर्थात् दिग्दर्शन–२००७ः १७३) मा उल्लेख गरेका छन् ।
उपाध्यायका अनुसार रणजीत मल्लका भित्रिनीका सातबहाले छोराहरु भक्तपुरको राजसिंहासनमा विराजमान हुन चाहन्थे । जयप्रकाश मल्ल र तेजनरसिंह मल्लसँग आशा हराउँदै जाँदा उनीहरु पृथ्वीनारायण शाहको सम्पर्कमा पुगेका थिए । ती सातबहाले राजकुमारहरु शहरबाहिर आई युद्धमा भाग लिएका थिए तर तिनीहरुको पूर्व सैन्यनिर्देशनअनुसार केहीबेरपछि भक्तपुरले योद्धाहरु त्यहाँबाट भाग्न थाले । ती सेनाहरु त्यहाँबाट भागेपछि पृथ्वीनारायण शाहको नगरमा प्रवेश भएको इतिहासकार उपाध्ययले उल्लेख गरेका छन् ।
भक्तपुरको पतनपछि रणजीत मल्लका सबै छोराहरु कैदमा परेका र उनीहरुको परिवार पनि नजरबन्दमा परेका थिए ।
आफूले भक्तपुर जितेको अढाई वर्षपछि पृथ्वीनारायण शाहले धनजु अर्थात् धनसिंह मल्ल, अर्का राजकुमार मेल डाटी र रणजित मल्लका ज्वाइँ जयनारायणलाई बन्धनमुक्त गरी उनीहरुको सुनबिर्ता जग्गा जमिन पनि फिर्ता गरिदिएका थिए ।
यससम्बन्धी पृथ्वीनारायण शाहको रुक्का इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ७७ (असोज २०४७ः १७) मा प्रकाशित गरेका छन् । वि.सं. १८२९ वैशाख सुदी ११ रोज ४ मा जारी गरिएको रुक्काको ब्यहोरा यस्तो छ :
‘आगे रंजीत मल्लका छोरा धनजुजुमल् डाटी जुवाई जैनारानकन। भादगाऊका अठार हजारका सरहको सलामी पनी सर्कार चढायौ । पोता पनी तिर्दैछौ । तम्रो षेतबारी घट्ट जो हीजो तम्रो बाबाले सुनाबृत्ता गरीदियाको हामीले पनि थामीबक्स्यौं को छ। षतिजम्मासग भोग्य गर।’
यी प्रकरणहरुलाई केलाई हेर्दा भक्तपुरका अन्तिम राजा रणजीत मल्ललाई उनकै मठ्याहा छोराहरुमध्ये केहीले धोका दिएकाले उनी आफू राज्यच्यूत हुनु परेको देखिन्छ ।
रणजीतका मठ्याहा छोराहरुमध्ये अच्यूतसिंह सिकिस्त विरामी अवस्थामा बाबुको अन्तिम दर्शन गर्न नेलसहित आउँदा मरेका, अवधूतसिंह आफ्नै बाबुसँग काशीतिर गएका र पछि पर्वत राज्यमा देखा परेका प्रसङ्ग माथि परिसकेको छ ।
विभिन्न सङ्केतहरुले रणजितका दुई छोरा धनसिंह र मेल डाटी पृथ्वीनारायणसँग मिलेको हुनसक्ने देखिन्छ । आफूसँग नमिल्ने बाँकी तीनजनाको सर्वश्व गरेको र उनीहरुको परिवारलाई नाक काट्नेलगायतका यातना दिइएको भन्ने अनुमान गर्न सकिन्छ ।
त्यसैले राज्य च्यूत भई काशीबास जानुपर्दा चन्द्रागिरी डाँडामा पुगी आफ्नो गुमेको राज्य हेर्दै अनि रुँदै आफूलाई धोका दिनेमध्येका मठ्याहा छोराहरुलाई रणजीतले सरापेका थिए भनी विश्लेषण गर्न त्यति गाह्रो देखिँदैन ।
इतिहास शिरोमणिको बेवास्ता
पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ ले सङ्ख्या १२ ९साउन, २०२७० देखि श्रृङ्खलावद्ध रुपमा केशरशमशेरको सङ्ग्रहमा रहेको ‘नेपाल देशको इतिहास’ नामको हस्तलिखित पुस्तक छाप्न सुरु गरेको थियो । यो क्रम सङ्ख्या २७ (वैशाख २०३१) सम्म चल्यो । यो सङ्ग्रहमा पृथ्वीको सृष्टि भएको बयानदेखि तिथिमितिसहित वि।सं। १९४७ सम्मका घटनाहरु उल्लेख छन् । समय–समयमा राजा महाराजाहरुबाट जारी भएका रुक्का र मोहरहरु पनि समेटिएका छन् ।
