काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सुरुवातमै झट्का ब्योहरेर पनि जेम्स निसमले विस्फोटक ब्याटिङसहित आशा जगाएका थिए ।
लगातार विकेट गएको अवस्थामा निशमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरको स्कोर अघि बढेको थियो । तर उनलाई कर्णालीका १६ वर्षीय बलर विपिन शर्माले आउट गराए ।
निशम आउट भएपछि लगत्तै मोहम्मद मोहसिन पनि आउट भए ।
जनकपुरले सुरुवातीमै ओपनरद्वय सुवास कंशाकार र आशिफ शेखलाई सस्तैमा गुमाएको थियो । तेस्रो क्रमका लिहारू मिलान्थालाई पनि जनकपुरले ९ बलमा २ रन बनाएको अवस्थामा गुमाएको थियो । यी तीनै ब्याटरले दुई अंकको रन जोड्न सकेनन् ।
त्यसपछि आकाश त्रिपाठी १३ र हर्ष ठाकर १७ रनमा आउट भए । मोहम्मद मोहसिनले १ रन मात्रै बनाए ।
यसअघि पहिलो विकेटमा रुपमा मैदानबाट बाहिरिए सुवासले ६ बलमा ३ रन बनाए ।
उनी विपिन खत्रीको बलमा कर्णालीका कप्तान सोमपाल कामीमार्फत क्याच आउट भए । लिहारूलाई विलियम बिसिस्टोले नन्दन यादवबाट क्याच आउट गराए ।
दोस्रो विकेटका रुपमा बाहिरिएका जनकपुरका कप्तान आशिफले ६ बलमा ४ रन जोडे । उनी सोमपाल कामीको बलमा नन्दन यादवमार्फत् क्याच आउट भएका हुन् ।
लगातार विकेट गए पनि खेल जनकपुरकै हातमा छ । ताजा अवस्थामा उसले १७ ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाइसकेको छ ।
कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११९ रनको लक्ष्य पाएको छ ।