देश/प्रदेश

सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

By खबरहब

October 19, 2024

सिरहा – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए ।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्दै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरिएको बताए । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ ।