बलिउड/हलिउड

एनिमल अब ओटीटीमा पनि आउने

By खबरहब

January 20, 2024

काठमाडौं- चाँडै नै बलिउडको सुपरहिट फिल्म एनिमल टिभी र मोबाइलमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्देशक सन्दीप वांगा रेड्डीले जनवरी २६ मा फिल्म नेटफ्लिक्समा रिलिज हुने बताएका छन् । सन् २०२३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । यस फिल्ममा अभिनेता बबी देओलले सानो तर जबरदस्त भूमिका निभाएका छन्, जसको मानिसहरुले निकै प्रशंसा गरेका छन् ।

यसका साथसाथै अब थिएटरमा यो फिल्म मिस गरेकाहरूले अब यसलाई घरमै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सक्षम हुनेछन् । यस फिल्ममा रणवीर कपुरको अभिनय र उनको लुकको निकै तारिफ भएको छ । फिल्ममा रणवीरले अहिलेसम्मकै अनौठो भूमिका निभाएका छन् ।

यो चलचित्रमा बाबु छोराको कथा देखाइएको छ । फिल्ममा अनिल कपुर रणवीर कपुरका बुवाको भूमिकामा देखिएका छन् । यो फिल्म १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । पहिलो दिन एनिमलले ६१ करोड रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्शनको कुरा गर्ने हो भने ३२ दिनमा विश्वभर ८९१ करोड कमाउन सफल भएको छ ।