समाचार

पुनहिल–घोडेपानीमा पर्यटक बढ्दै 

By खबरहब

October 19, 2024

घोडेपानी – अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार  ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गतवर्षको भन्दा कम  भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । 

उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् । 

पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताए। आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताए। 

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ 

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।