काठमाडौं– नेपालीमा एउटा पुरानो आहान छ, न्याय नपाए गोरखा जानू !
शायद गोरखाका राजालाई सम्झेर हुनुपर्छ, सर्वोच्च अदालत रहेको स्थानलाई ‘रामशाह पथ’ भन्ने गरिएको ।
इतिहास साक्षी छ– द्रव्य शाहलाई दौड प्रतियोगितामा सहभागी गराउनुअघिसम्म लिगलिगकोटमा घलेहरुको शासन थियो । त्यही बंशका एकजना घले दाइ अहिले न्याय नपाएर काठमाडौं पसेका छन् ।
‘न्याय नपाए गोर्खा जानू’ भन्ने आहान अब ‘रिभर्स’ भएको छ ।
गोरखामा न्याय नपाएर काठमाडौं छिरेका पात्र हुन्– बारपाक वडा न–२ सुलिकोट निवासी ६६ वर्षीय तेलबहादुर घले । यिनै घले दाइको दुखको कहानी यहाँ प्रस्तुत गरिएको छ –
काठमाडौंका प्रायः सबै पत्रकारको मोबाइलमा एकाबिहानै टिङ्ग ‘नोटिफिकेसन’ आउने गरेको छ– काठमाडौंमा आज हुने कार्यक्रम । जसमा लेखिएको हुन्छ–
‘जिल्ला गोरखा बारपाक गापा वडा नम्बर २ सुलिकोट घर बताउने वर्ष ६६ को तेलबहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रममा बिस्फोन गर्दा घर र होडल पूर्णरुपमा क्षति भएको र क्षतिपूर्ति नपाएको भन्दै शान्तिपूर्ण धर्ना बस्ने । स्थान शान्तिबाटिका । समय १० बजे ।’
तेलबहादुरको ‘कार्यक्रम स्थल’ अघिल्लो महिनासम्म माइतीघर मण्डलामा थियो । आफैंले भोट हालेर काठमाडौं पठाएका प्रचण्ड नेतृत्वको सरकारले तेलबहादुरलाई माइतीघरबाट खेदाएपछि उनको ‘कार्यक्रमस्थल’ फेरिएर रत्नपार्कमा सरेको छ । अन्य ‘सेड्युल’ यथावत छ । माइतीघरमा प्रचण्ड सरकारले निशेधाज्ञा जारी गरेको छ ।
उमेरले ६६ पुगेका तेलबहादुर सामान्य नागरिक हुन् । उनले ट्रेकिङ गाइडका रुपमा भारी बोक्ने पेसा गरेको ३५ वर्ष भयो । यही पेसा गरेर उनले जहान परिवार पाल्दै आए ।
जीवनको ऊर्जाशील समयमा उनले अर्काको भारी बोके । खाना पकाउने काम गरे । ३५ वर्ष अनुभव संगालेपछि उनलाई लाग्यो– ऋण गरेर भए पनि एउटा सानो होटल व्यवसाय किन नगर्ने ? उनले ऋण–धनको जोहो गरे । साथ दिने अरु कोही नभए पनि जहान परिवारको आड भरोसा थियो ।
ट्रेकिङ गरेर घरपरिवार धानेको सम्झँदै तेलबहादुर भन्छन्, ‘यही पेसा गरेर छोराछोरी हुर्काएँ, पालेँ, पढाएँ । अब बुढेसकालमा सधैं त्यसरी काम गर्न सकिँदैन भनेर होटल चलाउने निधोमा पुगेँ ।’
अन्ततः २०७४ सालबाट गोरखाको दोभानस्थित पाखोमा घलेदाइको होटल व्यवसाय शुरु भयो । अनि खुल्यो दोभान–९ गोर्खामा ‘बुढी गण्डकी भ्याली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ ।
मनास्लु हिमाल जाने बाटोमा पर्ने दोभान गाउँमा होटल थाप्दा पर्यटकहरुलाई सहज हुने र आफूलाई पनि कमाइ हुने तेलबहादुरको विश्लेषण थियो । यही आशमा उनले त्यहाँ लगानी गरेका थिए ।
