देश/प्रदेश

रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

By खबरहब

October 19, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।

लामिछाने शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएकाे थियो ।

पोखरामा हुने विरोध प्रदर्शनको नेतृत्व उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले गर्ने छन् । उनीहरु पोखरा पुगिसकेका छन् ।  

लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा छ ।

आज शनिबार सार्वजनिक बिदा भएकाले लामिछनेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।