सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयले व्यापक चर्चा पाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा चिनिया कम्युनिष्ट पार्टीमा नेतृत्वको विरोध हुने नगरेको उदाहरण दिएर एमालेमा आफ्नो हैकमवाद प्रबल रहेको सन्देश दिएका छन् । ओली नेतृत्वको सरकारमा न विधिको पक्षमा, न आक्रामक विकास, न राज्यको सामर्थ्य बुझेर दीर्घकालीन सोचअनुसार अघि बढ्ने इच्छाशक्ति नै देखिएको छ । के एमालेमा अब नीतिभन्दा माथि व्यक्तिको बाहुल्य स्थापित भएको हो ? यो छाँटले ०८४ को चुनावमा एमालेको अवस्था के होला ? कांग्रेससंगको सत्ता यात्रा उसका लागि कति फलिफाप होला ? कहाँ पुग्यो कम्युनिष्ट एकताको अभियान ? यिनै विविध विषयमा जोडिएर नेकपा एमाले नेता लालबाबु पण्डितसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
एमाले जस्तो जीवन्त पार्टीमा सैद्धान्तिक र नेतृत्वको बहस स्वाभाविक हो भनेर नेताहरूले भन्ने गर्नुभएको छ । तर भुसको आगो भएर त्यहाँ भित्र गुटगत राजनीति त गज्जबले पाकिरहेको छ भन्ने बाहिर टीकाटिप्पणी सुनिन्छ । तपाईँको दृष्टिकोण के छ ?
एमाले पार्टी देशको सबभन्दा ठूलो पार्टी हो । अहिले सरकारमा प्रमुख साझेदारको रूपमा रहेको छ । अब सरकारमा रहँदा र जनताको बीचमा काम गर्ने सन्दर्भमा ठिक, बेठिक हरेक पार्टी पङ्क्तिभित्र जनता बीचमा छलफल हुनु , आफ्नो राय राख्नु र सुझाव दिनुलाई अन्यथा बुझ्नु भएन । सबैको एउटै राय भए, देशको सबै जनताको एकै खालको विचार भए र हरेक घटनामा एकमत भए, समस्या नभए त समाधानको खोजी गर्ने उपायको आवश्यकता नै पर्दैन ।
जसरी हामी शरीर सफा राख्न नुहाई धुवाइ गर्छौँ, त्यसरी नै पार्टीभित्र, देशभित्र पनि यो लोकतान्त्रिक प्रक्रियामा चाहिँ छलफल हुनु , आफ्ना मत अभिमत राख्नु र ठिक बेठिक भन्न पाउनु गणतान्त्रिक अभ्यास हो । त्यस कारणले यसलाई गलत रूपमा बुझ्नु , नकारात्मक रूपमा बुझ्नु र यसले बिगार्छ मात्रै भन्ने हो भने यो बुझाइ नै गलत हुन्छ । प्रक्रिया अनुरूप निर्णय हुन्छ । विधि र प्रक्रियासम्मत रूपले सरकार चल्नु पर्छ । पार्टी पनि त्यसै गरी चल्छ ।
अहिले उठेको प्रश्न त सरकार र पार्टी नै विधिले चलेन भन्ने हो नि ?
नेपालमा लुच्छाचुँडी र नकारात्मक दृष्टिकोण बढी छ । कर्तव्य पूरा गर्नेभन्दा पनि अधिकार प्राप्तिको लागि जोड बल गर्ने र त्यसमा पनि अझै निजी स्वार्थसँग कतिपय कुरा जोडेर हेर्ने, पूरा गर्न खोज्ने कुराले अलिकति स्थान लिएकोले कतिपय बेलामा असन्तुष्टि, आक्रोश, असहमति र अझै भन्ने हो भने प्रतिकार गर्ने किसिमका धम्कीपूर्ण विचारहरू पनि आउने गरेका छन् । त्यसकारण यो पहाड हो, यसले सबै कुरा अवरोध गरेको छ भन्ने बुझाइ पनि गलत हो । त्यसैले समस्यासँग जुध्दै समाधान गर्दै अगाडि बढ्नु पर्छ ।
तपाईँहरू जस्तो अलिकति पाको राजनीतिक पुस्ताले होइन, एउटा माघले जाडो जाँदैन भनेर धैर्य राख्नुहुन्छ । तर अर्को पुस्ताले त्यो मान्दैन भन्ने हेक्का कतिको राख्नुभएको छ ?