‘थोरै बचत मसँगै थियो, रत्नपार्कमा घाम तापिरहेका घले सुनाउँछन्, ‘बाँकी ऋण काढेर व्यवसाय सुरु गरेँ । हातमा सीप थियो, आँट गरेर ऋण लिएँ तर…..।’
एक रोपनी पाखो भाडामा लिएर उनले होटल व्यवसाय सुरु गरेका थिए । वर्षको एक लाख रुपैयाँ भाडा थियो । भूकम्परहित काठको घर बनाएका थिए । आठ वटा कटेज । दुईवटा ट्वाइलेट, बाथरुम । ३८ फिट लम्बाइ र ८ फिट चौडाइको भान्साघर बनाएका थिए उनले ।
घलेले होटल खोलेको अर्को वर्ष गाउँमा ‘विकास’ आयो । अर्थात आरुघाटबाट लार्केभञ्ज्याङ जोड्ने सडक निर्माणको ठेक्का नेपाली सेनाले लियो । सडक निर्माणका क्रममा नेपाली सेनाले बम ब्लाष्टिङ गर्दा आफ्नो सबै संरचना ध्वस्त भएको उनी सुनाउँछन् । घलेको व्यवसायी बन्ने सपना पनि त्यही बिस्फोटनको धुलोमा बिलायो । भारी बोकेर यहाँसम्म घिस्रिएको परिवारको थाप्लोमा अर्को ऋणको बोझ थपियो ।
सुनौं घलेकै मुखबाट घटना विवरण–
सरकारले सुकुम्बासी बनायो
आरुघाट–लार्केभञ्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लियो र ०७४ बैशाख १४ गतेबाट सडक खन्ने काम शुरु गर्न आयो । एक सिजन होटल चलाउन दिनोस् न भनेर बिन्ती गर्दा पनि दिएन ।
आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भनेर ५ किलोमिटर टाढाको मेलो छोडी आएर ०७५ साल असोज १४ गते बम पड्काएर मेरो होटल ध्वस्त बनायो । कामदारले तीन दिन मात्रै काम गर्यो, दशैं तिहार मान्न गयो । आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भनेको थियो, ६ महिनासम्म काम बन्द गर्यो।
०७६ साल लाग्नासाथ आर्मीको मेजर निशान्त पण्डितले ८ करोड भ्रष्टाचार गर्यो भनेर काठमाडौंबाट कर्णेल साहेब आएर मेजरलाई कारवाही गर्न भनेर ०७६ भदौ १९ गते काठमाडौं लिएर गयो । काम किन बन्द भयो भनेर बुझ्न जाँदा भ्रष्टाचारी मेजर जेलमा रहेछ ।
मेजर जेलबाट छुटेछ । उसले ३ महिना काम गर्न दिनोस्, बाटो क्लियर गरेर क्षतिपूर्ति मिलाइदिन्छु, सरकारले दिने हो भन्यो । ६ महिनासम्म पनि बाटो क्लियर गरेन । क्षतिपूर्ति पनि मिलाइदिएन । भ्रष्टाचार गरेको पैसाले पुगेछ, मेजर काम छोडेर भाग्यो ।
दुई वर्षसम्म होटल चलाउन नपाएर मलाई गाह्रो भयो । निवेदन लिएर जिल्ला प्रशासनमा पुगें, निवदेन लिएन । पत्रकारले समाचार लेख्यो । नयाँ मेजर आएको रहेछ, आर्मीको किन बदनाम गरेको भनेर धम्क्यायो । मैले अदालत जान्छु भनें । अदालत गयो भने राम्रो हुने छैन भन्यो । अदालत नजानोस् म छिट्टै राम्रो क्षतिपूर्ति मिलाइदिन्छु भन्यो । मैले मानेर बसें । चाँडो, राम्रो मिलाएन । नयाँ मेजरले पनि आर्मीको बदनाम गरिस् भनेर एक वर्ष झुलाए । मेरो ऋणको ब्याज बढेको बढ्यै थियो । होटल बन्द भएकाले आम्दानी पनि केही थिएन ।
तीन वर्षपछि आर्मीले १३ लाख ८२ हजार अलिकति क्षतिपूर्ति लिन आऊ भनेर फोन गर्यो । मैले भनें, यति थोरै म लिन्नँ, बरु म अदालतसम्म न्याय माग्न जान्छु ।
मे जरले यति भए पनि लिने भए लिनु, नभए यो पनि पाइँदैन, अदालत गयो भने राम्रो हुने छैन भन्यो । ज्यान मार्ने धम्की पनि आएपछि ज्यान बाँच्नको लागि भए पनि लिनै पर्यो।
नयाँ मेजरले इञ्जिनियरलाई पठाएर समेत धम्क्याउन लगाए । इञ्जिनियरले पनि पाउने त्यति नै हो भने धम्क्यायो ।
क्ष्तिपूर्ति लिएपछि काठमाडौंको बानियाँटराको कुनामा बोलाएर सही गर्न लगायो । कागजपत्र हेर्दा सही नगरौं झैं भयो । सुभिल ड्रेसमा एकजना आर्मी जवान लुकेर एक्सनमा बसिरहेको रहेछ । मैले सही नगरेको भए त्यहीँ मेरो ज्यान जानेमा थियो । लकडाउनको बेलामा कोहीस् मान्छेहरु बाहिर निस्कन मिल्ने थिएन । त्यही समयको फाइदा उठाएर आर्मीले जबरजस्ती सही गर्न लगायो ।
तीन वर्षपछि १३ लाख ८२ हजार क्षतिपूर्ति दियो । एक वर्षपछि मात्र बाटो क्लियर गर्यो। मलाई ऋणमा डुबायो । ३६ लाख ऋणको ब्याज १८ प्रतिशतले तीन वर्षको ब्याज मात्र १९ लाख ४४ हजार पुगेको थियो । जग्गाको भाडा तीन वर्षको ३ लाख । दुबै गरेर २२ लाख ४४ हजार ऋणमा डुबायो ।
एउटा मेजरले हेडक्वार्टर गएको रिस गरेर दुईवर्ष झुलायो । अर्को मेजरले आर्मीको बारेमा पत्रकारकहाँ गएर केही कुरा लेख्यो भनेर रिस गरेर एक वर्ष झुलायो । तीन वर्ष झुलाएर तीन वर्षको ब्याजमात्र १९ लाख ४४ हजार तिर्न लगायो ।
बिडम्बना, बाटो तलबाट आएको, तल्लोमा भएको होटल चलाउन पायो । तर, मेरो होटल बाटोमाथि भएर पनि मैले मैले होटल चलाउन पाइनँ । यसमा मलाई दुःख लाग्यो । पीडितको उपस्थितिविना बनाएको कागजपत्र कानुनले मान्यता दिँदैन । हार्मीको मेजरले भ्रष्टाचार गरेकाले मैले धोका पाएँ ।
एक वर्ष होटल चलाउँदा मैले ११ लाख आम्दानी गरेको थिएँ । सक्नेले गरेर खाओस् मलाई गुनासो छैन तर मलाई होटल चलाउन नपाएकोमा दुःख लागेको छ । होटल बनाउँदाको खर्च र एकचोटि होटल मर्मत गर्दाको खर्च थरी ४५ लाख ५८ हजार भयो । मलाई सरकारले सुकुम्बासी बनायो ।
घलेले आफ्नो पीडा उल्लेख गरिएको ब्यानर रत्नपार्कमा टाँगेका छन् ।
सरकारले तीन वर्षसम्म झुलाएर १३ लाख ८२ हजार क्षतिपूर्ति दिए पनि आफ्नो लागत अनुसार क्षतिपूर्ति नपाउँदा अन्यायमा परेको घलेको गुनासो छ । उनी नौ महिनादेखि काठमाडौंमा भौंतारिरहेका छन् । उनी न्याय खोज्दै सडकमा ओर्लिएको शनिबार २०५ दिन पुगेको छ ।
