ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीज्यूलाई भनेको छु- जोखिम उठाउने समय यही हो

By खबरहब

November 19, 2024

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । सुदूरपश्चिमबाट अध्ययनका लागि काठमाडौं आएका पाण्डेले नेविसंघको राजनीतिसँगै बाल्मिकी विद्यापीठमा संस्कृत शिक्षाको अध्ययन गरे । उनी ज्योतिषका विद्यार्थी हुन् । ५० वर्षको उमेरमा उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बनेका छन् ।

सरल मिजासका नेता पाण्डे ०७९ को चुनावमा बाजुराबाट प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनले नेकपा एमालेका नेता कर्णबहादुर थापालाई चुनाव हराएका थिए । कांग्रेस नेता पाण्डेले ३१ हजार ७८६ मत ल्याउँदा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका थिए ।

आखिर, राजनीति निर्मम हुँदोरहेछ, एमाले अध्यक्ष ओलीका निकट मानिने बाजुराका एमाले नेता कर्णबहादुर थापा यतिबेला संसदमै छैनन्, कांग्रेस सहमहामन्त्री पाण्डेचाहिँ क्याबिनेटमा केपी ओलीसँगै सहकार्य गरिरहेका छन् ।

पहिलोचोटि मन्त्रालय सम्हालेका मन्त्री पाण्डेको विरोधमा यतिबेला कांग्रेसकै सांसद राजेन्द्र बजगाई सडकमै उत्रिएका छन् । उता सांसद बजगाईमाथि कारवाहीको माग गर्दै मन्त्री पाण्डेले आफ्नो पार्टीमा उजुरीसमेत दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी तहमा रहेका मन्त्री पाण्डेलाई हामीले सोध्यौँ– कांग्रेस एमालेजस्ता ठूला पार्टीले सरकार चलाउँदा पनि यो सरकारले किन गति लिन नसकेको ? जवाफमा उनले अब दुई पार्टीले केही जोखिमहरु उठाउनुपर्ने बताए ।

कांग्रेस र एमालेका मन्त्रीमध्ये कसले राम्रो काम गरे भन्नेमा ०८४ को चुनावमा प्रतिपस्पर्धा हुनुपर्ने मन्त्री पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘मैले प्रधानमन्त्रीज्यूलाई व्यक्तिगतरुपमा र औपचारिकरुपमा पनि जोखिम उठाउने समय यही हो भनेको छु । किनकि, दुई ठूला पार्टीले जोखिम उठायौँ भने देशले पनि एउटा दिशाबोध गर्छ । अनि, देशबासीले पनि दुइटै पार्टीप्रति विश्वास गर्न थाल्छन् । विश्वास बढ्छ । भोलि ०८४ को प्रतिस्पर्धा गरौँला, अहिले सहकार्य गरौँ । कसले राम्रो गर्‍यो भनेर प्रतिस्पर्धा हुने गरी तयारी गरौँ ।’

आगामी ०८४ को चुनावलाई ध्यानमा राखेर कांग्रेसको १५ औं महाधिवेशन विधानले तोकेको समयमै सम्पन्न गर्नु उपयुक्त हुने सहमहामन्त्री पाण्डेको भनाइ छ ।

पहिलोचोटि मन्त्रालय सम्हाल्न पुगेका मन्त्री पाण्डेले चार महिनाको अवधिमा पर्यटन मन्त्रालयभित्र के–कस्ता चुनौती र सम्भावना देखेछन् ? प्रस्तुत छ, खबरहबकर्मी अरुण बराल र केशव सावदले गरेको कुराकानी–

तपाई युवा अवस्थामै नेपाली कांग्रेसको पदाधिकारी बन्नुभएको नेता । पहिलोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । तपाईले पहिलोचोटि सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफैंमा एउटा भीमकाय मन्त्रालय हो । यसमा पशुपतिनाथ, लुम्बिनीजस्ता मन्दिरहरुदेखि लिएर नागरिक उड्डयनजस्तो अति प्राविधिक निकाय पनि पर्दछ । र, यो मन्त्रालयलाई शक्तिकेन्द्रहरु एवं बिचौलियाहरुको स्वार्थ टकराव हुने मनलयका रुपमा पनि लिइने गरिन्छ । विगतमा यो पनि भन्ने गरिन्थ्यो कि पर्यटनमन्त्री बिचौलियाले नै बनाउँछन् र बिचौलियाहरुले नै हटाउाछन् पनि । तपाईले मन्त्री बनेको यो चार महिनाको अवधिमा कस्तो अनुभव गर्नुभयो ?

सुरुका महिनाहरुमा धेरै निकायको ब्रिफिङले नै त्यसको अन्तरकुन्तर, त्यसका सम्भावना र जटिलता पहिलाउने काममा म गहिरो गरी लागेँ । मलाई अहिले के आत्मविश्वास छ भने यो मन्त्रालयलाई मैले मन्त्रीका रुपमा बुझ्नपर्नेजति अब बुझिसकेँ । यो आत्मविश्वास ममा छ ।

म अब निकायपिच्छे, कुन निकायमा के भनेर सोध्यो भने यो निकायमा यो भन्ने अवस्थामा छु । त्यहाँ नीतिमा समस्या छ, त्यहाँ कानूनमा समस्या छ । त्यहाँ संरचनामा समस्या छ, त्यहाँ जनशक्तिमा समस्या छ । काम र जनशक्तिको सन्तुलन त्यहाँ मिलाउनुपर्ने छ भन्ने निष्कर्षमा म अहिले पुगेको छु ।

भनेपछि, अबचाहिँ अगाडि बढ्ने बेला भयो ?