हामीले सर्प देख्यौँ भने तर्सिन्छौँ । एक घण्टा अगाडि सर्प देखिएको त्यही ठाउँमा खोज्न जाने हो भने त्यो त्यहीँ रहँदैन । स्थान परिवर्तन गर्छ । परिवर्तन भइरहन्छ । राजनीतिका आधारभूत विषय पनि त्यस्तै हुन् । यसलाई सकेसम्म आफ्नो पक्षमा पार्न खोज्नु पर्छ ।
२०१५ सालमा त्यत्रो मत लिएर कांग्रेसले पहिलो आम निर्वाचनमा जितेपछि त्यसको धार त परिवर्तन भएकै थियो । त्यसकारण देशका कतिपय ठाउँमा सकारात्मक, नकारात्मक दुबैमा बत्ती बाल्ने, सबभन्दा अगुवाइ गर्ने ठाउँ र व्यक्ति गणतन्त्रमा पर्याप्त छन् । गणतन्त्रका लागि मर्नेहरू मध्ये नै आफ्नो स्वार्थ पूरा भएन भने गणतन्त्र जाओस् , बरु राजतन्त्र आओस् मलाई स्वार्थ पूरा गर्न देऊ भन्नेको पनि खाँचो छैन । लोकतन्त्रमा आफूलाई स्थापित गर्न नसक्नेहरू लोकतन्त्रप्रति पूर्वाग्रही बनेका हुन् । आशीर्वाद प्राप्तिमा रमाउन खोज्नेहरू आफ्नो जरा फर्केर हेर्दैनन् ।
केन्द्रमा सरकारको नेतृत्व गरेको, प्रदेशमा पटक पटक सरकारमा गएको पार्टी त्यही कोशी प्रदेशमा २ हजार भोट घट्ने अवस्थामा पुग्नुको अर्थ के जस्तो लाग्छ ?
मोरङकै एउटा गाउँपालिकामा चुनाव भयो अध्यक्षको निम्ति । कांग्रेसबाट टिकट नपाएका व्यक्ति माओवादीबाट टिकट लिए । थारु समुदायका थिए उनी । माओवादीको सहयोग भएकै कारण कांग्रेसले जितेको ठाउँमा माओवादीले जित्यो । त्यो व्यक्तिको जित हो । त्यसैले अहिलेको चुनावले नै पूर्ण विचारको जित र कुनै विचारको हार भन्ने होइन ।
एमालेले एउटा कुरा महसुस गरेको छ कि हाम्रो मत घट्नु दुखदायी हो । त्यसैले जरासम्म पुग्ने गरिकन अझै हामीले पार्टीमा काम गर्न आवश्यक छ । त्यसैले अहिले संरचनात्मक रूपमा नै सल्लाह गरेर आफूभित्र रहेका कमजोरी आफूले नै धोइपखाली गर्ने गरी हिँडेको हो ।
हामीले पनि सफा गर्ने भनेको चाहिँ एकदम भुईँको कार्यकर्ता मात्रै सफा गर्ने भनेको हैन । माथिल्लो नेतृत्वमा कमजोरी छ भने त्यसलाई पनि कारबाही गर्ने । त्यो प्रक्रिया जारी छ, फेरि पनि हुन्छ । कतिपय ठाउँमा नैतिक प्रश्न उठ्या छन् । कतिपय ठाउँमा आर्थिक लेनदेनको प्रश्न उठ्या छ । कतिपय ठाउँमा सक्रियता र निष्क्रियताको प्रश्न उठ्या छन् । अझ कतिपय ठाउँमा राम्रो हुन्छ भन्ने सम्भावना देखिएका छन् । यी सबै एमालेलाई बलियो बनाउन भएका हुन् । त्यसकारण हामी निराश छैनौँ । एमालेमाथि एआईको प्रयोग गरेर भ्रमित गर्ने कुरा हुन् । यो भन्दा राम्रो बाटो नै छैन भन्ने पनि यसमा छन् ।
तपाईँहरूको राष्ट्रिय कार्यशालाबाट आएका चौथो, पाँचौँ र छैटौँ बुँदाहरूमा यी विषय उल्लेख छन् । तपाईँले अरूलाई आक्षेप लगाउनुभयो तर दुष्प्रचारको मामलामा एमाले त झन् बादशाह भन्ने टिप्पणी कतिको सुन्नुभएको छ ?
