काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउने तयारी भएको छ ।
सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।
सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताए ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।
त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । जसमा ओलीको नाममै त्रुटि रहेको भेटिएको छ । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले पक्राउ गरेको हो ।
प्रसाईंलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदैछ । प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।