सुशीला कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश हुन् । उनी सर्वोच्चबाट बिदा भएपछि स्वतन्त्र नागरिकका रूपमा जनताका आवाज उठाइरहेकी छन् । देशको पहिलो महिला प्रधानन्यायाधीश कार्की अहिले स्वतन्त्र रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्छिन् ।
संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान जारी हुँदा कार्की त्यसको साक्षी थिइन् । संविधान जारी भएपछि २०७३ असार २७ गते पूर्व प्रधानन्यायाधीश भएकी कार्की राजनीतिक दलका कारण संविधान धरापमा परेको । खास जनताले संविधान आएको आभाष गर्न नपाएको बताउँछिन् । उनी नेताको आडमा केही सीमित व्यक्तिले मात्रै फाइदा लिएको उल्लेख गर्छिन् ।
दलहरूले घुमाई घुमाई राजाको जस्तै शासन चलाइरहेको उनी बताउँछिन् । त्यस्ता दललाई विष्णु भगवान् र ब्रम्हाले नै संविधान लेखेर दिए पनि चलाउन नसक्ने उनको तर्क छ । संविधान संशोधनमा दलहरू नै क्लियर नभएको तर्क उनको छ । सर्वोच्चकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग खबरहबले संविधान दिवसका अवसरमा गरेको संवादको सम्पादित अंशः
अहिले के विषयमा संविधान संशोधन गर्ने भन्ने नै प्रस्ट छैन । नेताहरू त ढाँट्न माहिर छन् हेर्नुस् । संविधान लचिलो भयो भने राम्रो हुँदैन । धेरै कठोर र अपरिवर्तनीय पनि राम्रो हुँदैन । संविधान संशोधन हुनुपर्छ । तर स्वार्थमा होइन । अहिले दलहरू आफ्नो स्वार्थमा हिँडे ।
संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । ठूलादेखि साना दलसमेत संविधान संशोधन गर्ने भन्दै गठबन्धनमा जोडिएका छन् । अहिले नै संविधान संशोधन आवश्यक भइसकेको हो र ?
अहिले के कुरा प्रष्ट छैन भने के विषयमा संविधान संशोधन गर्ने ? विषय नै प्रस्ट छैन । संशोधन भनेर हिँडेको छ । विषय के हो थाहा छैन । विषय क्लियर नभएपछि के बोल्ने ? फेरि नेताहरू त ढाँट्न माहिर छन् हेर्नुस् ? संविधान लचिलो भयो भने पनि राम्रो हुँदैन । धेरै कठोर र अपरिवर्तनीय पनि राम्रो हुँदैन । फेक्जिबल र रिजर्भ दुवै राम्रो हुँदैन । संविधान संशोधन हुनुपर्छ । तर स्वार्थमा होइन । अहिले दलहरू आफ्नो स्वार्थमा हिँडे ।
भारत, अमेरिकाको संविधान पनि चाँडोचाँडो संशोधन भएको छैन । एक दुई दललाई मन लागेर संशोधन गर्ने कुरा हुँदैन । संशोधन गर्दा आमजनताको राय बुझ्नु आवश्यक छ । कुन विषयमा संशोधन गर्ने छलफल हुनुपर्छ । दुई पार्टी सत्तामा भएका बेला संशोधन गर्ने, पछि त्यसले बाधा ल्याए फेरि अर्को दल मिलेर संशोधन गर्ने कुरा राम्रो हुँदैन । छलफल, सहमति र सल्लाह हुनुपर्छ । संशोधन गर्ने भए कति कुरामा गर्ने, त्यसलाई छलफलमा ल्याउनु पर्छ । छलफलले के गर्ने के नगर्ने निष्कर्ष निकाल्छ ।
तपाईंले त संविधानको व्याख्या गर्ने ठाउँको नेतृत्व पनि गर्नुभयो । खास संविधान संशोधन गर्न आवश्यक भएको हो कि ? दलको स्वार्थ देखिएको हो ?