आफूले कुरा गर्ने तर त्यो कुराको जबाफदेहिता लिनुपर्यो भने आफू पन्छिने यो प्रवृत्तिबाट आफूलाई स्थापित गर्न खोज्ने नेताहरू पनि हुनुहुन्छ । वामदेव गौतम त्यस्तै किसिमको नेता हुनुहुन्छ । क–कसको बहकाउमा कसैको लहैलहैमा लागेर के के गर्नु हुन्छ भन्ने नेपाली जनतालाई थाहा छ ।
सुध्रिनु हुन्छ अनि फेरि रन्थनिएर यो हैन भन्ने के हो कुरा । हिजो मात्रै उहाँको कुरा सुने– मलाई त माओवादीमा जान मन छैन, एमाले र माधव नेपालको पार्टी जसले पहिला बोलाउँछ त्यतै जान्छु रे । फेरि पछि हाम्रै च्यासलको कार्यक्रममा बामदेवलाई पार्टीमा भित्र्याउन एमालेजनलाई दबाब देऊ भनेर उचाल्ने पनि उहाँ नै हो । उहाँले एमालेको निम्ति निजी स्वार्थसँग जोडिएर अपराधपूर्ण काम पनि गर्नुभएको छ । मैले त्याग मात्रै गरेँ भनेर प्रचार गरेर हुन्छ र, अपराध गरेपछि त्यसलाई पनि स्वीकार गर्नुपर्यो नि । पटक पटक उहाँलाई क्षमा गरेर ल्याउँदा कुनै उपलब्धीभन्दा क्षति धेरै बेहोर्नु पर्यो ।
नेकपा बनिसकेको नेकपालाई नेकपाको अध्यक्ष पनि मै, प्रधानमन्त्री पनि मै हुनुपर्छ भनेर सरकारमा रहेको बेला सरकार छोड्नुपर्ने स्थिति, पार्टी विभाजन गर्नुपर्ने स्थिति, आफू पनि विभाजित भएर जाने स्थिति कसले बनायो त ? त्यसको एक नाइके नै उहाँ हो ।
उहाँले तपाईँको बारेमा सोचौला भन्नासाथ संविधान पनि पढ्न छोड्नुभयो । क्याबिनेट बनाएर यति जनाको मेरो, म प्रधानमन्त्री, यति जना क्याबिनेट, फलाना क्याबिनेटमा हुने भनेर लिस्ट तयार गरेर बस्नु भयो । त्यस कारण यस्तो बचपनले राजनीति भविष्य बन्दैन ।
नेकपा एमालेमाथि विधिको शासन मिचेको, सरकारी सम्पत्तिको दोहनलगायत विषयमा थुप्रै प्रश्न उठेका छन् । प्रश्न उठेपछि त्यसको जवाफ दिनु पर्दैन ?
जवाफ त संसदभित्र पनि दिइएको छ । जति पैसा छ प्रमाणित गरेर लिएर जानु पर्छ म गन्दिन्छु भनेर त हाम्रो अध्यक्ष तथा प्रधानमन्त्रीले पटक पटक भन्नुभयो । तर एआई को प्रयोग गरेर अहिले किन स्विकार्नु हुन्न ? कहाँ छ पैसा ?