अँ । एक, दुई, तीन, कामका परिणामहरू अब निस्किने बिन्दुमा पुगेको छ ।

केही भन्न मिल्छ ? अब कसरी अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ? कानूनी, नीतिगतरुपमा अब मन्त्रालय कसरी चल्छ ? यो चार महिनामा के–के काम भयो ?

जस्तो– संस्कृतिको क्षेत्रमा नीति बनेको छ । त्यसलाई अन्तिम रुप दिनुपर्ने छ । मुख्य कुरा, त्यसलाई संघीयता अनुकूल बनाएका छौँ । वर्तमान संविधान अनुकूल पनि बनाएका छौँ । नेपालको विविधतापूर्ण संस्कृतिको संरक्षण र विकासमा कुन नीतिले काम गर्छ भन्ने खालको नीति बनेको छ । त्यो नीतिमाथि नीति अनुसन्धान प्रतिष्ठानबाट सुझावहरू प्राप्त भएका छन् । राम्रोगरी उहाँहरूले सुझाव दिनुभएको छ । त्यसलाई हामीले समावेश गरेका छौँ । त्यो अहिले मन्त्रिपरिषदमा छ । हामीले फेरि एक चरण राष्ट्रिय योजना आयोगसँग पनि र केही विज्ञहरूसँग पनि छलफल गरेर त्यसलाई अन्तिम रुप दिन्छौँ ।

पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषजस्ता निकायभित्रका विभिन्न जटिलताहरू पहिल्याउने र ती जटिलतालाई यसरी–यसरी समाधान गर्दै जानुपर्छ भन्ने कुरा त्यहाँ भएका पटक–पटकका परिषद् र अन्य बैठकहरूले मलाई एउटा आइडिया दिएको छ । मन–मस्तिष्कमा एउटा मार्गचित्र, खाका बनेको छ । ती कामहरू गर्दै जानुपर्ने छ । कामहरू बग्रेल्ती छन् । ती कामहरूलाई प्राथमिकताको प्राथमिकीकरण गरेर सल्टाउँदै जानुपर्ने अवस्था छ ।

यस्तै, पर्यटन क्षेत्रमा पर्यटन ऐनलाई मन्त्रिपरिषदको विधेयक समितिले पास गरिसकेको अवस्था छ । पर्यटन नीति पनि बन्दै छ । जुन कुरा म मन्त्री बनेर पदबहाल गर्दाको दिनको पहिलो निर्णय थियो ।

पर्यटन नीतिलाई पनि हामीले समय सापेक्ष बनाएका छौँ । नीति संसदमा पुगेर पास गर्ने बेलासम्म समृद्ध र समय सापेक्ष ऐन बन्छ । ऐनले काम गर्दै जाँदा र यसलाई कार्यान्वयनमा लैजाँदै गर्दा पर्यटन क्षेत्रमा परिणामहरू दिन्छ भन्ने लाग्छ ।

यसमा जोडिएका अरु निकायहरू पनि छन् । जस्तो– तारागाउँ विकास समिति, हायात रिजेन्सीसँग केही विवाद छ । त्यसमा अध्ययन गर्न एउटा समिति निर्माण गरेका छौँं ।

पशुपति क्षेत्र विकास कोष र पशुपति गौशाला धर्मशालाका पनि केही समस्याहरू छन् । त्यसमा अदालतबाट पनि केही आदेश आइसकेको छ । त्यसमा अलि तथ्यहरू लिऊँ, साँच्चै पशुपति गौशाला धर्मशाला सेवामा चलिरहेको छ कि व्यापारमा चलिरहेको छ ? सेवामा चलिरहेको छ भने के–के सेवा बढाउनुपर्छ ? व्यापारमा चलिरहेको छ भने व्यापारलाई कसरी नियमन गर्न सकिन्छ ? यसबारेमा एउटा निचोडमा पुग्ने गरी अध्ययन कार्यदलले काम गरिरहेको छ । कार्यदलले प्रतिवेदन बुझाएलगत्तै हामी निर्णयमा पुग्नुपर्ने छ ।

त्यस्ता अरु निकायहरू पनि छन् । जस्तो कि संग्रहालयहरू छन् । हाम्रो पाटनमा रहेको संग्रहालय दक्षिण एशियाकै राम्रो संग्रहालयमध्येमा पर्छ । यी संग्रहालयहरूले आफ्नो इतिहास, आफ्नो विगत, नेपाली हुनुको पहिचान, विशिष्ठतालाई प्रस्तुत गर्ने गर्दछन् । त्यसलाई अझ कसरी व्यवस्थित गर्ने भन्ने विषय छ । नारायणहिटी दरबारमा संग्रहालय छ, यस्ता थुप्रै संग्रहालयहरू हाम्रो मन्त्रालयको मातहतमा छन् ।

प्रतिष्ठानहरूमा हाम्रो सिधा सम्पर्क हुँदैन । ती निकायहरू एक प्रकारले स्वायत्त निकाय हुन् । तर, ती प्रतिष्ठानहरूलाई पनि अझ कसरी सिर्जनशील बनाउने ? नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यलाई कसरी  प्रवर्द्धन गर्छ ? ललितकलाले कसरी ललितकलालाई कसरी  प्रवर्द्धन गर्छ ? संगीत तथा नाट्ट प्रतिष्ठानले कसरी संगीत र नाट्य क्षेत्रलाई  प्रवर्द्धन गर्छ । उनीहरूलाई अझ सुदृढ गर्न के गर्न सकिन्छ भन्ने विषयमा उहाहरूसँग हामी सम्पर्कमै छौँ ।