पहिला त के कुरामा आवश्यक परेको छ, मूल कुरा नै लुकाइएको छ । झ्वाँक चल्यो, मेरो बहुमत आएन भनेर संविधान संशोधन गर्ने होइन । अहिले मुलुकको विकास, स्थायित्व, संविधान कार्यान्वयन र आमजनताका समस्या बुझ्ने काम प्राथमिकतामा राख्नु पर्छ । यी कुरालाई प्राथमिकता दिनुपर्ने थियो तर त्यसो भएको देखिँदैन । संविधानको कुन कुराले काम गर्न अवरोध भएको हो ? त्यो पनि प्रष्ट छैन । ०७३ सालबाट बन्न थालेको संविधान लागू भएपछि कार्यान्वयन सरासर हुनुपर्ने हो । मुलुकको आर्थिक र सामाजिक विकास हुनुपर्ने थियो, आमजनतालाई रोजगारीका कुरा हुनुपर्ने, जनताको हैसियत वृद्धि गर्नुपर्ने । यो काम त भएकै छैन । जरुरी त त्यो कुरा थियो । संविधान संशोधन जरुरी होइन । के कुराले अवरोध भएको हो । त्यो प्रष्ट छैन । भोलिपर्सि छलफल होला, त्यो अलग हो । सीमित मान्छेको स्वार्थका लागि संशोधन गराउनु ठिक होइन । मुलुकको हितमा संशोधन गर्ने हो भने ठिकै छ । संविधानका केही मौलिक कुरा असंशोधित हुन्छन् । संरचना जे छ, त्यो परिवर्तन हुँदैन ।
संविधान संशोधनका लागि दलहरूले के गर्दा ठिक होला ?
पहिले कुन कुन कुरामा अवरोध छ भनेर उठाउनुपर्छ । हाउसमा छलफल हुनुपर्छ । मौलिक कुरामा संशोधन गर्ने हो भने त जनताको राय लिनुपर्छ । त्यो अवस्थामा मात्रै संशोधन हुन्छ । कुन विषमा संशोधन हुने हो पोलिटिक पार्टीबारे हो कि ? शासन शैलीमा हो कि के मा हो ? प्रष्ट छैन । संविधानमा कमजोरी भएको छ, छैन भनेर उहाँहरूले छलफल गराउनुपर्छ । त्यसपछि हाउसमा छलफल भएर संशोधनमा जानुपर्छ । अहिले नै ठ्याक्कै भन्न गाह्रो छ । तर दलहरूले खेलाँची गर्न पाउँदैनन् ।
थेस्रोहोल्डका कारण पनि राजनीतिक अस्थिरता आयो । यसलाई परिवर्तन गर्ने । ३ प्रतिशतबाट बढाएर १० पुर्याउने, निर्वाचन प्रणाली पनि फेर्ने भन्छन् नि !
