काठमाडौं – आजकाल किनमेल गर्न बजार पुग्नुपर्दैन । हरेक सामान अनलाइनबाटै किन्न सकिन्छ । मोबाइलमा एक क्लिक गर्यो, चाहेको सामान आफूले उपलब्ध गराएको ठाउँमै आइपुग्छ ।
प्रविधि मानिसको सहजताको लागि हो । तर, यही सहजताले मानिसलाई कहिलेकाहीँ निकै नोक्सानीमा पार्छ ।
सुदूरपश्चिमका एक युवक पढ्नका लागि काठमाडौंमा थिए । उनीसँग भएको मोबाइल पुरानो हुँदै थियो । उनले बुवासँग नयाँ मोबाइल किन्न रकम मागे । घरदेखि रकम पनि आयो । उनले मोबाइल पसलको साटो अनलाइन अर्डर गर्न सजिलो ठाने ।
उनले मोबाइल अर्डर गरेपछि केही रकम अग्रिम बुझाउनुपर्ने भयो । अनलाइनबाटै १२ हजार रुपैयाँ भुक्तानी गरे । रकम बुझाइपछि उक्त एपले उनलाई ब्लक गर्यो ।
000
गुल्मी घर भएका एक व्यक्ति काठमाडौंमा निजी कम्पनीका जागिरे थिए । आफू कोठा खोजेर हिँड्न नभ्याउने भएपछि एजेन्टकहाँ पुगे ।
एउटा कोठामा बसिरहेका उनी राम्रो फ्ल्याट लिएर आफ्नी श्रीमती र बच्चालाई गाउँबाट ल्याउने तयारीमा थिए । एजेन्टले उनलाई केही रकम अग्रिम बुझाउनुपर्ने बतायो । फ्ल्याट पाइने आशामा उनले एक हजार रुपैयाँ बुझाए । तर, केही दिनमा ती एजेन्ट गायब भए ।
अब त्यो ठगीको उजुरी लिएर कहाँ जाने ? साइबर ब्यूरोमा जाँदा एक हजार रुपैयाँका लागि आफ्नो काम गर्ने समय र त्यो भन्दा बढी रकम खर्चनुपर्छ । उनले मन मारेर कतै उजुरी दिएनन् ।
000
यी त प्रतिनिधि घटना हुन् । अहिले अधिकांश मानिसहरू यस्तै–यस्तै बहानामा ठगीमा पर्ने क्रम बढिरहेको छ ।
हालसालै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले ठगीमा सबैभन्दा धेरै विद्यार्थी सङ्लग्न रहेको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा १८ देखि २४ वर्ष युवा समूहका विद्यार्थी सङ्लग्न छन् ।
उपहार र पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नक्कली अनलाइन प्लाटफर्म, वन टाइम पासवर्ड (ओपीटी) र चिट्ठालगायत माध्यमबाट ठगी अपराध गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
इकाइले सार्वजनिक गरेको साइबर प्रविधिमा आधारित रणनीतिक विश्लेषण प्रतिवेदन (स्ट्राटेजिक एनालसिस रिपोर्ट–२०२४) ले किशोरावस्था उमेर समूहका व्यक्तिको धेरै वित्तीय कारोबार शङ्कास्पद देखिएको छ ।
व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्ति ठगीमा सबैभन्दा बढी सङ्लग्न रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । जम्मा ५०१ वटा शङ्कास्पद कारोबारमा ३१९ वटा साइबरमा आधारित ठगीसँग सम्बन्धित पाइएको छ ।
नमूना छनोटमा परेका १५१ खातामध्ये १४५ वटा (७८ प्रतिशत) खाता सन् २०२३ देखि २०२४ को बीचमा खुलेका थिए । ती मध्ये करिब आधा अर्थात् ४९ प्रतिशत खातामा तीन महिनामै शङ्कास्पद कारोबार हुन थालेको थियो
२५ प्रतिशत खाता खोलिएको नौ महिनापछि शङ्कास्पद कारोबार हुने गरेको भेटिएको छ । तीन प्रतिशत खातामा एक वर्षपछि र २३ प्रतिशत खातामा एक वर्षभन्दा बढी अवधिमा शङ्कास्पद कारोबार भएको पाइएको छ । यो तथ्याङ्क विश्लेषण गर्दा उनीहरूले अपराध गर्नकै लागि बैंक खाता खोल्ने गरेको पुष्टि भएको केन्द्रीय बैंकको दाबी छ ।