यस्ता थुप्रै निकायहरू छन् । नेपाल सांस्कृतिक संस्थान छ । त्यसैगरी गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हाम्रो ‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान’ (न्याथम) संस्था छ । यसले इन्ट्रान्स पनि स्वच्छ रुपमा गर्छ । योग्य विद्यार्थी भर्ना लिन्छ र गुणस्तरीय जनशक्ति निकाल्छ । यसमध्येको जनशक्ति आवश्यकता पर्‍यो र चाह्यो भने विदेश पनि जान्छ, स्वदेशमा पनि काम गर्छ । त्यसको इन्टर्नसिप अहिले फ्रान्ससँग छ । इन्टर्नसिपका लागि नेपालका विद्यार्थी फ्रान्स जाने, फ्रान्सका विद्यार्थी नेपाल आउनेसम्मको भएको छ । यसलाई अझै कसरी राम्रो बनाउने भन्ने लगायतका विविधि विषयमा छलफल गरिरहेका छौँ ।

मलाई के लाग्छ भने अब एउटा मन्त्रीका रुपमा यो मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायहरूलाई परिणाम दिने गरी, सकारात्मक गति दिने गरी अब निर्णयमा पुग्दै अगाडि बढ्दै जाने विश्वास पलाएको छ । मैले यो मन्त्रालयका माध्यमबाट राजनीतिप्रतिको मान्छेको विकर्षणलाई आशामा बदल्ने, आशा सञ्चार गर्ने लक्ष लिएको छु ।

पर्यटन क्षेत्रमा कतिपय जटिलताहरु देखिएका छन् । नागरिक उडड्यन क्षेत्रमा केही समस्या छन् । हाम्रो आकाश सुरक्षित छैन भन्ने पनि छ । केही सुरक्षित छ भन्ने पनि छ । भाष्य बढाइचढाइपूर्ण छ । यसलाई सम्बोधन गर्नका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग बनाउने गरी अहिले विधेयक मन्त्रिपरिषदको विधेयक समितिले पास गरिसकेको छ । अब संसद खुल्नासाथै संसदमा जान्छ ।

नागरिक उडड्यनका क्षेत्रमा सिस्टममै पो केही समस्या छ कि ? भनेर एउटा उच्चस्तरीय अध्ययन समिति बनाएका छौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हाले यसको नेतृत्व गरिरहनुभएको छ । यसमा विज्ञहरू पनि हुनुहुन्छ । यसले बढो राम्रो गरी, एकदमै व्यवस्थित ढंगबाट अध्ययन प्रारम्भ गरेको छ । समितिले निचोड निकाल्ने बेलासम्म नेपालको नागरिक उड्डयन क्षेत्र, नेपालको आकाशमात्रै होइन आईकाओका मापदण्डहरू, अरु जुन–जुन देशको आकाश सुरक्षित छ, सेफ्टी–सेक्युरिटीमा जुन–जुन देशहरू सबल छन्, जुन–जुन देशको नागरिक उडड्यन क्षेत्र सबल छ, त्यसका दृष्टान्तहरूलाई पनि तुलनात्मक अध्ययन गरेर उहाँहरूले निकाल्ने निचोडले नेपालको नागरिक उडड्यन क्षेत्रलाई दिशाबोध गर्छ भन्नेमा म विश्वस्त छु । उहाँहरू प्रभावकारी ढंगले अगाडि बढ्नुभएको छ ।

नेपाल एयरलाइन्सभित्र देखिएको जटिलतालाई समाधान गर्ने सन्दर्भमा अहिले जुन व्यवस्थापनबाट हामी गुज्रिरहेका छौँ, यो व्यवस्थापनबाट कठिन छ भन्ने बाहिर भनाइ पनि छ । म पनि त्यो बुझाइमा छु । त्यसैले यसलाई चुस्त र प्रभावकारी बनाउने यसको विकल्प के हुन सक्छ ? हामीसँग एयरक्राफ्ट नै कमी छ । हामीसँग एउटा ट्वीनअटर चालु अवस्थामा छ । दुईवटा न्यारोबडी चालु अवस्थामा छन् । दुईवटा वाइडबडीमध्ये एउटा ‘सी चेक’मा छ, एउटा चालु अवस्थामा छ । ‘सी चेक’ मा रहेको विमान फर्किँदा पनि हामीसँग जम्माजम्मी पाँचवटामात्रै एयरक्राफ्ट सञ्चालनमा छन् ।

यतिमात्रै एयरक्राफ्ट लिएर नेपाल एयरलाइन्सले यस्तो अस्तव्यस्त अवस्थामा विकास गर्छ भन्ने ठान्नु कठिन छ । त्यसैले त्यहाँको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने, एयरक्राफ्ट खरिद गर्नेदेखि लिएर सञ्चालन, व्यवस्थापनसम्म पारदर्शिता स्थापित गर्दै साच्चै नै नेपाल एयरलाइन्सलाई बलियो एयरलाइन्सका रुपमा सञ्चालन गर्ने, जसको सञ्चालनको दबाबमा परेर मनोमानी भाडा लिइरहेका विदेशी एयरलाइन्सहरुलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने र उनीहरूलाई नियमन गर्नका लागि बाध्य पार्ने हाम्रो आफ्नै ध्वजाबाहक बनाउने दिशामा अब यी यी उपायहरू, विकल्पहरू हुन सक्छन् भन्ने कुराको हामी लगभग निचोडमा छौँ ।

यसबारेमा मैले आफूले पनि गहिरो अध्ययन गरेको छु । अरुलाई पनि अध्ययन गर्न लगाएको छु । पुराना अध्ययनहरूको पुनरावलोकन गरिएको छ । ती अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि हामीले हेरेका छौँ । ती निष्कर्षहरू हिजोका दिन किन कार्यान्वयनमा गएनन् ? त्यसका जटिलता, समस्या के थिए भन्ने कुरालाई पनि हामीले हेरेका छौँ । अब ती सबैलाई चिरेर यो बाटो, यसरी जानु पर्ला भन्ने विषयमा हामी लगभग निचोडको संघारमा छौँ ।

त्यसकारण, त्यो पनि सुधार हुने हो भने मैले यो मन्त्रालयमा एकदम ठूलो सपना देखिराखेको छु, एकप्रकारले । किनभने, विविधतापूर्ण संस्कृति छ, नेपाल संस्कृतिका दृष्टिकोणले खुला संग्रहालय हो । नेपालमा विविधितापूर्ण प्रकृति पनि छ । एक प्रकारले सगरमाथादेखि सबैभन्दा होचो कचनकवलसम्म । हिमाल, पहाड, तराई, जंगल, जडिबुडी, जल, सम्पदा सबै कारणले विविधतापूर्ण संस्कृति र विविधितापूर्ण प्रकृतिलाई देशभित्र पनि हेर्नेहरूको ओहोरदोहोर चलिरहन्छ । हामीले वातावरण मात्रै बनाइदिने हो भने मेचीको मान्छे महाकाली र महाकालीको मान्छे मेची पुग्छ । पाथिभराको मान्छे मालिकार्जुन पुग्छ । बडिमालिकाको मान्छे पाथिभरा पुग्छ ।

हामीले वातावरणमात्रै बनाइदिने हो भने देशबाहिरबाट पनि हेर्नेहरूको ताँती लाग्छ । हिँड्ने बाटो राम्रो बनाइदिनुपर्‍यो । उड्ने आकाश सुरक्षित र गतिशील बनाइदिनुपर्‍यो । यति भयो भने यो क्षेत्र वास्तवमै नेपालको जीडीपीमा प्रचुर योगदान गर्न सक्ने र स्वरोजगारी सिर्जना गर्न सक्ने क्षेत्रका रुपमा छ ।

यसमा मैले विशेष गरी पहल गरेको र आश्वस्त पारेको निजी क्षेत्रलाई हो । निजी क्षेत्र उत्साहित छ । म उहाँहरूसँग संवाद गरिरहेको छु । यो संवादबाट निजी क्षेत्र निकै नै उत्साहित छ । उहाँहरूलाई मैले भनेको छु कि हाम्रो मन्त्रालयको आँखाबाट हेर्दा अगाडि–अगाडि निजी क्षेत्र, पछाडि–पछाडि मन्त्रालय । अगाडि–अगाडि निजी क्षेत्र, पछाडि–पछाडि सरकार भयो भनेमात्रै हामी सफलतामा पुग्छौँ ।

एउटा राम्रो होटल निजी क्षेत्रले स्थापना गर्न सक्छ । राम्रो र स्वस्थ्यकर खाना निजी क्षेत्रले खुवाउन सक्छ । एउटा राम्रो सुपथ मूल्यको प्लेन अथवा हेलिकप्टर निजी क्षेत्रले उडाउन सक्छ । सुविधासम्पन्न गाडीमा काठमाडौं–पोखरा निजी क्षेत्रले गरिदिनसक्छ । मैले निजी क्षेत्रलाई तपाईंहरु अगाडि लागिदिनुस् भनेको छु, उहाँहरू निकै नै उत्साहित हुनुहुन्छ, संस्थागत रुपमा पनि, व्यक्तिगत रुपमा पनि ।

हवाई सेवा सञ्चालकहरुले हवाई भाडा अत्यधिक बढाएको, नेपाली श्रमिकहरुले आफ्नो गन्तव्य मुलुकमा आवत–जावत नै गर्न नपाएको भन्नेजस्ता समस्या सुनिएका छन् । तपाईको मन्त्रालयले खोई त यसमा नियमन गर्न सकेको ?

यस्तो समस्या सुन्नेवित्तिकै मैले श्रममन्त्री र परराष्ट्रमन्त्रीसँग बसेर छलफल गरें । हामी तीनैजना मन्त्रीहरु बसेर यसबारे छलफल ग¥यौं । साथै नागरिक उड्डयनका अधिकारीहरु र वैदेशिक रोजगार व्यवसायीसमेतलाई बोलाएर यसबारे छलफल भयो । हवाई सेवा सञ्चालकहरुले मनोमानी भाडा बढाएको विषयमा कसरी रोक्न सकिएला भन्नेबारे छलफल भयो ।

आवश्यक पर्‍यो भने परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित देशको हवाई कम्पनीको विषयमा कुरा गर्ने विकल्पमा पनि छलफल भयो । र, अन्य विकल्पहरुका विषययमा अन्तरमन्त्रालय छलफल भयो । त्यससँगै पाँचबुँदे निर्णय पनि भयो । त्यसयता समस्या केही रुपमा समाधान भएको छ । मैले यस विषयमा निरन्तर अनुगमन पनि गरिरहेको छु ।

व्यवसायीहरुको भनाइ नोभेम्बर अन्तिमसम्मका टिकटहरु अग्रिम बुकिङ भइसकेका र यो समय भनेको भाडा बढ्ने सिजननै हो भन्ने थियो । क्यानको भनाइ अर्को वर्ष पर्यटक आउने सिजनमा एयरपोर्टको ट्याक्सी वे बनिसक्ने भएकाले २५ प्रतिशत उडान क्षमता बढ्ने हुँदा यसपटकको जस्तो समस्या आउँदैन भन्ने छ ।

हेर्नुहोस् पाँच बुँदे निर्णय-

भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल अब जे–जस्तो भए पनि बनिसकेका छन् । त्यसको घाटा पूर्ताल गर्न र पूर्ण सञ्चालनमा ल्याउन के पहल गरिरहनुभएको छ ?

हामी आएपछि बडो मेहनत गरेर मन्त्रिपरिषदबाट कार्ययोजना पारित गर्‍यौँ । आगामी ०८३ सालको भदौ अर्थात दुई वर्षका लागि हामीले सहुलियतहरू घोषणा गरेका छौँ । हामीले हवाई इन्धनमा सहुलियत दिएका छौँ । टिकटमा लाग्ने भ्याटमा सहुलियत अर्थ मन्त्रालयले निर्णय गर्न बाँकी छ । प्रक्रियामा छ । क्यानले लिने शुल्कमा सहुलियत दिएकमा छौं ।

यसैगरी श्रमिकहरू त्यहाँबाट उड्नु पर्‍यो । श्रम कार्यालय स्थापना गर्ने कुरा । क्वारेन्टाइन स्थापना गरिदिने कुरा । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आइरहनु नपर्ने, उतै गरिदिने कुरा । त्यसैगरी भिसा सेन्टर स्थापना गरिदिने कुरा लगायत हाम्रो मन्त्रालय मात्रै नभएर अन्तरसम्बन्धित मन्त्रालयहरू र ती मन्त्रालयका निकायहरूले काम गर्ने गरी हामीले प्रारम्भ गरेका हौँ ।

अहिले भैरहवामा त्यसका सकारात्मक संकेतहरू देखिन थालेका छन् । यतिखेर मेरो ध्यान के छ भने ५ वटा एयरलाइन्सहरू त गइसके । त्यसमा थप गरेर १० वटा एयरलाइन्स कसरी बनाउने ? अहिले ५ वटा त गए तर, सधैंलाई दिगो कसरी बनाउने भन्नेमा अब हामीले ध्यान दिनुपर्ने छ । यस विषयमा म चाँडै नै भैरहवा जाने, उद्योग वाणिज्य संघ क्षेत्रका मान्छेहरूसँग भेटघाट गर्ने, पर्यटन व्यवसायीसँग भेटघाट गर्ने तयारीमा छु ।

राज्यले त सहुलियत गर्‍यो, अब तपाईंहरू (निजी क्षेत्र) ले यहाँबाट उड्ने मान्छेलाई के सहुलियत दिनुहुन्छ ? होटलमा सहुलियत दिनुहुन्छ ? यातायातमा सहुलियत दिनुहुन्छ ? उहाँहरूलाई गर्ने स्वागत सत्कारमा तपाईंहरूले छुट्टै हार्दिकता देखाउनुहुन्छ ? कम्तिमा मिठो मुस्कान र मिठो बचन बोल्नुहुन्छ ? यसलाई दिगो बनाउन र विस्तार गर्नका लागि के–के गर्नुहुन्छ ? तपाईंहरूसँग के–के उपाय छ ? के–के कार्यक्रम छ ? भनेर कार्यक्रम राख्दैछौँ ।

सुन्दा भावनात्मक जस्तो, तर उत्साह जगाउने गरी यस्तै कार्यक्रम हामी पोखरामा पनि गर्न चाहन्छौँ । पोखरामा तत्काल हाम्रो सोच के छ भने हिमालयन एयरलाइन्सले कम्तिमा हप्तामा एउटामात्रै भए पनि पोखराबाट चीनतिरै कुनै सहरमा उडान राखोस् । नेपाल एयरलाइन्सले आफ्नो विदेशमा धेरैवटा सेक्टरहरू मध्येबाट कुनै एउटा सेक्टरबाट घटाएर भए पनि पोखराबाट त्यो सेक्टरमा उडाइदेओस् ।

हाम्रा दुई एयरलाइन्सले पोखराबाट उडान सुरु गरे भने न्यारोबडी फूललोडमा उड्दैन रे भन्ने जुन प्राविधिक आशंका छ, त्यो पनि निवारण हुन्छ । अनि अरु एयरलाइन्सलाई पनि पोखराबाट उड्ने वातावरण बन्छ ।

पोखराका पर्यटन व्यवसायीसँग यसबीचमा दुईपल्ट छलफल गर्ने अवसर मिल्यो । विषयगत समितिको बैठक पनि मैले त्यहाँ राखेँ । विषयगत समितिको बैठक पोखरामै राखौँ भनेर पहिलो बैठक त्यहीँ नै राखियो । उहाँहरू बढी नै सक्रिय देख्छु मैले । उहाँहरू पर्यटन क्षेत्रमा जानकार र विज्ञजस्तो देख्छु । पोखराका व्यवसायीबीच आपसमा समन्वय पनि देख्छु । पोखराका व्यवसायीहरू हामीले गरेको पहलमा सक्रियरुपमा साथ र सहयोग दिन आउनु हुन्छ भन्ने लाग्छ ।

भर्खरै पनि चीनको कुन्मिङबाट पोखरामा सिधा फ्लाइटमार्फत चाइनिजहरू आउनुभयो । राजदूत पनि जानुभएको थियो । म पनि गएको थिएँ । मैले चीनका राजदूतलाई त्योबेला तपाईं फ्लाइट गरिदिनुस् भनेर भनेको हो । उहाँले भन्नुभयो– प्यासेन्जर छैनन्, फ्लाइट कसरी हुन्छ ? एयरलाइन्सले मान्दैनन् । मैले उहाँलाई भनें– पहिले फ्लाइट भयो भने प्यासेन्जर गोलबद्ध हुन्छन् । फ्लाइट नै छैन भने प्यासेन्जरहरू गोलबद्ध हुनुभन्दा पनि तितरबितर हुन्छन् । त्यसो भएपछि उहाँ (राजदूत) ले म कुरा गर्छु भन्नुभएको छ । पहिले सेवा स्थापना गरौँ भनें मैले राजदूतलाई । अनि सेवाग्राही आउँछन् । सेवा नभए सेवाग्राही कुरेर त बस्दैनन् । चाइनिज राजदूतलाई मैले एकप्रकारले आग्रह गरेको छु । मेरो कुरामा उहाँले सहमति जनाउनुभएको छ भन्ने अनुभूति भएको छ । त्यसैले उहाँहरूका तर्फबाट प्रयत्न होला ।

इन्डिया गएका बेला पनि मैले गुजरातका मुख्यमन्त्रीसँग र दिल्लीमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू दुवैजनासँग पनि मैले पोखरा एयरपोर्ट चलाउने सम्बन्धमा कुरा गरें । विशेष गरी गुजरातका मुख्यमन्त्रीसँग । स्वामी नारायण सम्प्रदायका मानिसहरू मुक्तिनाथलाई कुलदेवताकै रुपमा मान्छन् । गुजरातबाट सिधा पोखरा फ्लाइट हुने हो भने पोखराबाट डोमेस्टिकबाट सीधा मुस्ताङ जहाजमा जाने । अथवा, त्यहाँबाट गाडीमा जाने हो भने पनि लगभग चार घण्टामा पुगिन्छ । यतातिर पनि हामी जाऔं न भनेर मैले आफ्नो तहमा छलफल चलाइराखेको छु । छलफलमा मान्छेहरू आशावादी पनि छन्, तरंगित पनि छन् । थप चिन्तन मनन गरिरहेका छन् भन्ने लाग्छ । भैरहवामा भएको आशाको सञ्चार अरु क्षेत्रमा पनि होला भन्ने मलाई लाग्छ ।

मन्त्रालयमा काम गर्न गाह्रो रहेछ भन्ने अभिव्यक्ति तपाईंले नेपाली कांग्रेसको बैठकमा दिनुभएको भन्ने कुरो बाहिरिएको थियो । त्योबारेमा के हो ?

हाम्रो शासकीय ढाँचामा कठिनाइ छ । त्यसलाई चिरेर अगाडि बढ्नु पर्छ र बढ्न सकिन्छ भन्नेमा अहिले ममा आत्मविश्वास बढेको छ । समस्या छ । हाम्रो मन्त्रालयमा मात्रै होइन कि शासकीय संरचनाहरू सबै ठाउँमा समस्या छ । भर्टिकल तीन तहका सरकारको कुरा गर्नुस् कि होरिजेन्टल्ली निकायहरूको कुरा गर्नुस्, कहीँ न कहीँ शासकीय समस्या छ । सुशासनमा समस्या छ ।

सुशासनलाई प्रत्याभूति गर्न भनेरै, राजनीतिक स्थिरता, सुशासनको प्रत्याभूति, प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारमा न्यूनीकरण गर्ने भनेरै यो (कांग्रेस–एमाले) गठबन्धन बनेको हो । गठबन्धन साधारण परिस्थितिमा बनेको होइन । दुई ठूला दल सँगै मिलेर एउटा गठबन्धन बनाउनु असाधारण परिस्थिति हो । त्यसैले हाम्रो योग्यतामा, हाम्रो इमानमा, हाम्रो प्रयत्नमा र हाम्रो तदारुकतामा पनि हामीले असाधारण भूमिका देखाउनुपर्छ । असाधारण भूमिका देखाउँदै जाँदा हामी प्रतिफल पनि त्यहीअनुसार प्राप्त गर्छौँ भन्ने मलाई लाग्छ ।

तपाईं नेपाली कांग्रेसको सहमहामन्त्री पनि हुनुहुन्छ । कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर चलाउँदा पनि यो सरकारले राम्रोसँग गति लिन सकेको छैन भन्ने म्यासेज छ नि बाहिर ?

यसबारे पार्टीहरूमा पनि गम्भीरतापूर्वक छलफल हुनुपर्छ । हामी क्याबिनेटमा पटक–पटक छलफल गर्ने गर्छौँ । प्रधानमन्त्रीज्यूले एक प्रकारले हामीलाई फ्लोर ओपन नै राख्नुहुन्छ । गएका एजेन्डामा मात्रै आधारित भएर हामीले बोलिरहनु पर्दैन । हामीलाई फ्लोर ओपन नै हुन्छ ।

मैले त पटक–पटक प्रधानमन्त्रीज्यूलाई व्यक्तिगत रुपमा र औपचारिक रुपमा पनि जोखिम उठाउने समय यही हो भनेको छु । किनकि, दुई ठूला पार्टीले जोखिम उठायौँ भने देशले पनि एउटा दिशाबोध गर्छ । अनि, देशबासीले पनि दुइटै पार्टीप्रति विश्वास गर्न थाल्छन् । विश्वास बढ्छ ।

भोलि ०८४ को प्रतिस्पर्धा गरौँला, अहिले सहकार्य गरौँ । राजनीतिक स्थिरताका लागि, सुशासनका लागि सहकार्य गरौँ । अनि ०८४ मा प्रतिस्पर्धा गरौँ । ०८४ को प्रतिस्पर्धा बरु कसरी गर्ने, पूर्वतयारी गरौँ । कसले राम्रो गर्‍यो भनेर प्रतिस्पर्धा हुने गरी तयारी गरौँ ।

कांग्रेसको वडाध्यक्ष जितेकाले राम्रो गर्‍यो कि, एमालेको वडाध्यक्षले राम्रो गर्‍यो ? कांग्रेसको मन्त्रीले राम्रो गर्‍यो कि एमालेको मन्त्रीले राम्रो गर्‍यो ? त्यो प्रतिस्पर्धा ०८४ मा कसले राम्रो गर्‍यो भन्नेमा गरौँला । अहिलेचाँहि सहकार्य गरौँ ।

कांग्रेस र एमाले भन्ने जुन द्वन्द्व छ, कांग्रेसका कर्मचारी, एमालेका कर्मचारी, कांग्रेसका मजदुर, एमालेका मजदुर, कांग्रेसका शिक्षक, एमालेका शिक्षक, कांग्रेसको मन्त्री, एमालेको मन्त्री यो नगरौँ अहिले ।

अहिले राजनीतिक स्थिरता र सुशासनका लागि असाधारण परिस्थितिमा बनेको गठबन्धन हो । यो गठबन्धनका हामी साझा यात्री हौं । हामीले यसलाई गन्तव्यमा पुर्‍याउनुपर्छ भन्ने ढंगबाट सहकार्य गरौँ । सहकार्य र प्रतिस्पर्धाको एउटा सीमांकन गरेर सहकार्य गर्ने विषयमा सहकार्य गरौँ, प्रतिस्पर्धा गर्ने विषयमा प्रतिस्पर्धाको मनोविज्ञानमा अगाडि बढौँ ।

यो भनेको चाहिँ एमालेले भन्दा मैले राम्रो गरेँ, एमालेको मन्त्रीभन्दा मैले राम्रो गरेँ भन्ने देखाउने गरी डेलिभरी गरौँ भन्ने कुरा मैले औपचारिक, अनौपचारिक फोरममा भनेको छु । मेरो अन्तरआत्माको आवाज पनि यही हो । यही अन्तरआत्माको आवाजबाट निर्देशित भएर मैले काम गरिरहेको छु ।

तपाईंहरूले सरकार सञ्चालनका लागि भनेर राजनीतिक संयन्त्र पनि बनाउनुभयो । केन्द्रदेखि जिल्ला तहसम्मै बनाउने भन्नुभएको छ । प्रधनमन्त्रीले त ०७४ सालमा सरकार राजनीतकि संयन्त्रले चल्ने होइन, सरकारको आफ्नै संयन्त्र हुन्छ भन्नुभएको थियो । फेरि यस्तो राजनीतिक संयन्त्र किन ? यसले पार्टी र सरकारबीच द्वन्द्व बढ्दैन ?

मलाई लाग्छ, त्यो ढंगले संयन्त्र जाँदैन । संयन्त्रले एउटा नीतिगत गाइडलाइन दिन्छ । बाँकी गर्ने काम चाहिँ संसदमा बसेकाले संसदमा गर्नुहुन्छ । सरकारमा बसेकाले सरकारमा गर्नुहुन्छ ।

राजनीतिक संयन्त्र दुई दलका बीचमा हुन सक्ने सम्भावित अस्वस्थ्य प्रतिस्पर्धालाई म्यानेज गर्न बनाइएको हो । यसले आपसी असमझदारीलाई म्यानेज गर्ने काम गर्नुपर्छ । मुख्य नीतिगत गाइडलाइन दिने काम संयन्त्रहरूले गर्नुपर्छ ।

यसमा समन्वय त गर्नै पर्‍यो । सरकारले गर्ने काम सरकारले गर्ने, संयन्त्रले गर्ने काम संयन्त्रले गर्ने । यसको एउटा सीमांकन, सन्तुलन होस् । सरकारमा बसेकाहरूलाई पार्टीको संयन्त्रको शिकार भएँ भन्ने महसुस नहोस् ।

भनेपछि, राजनीतिक संयन्त्रले अब सरकारलाई गति दिन्छ भन्ने हो ?

टेवा नै पुग्छ भन्ने लाग्छ । किनकि मन्त्री एक्लैले भन्दा मलाई मेरो पार्टीको नीतिगत सुझाव प्राप्त भयो भने गठबन्धन दलहरूको नीतिगत सुझाव प्राप्त भएदेखि के राम्रो, के नराम्रो भन्ने कुरा मलाई निर्क्योल गर्न कठिनाइ भयो भने उहाँहरूले सल्लाह सुझाव दिए राम्रो । मैले गरेको काममा कसैले अनर्गल प्रचार गर्‍यो भने त्यसको बचाउ गर्ने काम दलले र गठबन्धनले गरिदिएदेखि मन्त्रीहरू, प्रधानमन्त्री सबैलाई ढाडसै पुग्छ ।

तपाईं त्यसो भन्नुहुन्छ, तपाईंकै दलका एकजना सांसदले सार्वजनिक रुपमै तपाईंको विरोध गरिरहनुभएको छ । आफ्नो पार्टीबाट तपाईले कत्तिको साथ पाइरहनुभएको छ ?

मैले पार्टीबाट प्रचुर सहयोग पाएको छु । नेताहरूबाट कुनै अवरोध छैन । अब, एकाध मान्छेले कारणविशेषले जुन किसिमले अराजकता देखाउँछन् त्यस्तो बेलाबेलामा सम्पूर्ण चाँदीको घेरामा कालो बादल भनेजस्तो त्यो आउँछ । त्यसले केही फरक पार्दैन । मसँग पार्टी छ नि ।

म स्वयम् नेपाली कांग्रेस पार्टीको पदाधिकारी हुँ । देशैभर मेरा शुभचिन्तक साथीहरू हुनुहुन्छ । यतिको उमेरसम्म, लामो संघर्षसम्म मलाई चिन्ने मान्छेहरू हुनुहुन्छ । उहाँहरूको ढाडस, उहाँहरूको आश्वासन, उहाँहरूको उत्प्रेरणा मेरो शक्ति हो । त्यही शक्तिलाई लिएर अगाडि बढ्ने हो । अब त्यस्तो अराजक र अनुशासनहीन ढंगले प्रस्तुत हुने व्यक्तिलाई के गर्ने भन्ने कुरा त पार्टीले निर्णय गर्ला । त्यसैले मैले पार्टीलाई निवेदन पनि दिएको छु औपचारिक रुपमा । पार्टीप्रति मेरो विश्वास छ ।

तपाईं पहिलो पटक मन्त्री बन्नुभएको छ । एउटा सादगी नेताका रुपमा चिनिनुहुन्छ । युवावस्थामै पुरानो र ठूलो पार्टीको पदाधिकारी पनि हुनुहुन्छ । मन्त्रालयबाट निस्कँदा भ्रष्टाचारबाट बिटुलिने खतरा कत्तिको देख्नुहुन्छ ?

अरु–अरुले मलाई भन्छन्, तर्साउँछन् । यो मन्त्रालय बडो अप्ठ्यारो, गाह्रो ठाउँ हो भन्छन् । मचाहिँ यो मन्त्रालयबाट पनि जस्ताको त्यस्तै सफेद भएर निस्किन्छु भन्ने मेरो भित्रैदेखि दह्रो मनोबल छ । मैले कुनै कुराको आशक्ति राखिनँ भने मलाई मेरो स्वच्छतामाथि धावा बोल्न, कालो मसी छर्किन कोही आउँला र अनि म कलंकित भएर निस्किनु पर्ला भन्ने आशंका र त्रासबाट मुक्त छु । किनकि म स्पष्ट छु कि राजनीतिमा जस्तो आएको थिएँ, जस्तो हुर्किएको थिएँ, मन्त्री हुँदा पनि यो मान्छे त्यति नै सफेद रहन सक्यो भन्ने नजिर स्थापना गर्न चाहन्छु ।

कांग्रेसका नेताहरूको अचेल जिल्लातिर दौडधुप बढेको देखिन्छ । नेताहरूलाई १५ औँ महाधिवेशन लागिसकेको हो ?

महाधिवेशन लाग्नु पर्छ । पार्टीभित्रको आन्तरिक राजनीति, आन्तरिक गति अगाडि बढ्नै पर्छ । अझ कतिपय कुराहरूमा ढिला भएको छ । क्रियाशील सदस्यता नवीकरण र वितरण समयमै गर्ने, विभागहरू आफ्नो ढंगले क्रियाशील हुने, पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सक्रिय हुने र पार्टीका कार्यकर्ताहरूलाई वैचारिक, सैद्धान्तिक प्रशिक्षण दिने कामहरु छन् । हामी सरकारमा छौँ, स्थानीयदेखि केन्द्रसम्म सरकारको भूमिकाका बारेमा नजिकबाट नियाल्ने, छलफल गर्ने, तथ्य–तथ्यांकमा आधारित भएर सरकारमा भएका मान्छेको आलोचना गर्ने अथवा सरकारमा भएका मान्छेहरूलाई सही सुझाव दिने काम गर्नका लागि पार्टी चलायमान हुनैपर्छ ।

पार्टी चलायमान हुने एउटा महत्वपूर्ण माध्यम, मौसम भनेको महाधिवेशन हो । पार्टी महाधिवेशनतिर उन्मुख भयो भनेर सुन्नुपर्दा अथवा भइरहँदा पार्टीमा गतिशीलता थपिएको र पार्टीमा पुनर्ताजगीको लहर सञ्चार हुनु राम्रो कुरा हो ।

भनेपछि विधानले तोकेकै समयभित्र कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न हुन्छ ?

अहिले म सरकारको भूमिकामा भएकाले पदाधिकारी भए पनि पार्टीको भूमिकामा केही न्यूनता आएको छ । सभापति, उपसभापतिहरू, महामन्त्रीहरू सिधा सरकारमा हुनुहुन्न । सरकारमा नभएको हुनाले पार्टीलाई गतिशील बनाउन खोज्दै हुनुहुन्छ ।

समयमै महाधिवेशन भयो भने किन पनि सजिलो हुन्छ भने ०८४ को निर्वाचनभन्दा अगाडि त्यो निर्वाचनको तयारीका लागि नयाँ कार्यसमितिले समय प्राप्त गर्छ । ०८४ को निर्वाचनको सम्मुखमै पुगेर हामीले पार्टीको महाधिवेशन गर्दा तीनवटै तहको चुनावको तयारी गर्न गाह्रो हुन्छ । त्यसकारण जतिसक्दो समयमै महाधिवेशन भयो भने ०८४ को निर्वाचनलाई पनि सफल बनाउनका लागि योगदान पुग्छ । समयमै महाधिवेशन गर्ने तयारी हामीभन्दा माथिल्लो तहका पदाधिकारीले गर्नुभएको छ भने निकै सकारात्मक कुरा हो । त्यो गर्नुपर्छ ।