समस्या थेस्रहोल्डमा छैन । मानसिकतामा छ । सरकार नचलेको भनेको, गिरेको, खसेको मानसिकता हो । जो कुर्सीमा आयो त्यो व्यक्ति नै सर्वेसर्वा मै हुँ । मैले भनेको कुरा नै सबैले मान्नुपर्छ । मैले गरेको कुरा हुनुपर्छ, म लामो समय पदमा टिकिरहनुपर्छ, मैले भ्रष्टाचार र अनियमितता गर्न पाउनुपर्छ । मैले अकुत कमाउन सक्नुपर्छ भन्यो भने कसरी शासन चल्छ ? त्यसरी त शासन चल्दैन । अहिले कांग्रेस–एमाले पनि चोखा छैनन् । देशको मै हुँ भन्ने रास्वपा पनि सहकारीमा आमजनताका पैसा लुटमा जोडिएका छन् । यो सरकार हो त ? संविधानले त्यो भनेको छैन । सहकारीबाट सबै पैसा लुट त भनेको छैन नि । भ्रष्टाचार अन्त्य हुनुप-यो । आर्थिक अनियमितता हुन दिनु भएन । जनताले जिताएपछि एक पार्टीले अर्को पार्टीलाई गालीगलौज गरिरहेका छन् । आफ्ना कुरामा तीनथरी एक ठाउँमा बसेर गला मिलाउने भइरहेको छ । त्यो हामीले चाहेको शासन थिएन र भएन । भ्रममा कति टिक्ला र ? जनताले कुरा बुझेका छन् नि । सरकार ढाल्ने र बनाउने खेल खेलेको जनताले हेरेका छैनन त ? निर्वाचन प्रणाली सुधार गर्नु होइन, मति सुधानु प-यो । मति सुधारी देश विकास गरे जनताले ठूलो अपेक्षा राखेका छैनन् । तर मति ठिक भएन ।
संविधानको पालना बिलकुल ठूला मान्छेले नगर्ने अनि परिणाम असल कसरी पाउन सकिन्छ । भ्रष्टाचार, दुराचार, पापाचार हटाएर राम्रोसँग काम गरौँ भने पो एउटा परिणाम आउँछ । संविधान पालना नगरी संशोधन कसरी हुन्छ ?
दलहरूले जनतालाई भ्रममा पारेका हुन ?
देशमा स्थिरता हुन सक्दैन । स्थिरता भएन भनेर भ्रम छरेका हुन् । जबसम्म विधिको शासन र शासनको लोकतान्त्रिक, गणतान्त्रिक शैली र नियमको पालना गरेर हिँडिदैन । रुल र विधि पालना गरिँदैन । तबसम्म सुधार हुँदैन, यसरी त चल्दै चल्दैन । यहाँ त विष्णु भगवान् र ब्रम्हाले संविधान लेखेर दिए पनि चल्दैन । देखिरहनु भएको छ । मुलुकको स्थिति कहाँबाट कहाँ पुगेको छ । कसरी चल्छ देश ? संविधान कागजमा लेखेर मात्रै हुँदैन । पालना गरेर देखाउनुपर्छ । संविधानको पालना बिलकुल ठूला मान्छेले नगर्ने अनि परिणाम असल कसरी पाउन सकिन्छ । भ्रष्टाचार, दुराचार, पापाचार हटाएर राम्रोसँग काम गरौँ भने पो एउटा परिणाम आउँछ । संविधान पालना नगरी संशोधन कसरी हुन्छ ? संशोधन पनि हुनसक्छ । तीन खण्ड जनता, राज्य र अन्तर्राष्ट्रिय कानुनले समर्थन गरेको मान्य हुनुपर्छ । दुई खण्डले गरेको हुनुपर्छ । राज्यका सबै दलको सहमति चाहिन्छ । यहाँ त एउटा दलको नेताले बोलेपछि अरूले मुखमा टेप लगाएर बस्छन् । दुई पार्टीका बलिया नेता बोलेपछि अरू चुप हुने अभ्यास छ । यो बिलकुल गलत छ । दुई नेताको भाषणका आधारमा संशोधन हुँदैन । देशको अहितमा भयो भने जनताले मान्दैनन् ।
दुई ठूला दलले चाहिँ संविधानमै समस्या देखे । यहाँहरू जस्ता विज्ञले केमा समस्या देख्नुभयो ?
यहाँ समस्या भनेको कानुन नमान्ने । गैरआचरण हुने नेताहरूको प्रवृत्ति देखिहाल्नु भयो । पार्टीको टप लिडर र शुद्ध छविका भनिएका नेताको त कर्म त्यस्तो रहेछ । हामीले कमजोरी त्यही देखेका छौँ । आँखा चिम्लेर भ्रष्टाचार गर्ने र आमजनताको पैसा लुटेर बस्ने सबैभन्दा ठूलो गल्ती त्यही हो । विकास बजेट नलगाउने, पैसा भाग लगाएर खाने । हामीले देखेकै त्यही छ नि । भाग नमिले झगडा गर्ने ।
नयाँ संविधान जारी भएको दशक भयो । नागरिकलाई अझै आशावादी देख्न सकिन्छ ?
