काठमाडौं- जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन नेपालमा पुरानै हो । क्वाँटी नौ थरी गेडागुडी मिसाएर बनाइन्छ । जसमा चना, मस्याम, मुगी, बोडी, मास, भटमास लगायत ठाउँ अनुसारका गेडागुडी राखिन्छ ।
स्वास्थ्यका लागि क्वाँटी धेरै राम्रो मानिन्छ । साकाहारी र मांसहरी दुवैले गेडागुडीलाई परिकारका रुपमा समावेश गर्नु राम्रो हुने पोषणविद् बताउँछन् । पोषणविद् नानीशोभा शाक्यका अनुसार स्वस्थ खानाको परीकारमा क्वाँटी अर्थात गेडागुडीको झोललाई उत्कृष्ट मानिन्छ ।
खवररहबसँगको कुराकानीमा पोषणविद् शाक्यले भनिन्, ‘हाम्रोमा खाने क्वाँटीमा विभिन्न ९ गेडागुडी हुन्छन् । सबैको आफ्नै विशेषता छन् । कुनै न कुनै भिटामिन, आइरन, खनिज, पोटासियम लगायत तत्व पाइन्छन् । झोल बनाउँदा तेलमा ज्वानो पड्काएर राख्दा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।’
३–४ दिन पानीमा भिजाएर टुसा उम्रिएपछि झोलिलो बनाएर क्वाँटी पकाउने गरिन्छ । विशेषतः जनैपूर्णिमामा खाइने क्वाँटीले वर्षायाभर काम गर्दाको चिसो ठीक हुने, चर्मरोग जाने लगायत विश्वास गरिन्छ । स्वास्थ्यका लागि क्वाँटी फाइदाजनक र हितकारी छ ।
क्वाँटी के हो ?
पोषणविद् शाक्य भन्छिन्, ‘क्वाँटीलाई शाब्दिक अर्थमा हेर्ने हो भने यो नेवारी भाषाबाट आएको शब्द हो । क्वाँ को अर्थ तातो र ती को अर्थ झोल हुन्छ । त्यसैलाई मिलाएर क्वाँटी भनिन्छ ।
जनैपूर्णिमा र क्वाँटीको महत्व
जनैपूर्णिमा बर्खाको समयमा पर्छ । हाम्रो देश कृषि प्रधान भएकाले धेरै ठाउँमा धान, कोदो रोप्नेसहितकृषि कर्म गर्ने गरिन्छ । बर्खाको झरीमा रुझेर खेतमा काम गरेका किसानलाई शक्ति प्रदान गर्न पोषिलो खानाका रुपमा क्वाँटी खाने चलन चलेको पोषणविद् शाक्य बताउँछिन् ।
शाक्यले भनिन्, ‘पहिले पहिले माछामासु धेरै खाइँदैनथ्यो । एकातिर पानी पर्ने समय, त्यसैमाथि खेतबारीमा काम गर्नुपर्ने हुँदा चिसो लाग्ने र अर्को शरीरका शक्ति नास हुने भएकाले न्यानो बनाउन र पोषण्को परिपूर्ति गर्ने कामा गेडागुडीको तातो झोल अर्थात क्वाँटी खाने चलन चलेको हो’, उनले भनिन् ।
आहिले मौसम परिवर्तनको समय छ । गर्मी सकिएर चिसो शुरु हुने बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वाँटी खाने चलन चलेको उनले बताइन् ।
डा. नानीशोभा शाक्य
क्वाँटीको फाइदा
क्वाँटी बनाउँदा विभिन्न ९ प्रकारका गेडागुडी हालिन्छ । भटमास, चना, मस्याम, मुगी, बोडी, मास, भटमास, सिमी, ठूलो केराउ, सानो केराउ लगायतको सम्मिश्रण हुने भएकाले त्यसबाट शरीरलाई चाहिने प्रोटिन, कार्बोहाइड्रेड र खनिज पदार्थ मिल्छन् ।
जसले हामीलाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, स्वस्थ रहन सहयोग पुर्याउँछ । त्यस्तै यसलाई भिजाएर टुसा उम्रिएपछि खाँदा भिटामिन सी देखि लिएर फाइबरको मात्रा पनि बढ्ने गर्दछ ।
कतिपयले गेडागुडी खाँदा पचाउन गाह्रो हुन्छ भन्छन् । तर त्यसो होइन, ठिक्क मात्रा खाए पौष्टिक तत्वसँगै रेशा तथा फाइबरयुक्त हुने भएकाले पचाउन गाह्रो नहुने पोषणविद् शाक्य बताउँछिन् ।
क्वाँटी कसले खाने, कसले नखाने ?
राम्रो छ भन्दैमा चाहिनेभन्दा धेरै खाँदा जुनसुकै खानाले पनि असर पुर्याउँछ । तर ठिक्क खाए बच्चादेखि बृद्धसम्म सबैलाई फाइदा पुर्याउँछ ।
तर किड्नीका बिरामीहरु, धेरै तौल भएकाहरूले, पोटासियमको मात्रा घटाउनुपर्ने अवस्था भएकाले ठिक्क मात्रामा अर्थात सानो एक कचौरा जति खाँदा असर गर्दैन ।
पहिले पहिले युरिक एसिड बढेका र बाथका बिरामीहरुले पनि गेडागुडी खानुहुँदैन भनिन्थ्यो । तर पछिल्लो समयका अध्ययन अनुसन्धानमा त्यस्ता बिरामीलाई खान रोकछेक लगाएको छैन। त्यसैले कहिलेकाहीँ थोरै मात्रामा खाँदा रामै हुन्छ । यसले बेफाइदा नगर्ने उनी बताउँछिन् ।
बर्खाको समय र मौसम परीवर्तन हुने भएकाले विभिन्न रोगहरुको संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । अहिले काठमाडौं र ललितपुरमा हैजाको प्रकोम छ । त्यसैले खानपानमा ध्यान दिन शाक्यको सुझाव छ ।
शाक्यले भनिन्, ‘अहिले हरीयो तरकारी पनि बाढीपहिरो र डुबानका कारण दूषित भएकाले सरसफाइमा ध्यान दिन आवश्यक छ । काँचो तरकारी नखाने र खाए पनि राम्रोसँग सफा गरे मात्रै खानु उपयुक्त हुन्छ ।’