वि.सं. २०३० असार २५ मा सिंहदरबार सचिवालयमा आगलागी हुँदा यो हस्तलिखित पुस्तक पनि नष्ट हुन पुगेकाले ‘प्राचीन नेपाल’ सङ्ख्या २४ देखि राष्ट्रिय अभिलेखालयमा रहेको राजगुरु हेमराज पाण्डेको सङ्ग्रहको पुस्तकबाट लिएर यस श्रृङ्खलालाई निरन्तरता दिइयो । दुवै पुस्तकको अक्षर एकैजनाको र कथानक पनि मिल्दोजुल्दो छ (प्राचीन नेपाल, सङ्ख्या २४–साउन २०३०ः १)
इतिहास शिरोमणि बाबुराम आचार्य चन्द्रशमशेरको समयका खरिदार भएकाले चन्द्रशमशेरकै छोरा केशरशमशेरको सङ्ग्रहमा रहेको इतिहासको यस हस्तलिखित पुस्तकमाथि उनको आँखा नपर्ने कुरै भएन ।
पृथ्वीनारायण शाहकै ब्यक्तित्त्वमाथि नकारात्मक असर पर्ने हुँदा भक्तपुर युद्धका क्रममा भएको घुसपैठ, राजपरिवारको नाक काटिएको जस्ता उपलब्ध ऐतिहासिक सामग्रीको उपयोगप्रति इतिहास शिरोमणि आचार्य उत्साहित नभएको सजिलै अनुमान हुन्छ । बरु उनले भक्तपुरमा भएको ज्यादतीको सम्पूर्ण दोष भाइ शूरप्रताप शाहमाथि खन्याएर पृथ्वीनारायण शाहलाई चोखो बनाएका छन्
कुनै समय आचार्यले तत्कालीन माहिला गुरुज्यू हेमराजको सहायक भई काम गरेका थिए । त्यसबेला पाठशाला बन्दोबस्त फाँटमध्ये नागरी फाँटका प्रमुख गुरुज्यू हेमराज पाण्डे थिए । यो फाँटले संस्कृत पाठशाला र भाषा पाठशालाको काम गथ्र्यो । सिल्भाँ लेभी आदि विद्वानसँग हेमराजको सङ्गतलाई बाबुराम आचार्यले प्रत्यक्ष देखेका थिए (नयराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९ः१३३)
तर, आचार्यले पृथ्वीनारायण शाहको जीवनी लेख्दा भक्तपुरको युद्धमा उनी स्वयं सहभागी भएको, उनले घुसपैठ गरी सजिलै भक्तपुर राज्यभित्र प्रवेश पाएको आदि प्रसङ्गलाई उल्लेख गर्न उचित सम्झेको देखिएन ।
आचार्य (२०६१ः ३२-३३) ले केशरशमशेरको सङ्ग्रहमा रहेको उक्त सामग्रीलाई ‘यो वंशावली जति ठूलो छ, उति बढी भ्रष्ट कथाले भरिएको’ भन्ने टिप्पणी गरेकाले उनले यो सामग्रीलाई प्रयोग गर्न उचित नसम्झेको स्पष्ट हुन्छ ।
आचार्यका इतिहाससम्बन्धी दुई पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ र ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’ तत्कालीन राजदरबारले दिएको वृत्तिमा लेखिएका हुन् ।
यी दुवै पुस्तक वि.सं. २०२२ देखि २०२६ सालको बीचमा प्रकाशित भएका हुन् । ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’ को दोस्रो संस्करण (२०६३ः क) मा यस पुस्तकका सम्पादक तथा प्रकाशक श्रीकृष्ण आचार्य (इतिहास शिरोमणिकै छोरा) ले उल्लेख गरेअनुसार तत्कालीन युवराज बीरेन्द्रको इच्छा र आग्रहमा यी पुस्तक तयार भएका हुन् ।
‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ त राजदरबारबाटै प्रकाशित भएको हो, जहाँ तत्कालीन युवराज बीरेन्द्रको समेत शुभकामना मन्तब्य छापिएको छ । यसको दोस्रो संस्करण राजा ज्ञानेन्द्र सक्रिय हुँदा २०६१ सालमा प्रकाशित भएको हो ।
यस्तो पुस्तकमा पृथ्वीनारायण शाहकै ब्यक्तित्त्वमाथि नकारात्मक असर पर्ने हुँदा भक्तपुर युद्धका क्रममा भएको घुसपैठ, राजपरिवारको नाक काटिएको जस्ता उपलब्ध ऐतिहासिक सामग्रीको उपयोगप्रति इतिहास शिरोमणि आचार्य उत्साहित नभएको सजिलै अनुमान हुन्छ । बरु उनले भक्तपुरमा भएको ज्यादतीको सम्पूर्ण दोष भाइ शूरप्रताप शाहमाथि खन्याएर पृथ्वीनारायण शाहलाई चोखो बनाएका छन् ।