पैसा छ भने ल्याउनु पर्यो नि । तर एआईको प्रयोग गरेर अपराधपूर्ण तरिकाले सुरुवात गरेपछि प्रमाणित गर्नुपर्यो नि । त्यसैले लोकतन्त्रमा गलत गरेपछि सजाय पाउनु पर्छ ।
म व्यवस्था परिवर्तन गर्नको निम्ति आएको हुँ भनेर मात्र भएन । ल मैले प्रधानमन्त्री पाइन भने प्रचण्डले भन्नु पर्यो– गणतन्त्र त्याग्न तयार छु भनेर । उहिले त ज्ञानेन्द्रसँग गरेको सम्झौता पनि छ नि त । ज्ञानेन्द्रले त्यही कुरा उठाउँछ नि पाँच बुँदे । त्यो जोसँग भएको हो उनीहरूले नै जानुन् हामी जान्दैनौँ ।
तपाईँहरूका तर्फबाट कृष्ण सिटौला अगाडि सरेर गरेको सम्झौताको कुरा आउँछ । सात राजनीतिक पार्टी, माओवादी र दरबारबीच भएको सम्झौताबाट भाग्न छूट छ र तपाईंहरुलाई ? त्यो पाँच बुँदे सम्झौता प्रचण्डसँग जोडिएको सम्झौता हो । यो लोकतन्त्रवादी गणतन्त्रवादी सम्झौता भएको छैन । त्यति बेला भएको भनेको शान्तिपूर्ण तरिकाले बस्दा सुरक्षा र सम्मानको कुरा हो । राजा भएर बस्नको लागि हैन । मान्छेले व्यक्तिगत रूपमा पाउने जुन सम्मान हुन्छ, त्यो सम्मान र सुरक्षा हो । अहिले त सुरक्षा र सम्मान दिएकै छ । अहिले ‘मै राजा’ भनेर बरबराएर विभिन्न व्यक्तिहरूलाई विगतमा लुटिएको सम्पत्ति खर्च गराएर, उचालेर राजतन्त्र फर्किन्छ भनेर लोभ देखाएर कतिले लोभमा जय जय भनेर कहाँ हुन्छ ? त्यति कमजोर यो गणतन्त्र र लोकतन्त्र छैन ।
लुटेको सम्पत्ति त छानबिन गरेर खोसे भइहाल्यो नि अब ?
केही त जफत भएको छ । अरु पनि बिस्तारै गरिन्छ । अहिले भर्खरै दक्षिण कोरियामा गणतन्त्र भएकै कारण त्यो देखिएको हो । राष्ट्रपति– प्रधानमन्त्री लोकतान्त्रिक विधि र प्रक्रियाबाट जाँदा अपराध गरेको छ भने दण्डित हुँदैन भन्ने हैन । नेपालमा पनि त्यही हो । सत्तामा भए पनि गलत गरेको छ भने सजाय पाउँछ ।
एउटा राष्ट्रपति पछि अर्को राष्ट्रपति आउँछ । प्रधानमन्त्री एक गए अर्को आउँछ । त्यो प्रतिस्पर्धामा इच्छा लाग्नेहरू शक्तिमा पुग्ने हो । निराश भएर म त कहिले पुग्नै सक्दिन, तर मलाई त्यो नभई हुँदैन भन्ने हो भने अनि पाउनको निम्ति आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगर्ने अनि त्यो जिम्मेवारी नभई हुँदैन मलाई भन्ने मनोभाव हाबी छ ।
अहिले केही बुद्धिजीवीहरू कि मलाई प्रधानमन्त्री बनाइदेऊ, म यो गर्छु भन्छन् । न राजनीतिक पार्टी बनाएका छन् । स्वादमा स्वाद लिनको निम्ति मिडियालाई प्रयोग गरेर राष्ट्रपति र प्रधानमन्त्री बन्ने मात्रै सपना देख्छन् । त्यो भन्दा तल कोही सोच्दैनन् । कानून सबैको लागि छ । सबै पार्टीका अपराध गरे भने जेल जान्छन् । पार्टीको ब्यानरमा अपराध गर्ने छूट कसैलाई छैन ।