तस्वीर : रासस

आर्थिक

अर्थसंक्षेप : पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारको कार्ययोजना, सुनको मूल्य घट्यो 

By खबरहब

August 19, 2024

काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्य योजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै, खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गुल्मी सिर्सेनीका किसान यति बेला परम्परागत रूपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । सेयर शिक्षाअन्तर्गत शेयर भनेको कुनै सङ्गठित संस्थाको पुँजीको रूपमा पनि बुझिन्छ । अर्थात् शेयर छ भने त्यो सङ्गठित संस्थाको साझेदारी भन्ने पनि बुझिन्छ । चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ ।

पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । र, आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू : 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्य योजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो ।

गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्य योजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो । दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।

लामीडाँडा विमानस्थल उद्घाटनको पाँच वर्ष : अझै भएन उडान

खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका थिए ।

समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको बताएका थिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन । २०२८ सालदेखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको छ ।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गुल्मीका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित

गुल्मी सिर्सेनीका किसान यति बेला परम्परागत रूपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यति बेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रूपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रूपमा कफीखेतीमा लागेका हुन् ।

कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण किसानको रोजाइ मकै र कोदोभन्दा कफीखेतीमा परेको हो । प्रधानमन्त्री तथा कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइले किसानलाई व्यावसायिक रूपमा कफीखेती गर्न प्रेरित गर्दै आएको छ । परियोजनाले किसानलाई कफीको उत्पादन गर्ने तरिका र त्यसको महत्व तथा फाइदाका बारेमा जानकारी गराउँदै कफीखेतीका लागि बिरुवा, मल, नेटजालीलगायत सामग्री उपलब्ध गराउन थालेपछी त्यहाँका किसानलाई कफीखेती गर्न थप सजिलो भएको छ ।

तनहुँमा करिब आठ करोड विद्युत् बक्यौता

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो ।

सबैभन्दा बढी अन्य कालोसूचीतर्फका ग्राहकबाट तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ ३६ हजार सात सय चार, मन्दिरतर्फ ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ ।

आर्थिक वर्ष २०७९–८० मा आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताए । उनका अनुसार जिल्लामा विद्युतका ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् ।

सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर

चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरूमार्फत् अभियान सञ्चालन गरेको हो ।

सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रूपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रूपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरूले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ’, सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ ।’  सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।

नेपालगञ्ज रंगशालामा : एक महिनामै उप्कियो ‘सेन्थेटिक ट्रयाक’

बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो । निरन्तरको वर्षासँगै  ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयवासीले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे ।

‘निर्माण सम्पन्न भएको एक महिनामै ट्रयाक उप्किनु भनेको एकदमै कम गुणस्तरको सामान प्रयोग भएको भन्ने बुझ्नुपर्दछ’, उनले भने । ठेकेदार कम्पनीले उक्त ट्रयाक राखेपलाई हस्तान्तरण गर्न बाँकी छ । ‘सेन्थेटिक ट्रयाक’ निर्माणका क्रममा राखेपले केन्द्रबाटै इन्जिनियर तथा कर्मचारी टोली खटाएको थियो । लुम्बिनी प्रदेश र जिल्लास्थित खेलकुदका पदाधिकारीका अनुसार निर्माण गर्ने छुट्टै अनुगमन समिति नहुँदा ठेकेदार कम्पनीले मनपरी काम गर्दै आएको छ ।

तनहुँमा एक वर्षमा १७ किलोमिटर सडक कालोपत्र

पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्र गरिएको जनाएको छ ।

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९–८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्र भएको थियो । गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए ।

कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध, जनजीवन प्रभावित

आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युतविहीन बनेको हो ।

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

जङ्गलबीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ । विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ ।

त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ । कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ । मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन ।