काठमाडौं- रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धरत युक्रेनलाई उक्साएको आरोप लगाएको छ ।
अमेरिकाले रुसभित्र आक्रमण गर्न युक्रेनलाई लामो दूरीको सुपरसोनिक मिसाइल उपलब्ध गराउने तयारी गरिरहेको खबर आइरहेका बेला क्रेमलिनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।
युक्रेनले रुसभित्र लामो दूरीको मिसाइल आक्रमण गरेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।
राष्ट्रपति बाइडेनले युक्रेनलाई रुसभित्र आक्रमण गर्न लामो दूरीको सुपरसोनिक मिसाइल अर्थात् ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमति दिइसकेका छन् ।
समाचार अनुसार युक्रेनले यसअघि पनि एटीएसीएमएसको प्रयोग गर्दै आएको थियो। तर यो मिसाइलको प्रयोग सीमा क्षेत्रभित्र आत्मरक्षका लागि सीमित थियो । तर अब अमेरिकाले रुसभित्र पनि आक्रमणका लागि ट्याक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न स्वीकृति दिएको छ । यसले रुस–युक्रेन युद्धमा व्यापक प्रभाव पार्न सक्ने विज्ञहरू बताउँछन् ।
एटीएसीएमएस सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ ।
लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर सावित हुन सक्छ । वास्तवमा यो मिसाइलबाट युक्रेनले रुसको सैन्य अड्डालाई निशाना बनाउन सक्ने छ।
अमेरिकाको यो निर्णयप्रति रुसले कडा असन्तुष्टि जनाएको छ । रुसी सरकारले जाने बेलामा अमेरिकाको बाइडेन सरकारले युद्ध भड्काउन खोज्नु स्वभाविक भएको बताएको छ ।
रुसी सरकारले भनेको छ, ‘राष्ट्रपति पुटिनले सेप्टेम्बरमै रुसविरुद्ध मिसाइलको प्रयोगले रुस र नाटोबीच युद्ध हुने स्पष्ट पारेका थिए । युक्रेनले लामो दूरीको मिसाइल प्रयोग गर्नुको अर्थ अमेरिका यस युद्धमा प्रत्यक्ष संलग्न भएको हो । यसपछि हामी आवश्यक र कडा कदम चाल्नेछौँ ।’
रुसले युक्रेनी मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर आएका बेला अमेरिकाले युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएको हो ।