जो सत्ताको वरिपरि घुमेर खाएर, मोटाएर हरियो भएका छन् । तिनका लागि यो देश स्वर्ग छ । आमजनता जो छन्, उनीहरू कुनै कुराले खुसी र सुखी छैनन् । यो व्यवस्था खराब होइन । तर यसलाई सरकारमा बस्ने मानिसको दुराचारले बदनामा गरे । शाककको गैरआचरणका कारण आमजनतामा पीडा छ । यिनीहरू बाध्य भएर बाँच्नुपर्ने अवस्था छ । आमजनता महंगीको मारमा दुखी छन् । अस्पताल जान आयश्रोत छैन । जनताका छोराछोरीले पढ्नुपर्थ्यो भने सम्भव छैन । विदेश पठाएपछि छोराछोरीलाई राम्रो हुन्छ भन्ने पक्का छैन । उदाहरण देखिरहनुभएको छ । झुन्डिएर मरिरहेका छन् । गरिबले जम्मा गरेको पैसा सहकारीबाट दलकै नाममा लुटेर खानु सानो अपराध हो ? अनि आमजनताका लागि संविधान आयो भनेर हर्ष मान्नुपर्ने कुरै छैन । आमजनतालाई संविधान के हो र संविधानले कति लाभ दिएको छ भन्ने कुराको अनुभूति गराउन सकेका छैनन् दलका नेताले । ०४७ सालमा दुई चार वर्ष केही क्षणिक विकास देखिएको थियो । हुँदाहुँदै भ्रष्टाचार र लुटतन्त्र बढेर गयो ।
गरिबले जम्मा गरेको पैसा सहकारीबाट दलकै नाममा लुटेर खानु सानो अपराध हो ? अनि आमजनताका लागि संविधान आयो भनेर हर्ष मान्नुपर्ने कुरै छैन । आमजनतालाई संविधान के हो र संविधानले कति लाभ दिएको छ भन्ने कुराको अनुभूति गराउन सकेका छैनन् दलका नेताले ।
उसो भए संविधान आएको आभाष भएको छैन जनतालाई ? म कतै सुन्दै सुन्दिनँ । संविधान आएर के महसुस भयो जनतालाई कतै श्वास फेरेको देखिँदैन । कार्यकर्ताले मात्रै श्वास फेरेको देख्छु । जनताले खोई फेरेको ? संविधान आयो, राम्रो भयो भनेर सरकारमा भएका व्यक्तिले उत्सव मनाऊ भनेर हुन्छ ? जनताको मनमा लाग्नु पर्दैन ? कुनै एउटा नेताले राम्रोसँग काम गरे जनता खुसी हुन्छन् । व्यवस्था परिवर्तनपछि संविधान अनुसार राम्रो काम भए पब्लिक त उत्सव मनाउन आउँछ नि । यहाँ स्वःस्फूर्त पब्लिक आएको देख्नु हुन्छ ? लाभान्वित पार्टीका कार्यकर्ताबाहेक कोही आएको छैन । जसले लाभ लिएको छ, व्यवस्थाको गैरकानुनी लाभ लिएका मात्र आएका छन् । खोई जनता आएको ? खोई जनताका दुःख सम्बोधन भएको ? व्यवस्था खराब होइन, व्यक्ति खराब हो ।
यहाँले वितृष्णा त भन्नुभयो ? सुनिएको पनि छ ? यो समस्या समाधान गर्न के गर्नुपर्ला ? के सुझाव दिनुहुन्छ ?