अपराधका माध्यमहरूमा सबैभन्दा बढी २१ प्रतिशत उपहार र पार्सलको लोभ देखाएर भएको छ । सामाजिक सञ्जालमार्फत गोप्य विवरण सार्वजनिक गरिदिने डर देखाएर तथा आइफोन उपहार दिने लोभ देखाएर १५/१५ प्रतिशत एवम् नक्कली अनलाइन प्लाटफर्ममार्फत १३ प्रतिशतले अपराध गरेको भेटिएको छ ।
सात प्रतिशतले अनधिकृत रूपमा अरूको खातासम्म पहुँच पुर्याएर र नौ प्रतिशतले ओटीपीमार्फत ठगी गर्ने गरेका छन् । बाँकी १३ प्रतिशतले अन्य माध्यमबाट ठगी गरेका प्रतिवेदनमा उल्लेख छ ।
प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी घटना बागमती प्रदेशमा हुने गरेको भेटिएको छ । १४५ वटा शङ्कास्पद कारोबारमध्ये बागमतीमा ५५, मधेशमा ४१, कोशीमा २७, लुम्बिनीमा १०, गण्डकीमा ६, सुदूरपश्चिममा दुई र कर्णाली प्रदेशमा एउटा भएको छ ।
सामाजिक सञ्जालमा सरकारी कार्यालयको लोगोसमेत प्रयोग गरेर रोजगारीका लागि आह्वान गरिएको प्रशस्त विज्ञापन भेटिइन्छन् । त्यस्ता विज्ञापनमा रोजगारी गर्न पढाइ र अनुभव पनि नचाहिने उल्लेख गरिएको हुन्छ । विश्वासै गर्न नसकिने तलब अफर गरिएको हुन्छ । त्यस्ता माध्यममा पुगेर पनि नागरिकहरू ठगीमा परिरहेका छन् ।
केही समयअघि नेपाल राष्ट्र बैंकले त्यस्ता विज्ञापनको भ्रममा नपर्न सचेत गराएको थियो । बैंकले कर्मचारी नियुक्तिका लागि सामाजिक सञ्जालमा विज्ञापन नखुलाउने बताएको थियो ।
नेपाल राष्ट्र बैंकका निर्देशक तथा वित्तीय जानकारी इकाइ प्रमुख वासुदेव भट्टराईले ठगी गर्नकै लागि बैंकको खाता खोल्ने फर्ममै ‘विद्यार्थी’ लेख्ने गरेको पाइएको बताएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘बैंकमा खाता खोल्दा व्यक्तिगत विवरण तथा पेशा उल्लेख गर्नुपर्छ । पदमा विद्यार्थी उल्लेख गरेका कयौं व्यक्तिहरू वित्तीय अपराधमा सङ्लग्न देखिएका छन् ।’
विद्यार्थी भनेपछि शङ्काको घेरामा परिँदैन भन्ने भ्रमले पनि यसो भएको हुनसक्नेउ भट्टराईको अनुमान छ । विद्यार्थी नै सङ्लग्न हुन् वा विद्यार्थीको आवरणमा अरूले अपराध गरिरहेका छन् भन्नेबारे व्यापक अनुसन्धान गर्नुपर्ने उनले बताए ।
वित्तीय अपराधमा सङ्लग्नहरू आइटी वा अन्य कुन क्षेत्रका हुन् भन्ने कुरा इकाइले अनुसन्धान नगरेको उनको भनाइ छ । ‘के कस्ता मानिस यस्ता अपराधमा सङ्लग्न छन् ? किन सङ्लग्न छन् ? कस्तो परिवारबाट छन् ? जस्ता कुरा सम्बन्धित निकायले नै पत्ता लगाउनुपर्छ । हामीले समस्या देखाइदिएका छौं,’ भट्टराइले भने ।
साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थी सजिलै अरूलाई विश्वास गर्ने समय नभएको बताउँछन् । उनी भन्छन्, ‘पढेलेखेका अत्यन्त सचेत मानिसहरू ठगीमा परिरहेका छन् । स्मार्ट ठगहरूको जन्म भएको छ । इन्टरनेटको माध्यमबाट अहिले ठगी गर्न झनै सजिलो भएको छ ।’
चिठ्ठा, गेम र अनलाइन जुवाजस्ता माध्यमबाट नागरिकहरू दिनानुदिन ठगिँदै आएका अवस्थीले उल्लेख गरे । उनका अनुसार, ब्यूरोमा परेका उजुरीमाथि छानबिन गर्न आवश्यक जनशक्ति कम छ, उजुरी नआएका घटनाप्रति ब्यूरोले काम गर्न सक्ने अवस्था नै छैन ।
‘नागरिक वित्तीय ठगीमा पर्नसक्ने अवस्थाबाट जोगाउने संयन्त्र खडा गर्ने काम सरकारको हो । ठगिन सक्ने कुरामा व्यक्ति आफू पनि सचेत हुनुपर्छ,’ अवस्थीले भने ।