३०, ३५ वर्षसम्म लगातार सरकार र नेतृत्वमा रहनेले अब केही गर्छन् जस्तो मलाई लाग्दैन । यिनीहरूको रिप्लेसमेन्ट हुनुपर्छ । नयाँ मान्छे, गर्न सक्छु भन्नेहरू आउनुपर्छ । अब निर्वाचनमा पुराना दलविरुद्ध नयाँ विचार र इछा भएका व्यक्तिलाई भोट गर्नुपर्छ । जनतालाई दुःख दिने र तर्साउनेलाई जनताले दण्ड–सजाय दिनुपर्छ । यिनीहरूलाई हटाएपछि मात्रै नयाँ र विज्ञ आउँछन् । दलभित्र पनि इमानदार अगाडि आउनुपर्छ । पुराना नेता–कार्यकर्ता पोस्ने विचारले जनतालाई झन् गाह्रो भएको छ । मुलुकको भलो चिताउने प्रवृत्ति आउनुपर्छ । कतिपय मुलुकमा भ्रष्टाचार छ, तर उन्नति पनि भएको छ । अफ्रिका र एसियाका मुलुकमा भ्रष्टाचार देखिएको छ । तर विकास पनि भएको छ । यहाँ त यति सिस्टम र शासन शैली खस्किएर गएको छ, म त दलका नेताहरू हिजो राजाकै शैलीमा गएको देखिरहेकी छु । जे पनि मैले गरेको राम्रो हुने । राज्यको स्रोत र सम्पत्तिबाट काम गरे पनि गोजीबाट लगानी गरेको जस्तै भ्रम छर्ने काम भइरहेको छ ।
संविधानको कार्यान्वनयन नगर्नेलाई जोगाउनु हुँदैन भन्ने सोच्नुपर्छ । सिस्टम ठिक हो, मान्छे ठिक भएनन्, अहिलेकालाई परिवर्तन गरेर, त्यो ठाउँमा गतिला मान्छे ल्याएर तिनीहरूबाट मुलुकको शासन शैली सुदृढ बनाउन भन्ने कुरा जनताले सोच्नुपर्छ
यहाँले भनेको जस्तो नयाँ नेता र पार्टी पनि त नआएका होइनन् नि ?
उनीहरू मात्रै नयाँ होइनन् । अहिले प्रवृत्ति के देखियो भने उहाँहरू जो ३०–३५ वर्षदेखि सत्तामा हालीमुहाली गरेर बस्नु भएको छ । उहाँहरूकै छोराछोरी र सन्तान हाम्रा पछाडि राजाको शैलीमा बस्नु भन्नु हुन्छ । नयाँलाई पनि बदनाम गरेर बाटो रोक्ने काम भएको छ । तर नयाँ पनि चोखो हुन्छन् भन्ने होइन । जनताले पनि अब विचार गरेर भोट गर्नुपर्छ । यसरी चल्दैन, कोही न कोही त आउँछ नि । युवामा जोश छ । २०८४ मा जनताले विकल्प दिन सक्नुपर्छ । जनता सोझा भएर हेपेका हुन् । तर जनता अब शिक्षित भएका छन् । शासन परिवर्तन गर्नुपर्छ । यो कुरा बुझेर जनताले ०८४ मा सही मान्छे चुन्न सक्नुपर्छ ।
शासनमा बस्नेले संविधान कानुन बिर्सिएर जे गरे पनि हुन्छ भन्ने सोच राखे पनि आम जनतामा के चेतना आओस् भने मेरो संविधान हो यसको संरक्षण मैले गर्नुपर्छ । संविधानको कार्यान्वनयन नगर्नेलाई जोगाउनु हुँदैन भन्ने सोच्नुपर्छ । सिस्टम ठिक हो, मान्छे ठिक भएनन्, अहिलेकालाई परिवर्तन गरेर, त्यो ठाउँमा गतिला मान्छे ल्याएर तिनीहरूबाट मुलुकको शासन शैली सुदृढ बनाउन भन्ने कुरा जनताले सोच्नुपर्छ, त्यही कुरा जनताले मान्नुपर्छ ।