होटल चलाउँदा लिएको ऋणको ब्याज र सावाँ उनले अहिलेसम्म तिर्न सकेका छैनन् । ऋणमा डुबेपछि घरव्यवहार मिलाउन र परिवार पाल्न मुस्किल भएको दुःख उनी सुनाउँछन् ।
उनी भन्छन्, ‘मगरको छोरा, सोझो म । दुई वर्षसम्म केही हुन्छ कि भनेर पर्खें । तर, मेरो क्षतिका बारेमा कुनै पहल भएन ।’ उनी प्रशासनमा गएका थिए तर प्रशासनले आर्मीकैमा जाउ भनेर पठायो ।
केही उपाय नलागेपछि उनी २०८० जेठ १० गतेदेखि काठमाडौंमा धर्नामा बस्न थालेका हुन् । पहिले माइतीघर मण्डलामा धर्ना बसेका उनी अहिले त्यस स्थानलाई सरकारले निषेधित गरेपछि शान्तिवाटिकामा बस्दै आएका छन् । उनी शान्तिवाटिका उचित ठाउँ नभएको बताउँछन् ।
घले भन्छन्, ‘यहाँ कोही पत्रकार पनि आउँदैन । अरु नागरिकले पनि देख्दैन । सरकारले त झनै नदेख्ने ठाउँ रहेछ ।’
धर्ना बस्न माइतीघर मण्डला नै राम्रो हुने उनको भनाइ छ । तथापि माइतीघरमा बस्न नपाएका उनी हरेक दिन बिहान १० देखि बेलुका ४ बजेसम्म शान्तिवाटिकामै हुन्छन् ।
एक महिना अगाडि उनले आर्थिक समस्याले गर्दा धर्ना स्थगित गरे । धर्ना रोकेर उनी खर्च जुटाउन पुरानै पेशा ट्रेकिङमा गए । ६६ वर्षे उमेरमा भारी बोकेर केही पैसा कमाएर फेरि उनी धर्नामै फर्किएका छन् ।
ऋणका कारण घलेकी पत्नी शान्ताकुमारी ‘डिप्रेसन’मा गएको उनले सुनाए । घले भन्छन्, ‘यसरी म धर्ना बसेको देखेपछि झन उसलाई निराशा हुन्छ त्यसैले श्रीमतीलाई कहिल्यौ धर्नामा ल्याएको छैन ।’
घलेका एक छोरी र एक छोरा छन् तर विदेशमा । उनी भन्छन्, ‘पढ्न ऋण तिर्न भनेर उनीहरु विदेश भासिएका छन् तर ऋण तिर्न सकिएको छैन । उनीहरु जादाँखेरि लागेको ऋण तिर्नमै छन् । कलेजको पनि फी तिर्न पर्यो । बाउलाई लागेको ऋण कहिले तिर्ने हो, अत्तोपत्तो छैन ।’
बस्ने घर र काम गरेर खाने होटल केही नरहेपछि घले परिवार टाउको लुकाउने ठाउँ खोज्दै काठमाडौं शहरमा छिरेको हो । उनी भन्छन्, ‘राजधानीमा काम गरेर गुजारा गर्न पाइन्छ कि भन्ने थियो तर म बुढोलाई कसैले काम दिएन ।
हाल उनी र श्रीमती सामाखुशीमा डेरा लिएर बसेका छन् । घले खबरहबसँग भन्छन्, ‘सरकारले निमुखालाई हेर्छ भनेर आएको हुँ । तर, धनवानहरुले मात्रै न्याय पाउने रहेछ । हामीजस्तो तल्लो वर्गले किन धर्ना बसेको छ भनेर हेर्नसमेत सरकारलाई फुर्सद छैन ।’
प्रचण्डलाई भोट !
धर्नामा बसेपछि घलेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कोसिस गरे तर भेट्न सकेनन् । भेट नभए पनि उनले अरु मार्फत नै ज्ञापनपत्र भने बुझाएका थिए । अहिलेसम्म प्रधानमन्त्री कार्यालयबाट उनलाई कुनै प्रतिक्रिया आएको छैन ।
घले संशय प्रकट गर्छन्, ‘प्रचण्डकोमा ज्ञापनपत्र पुग्यो वा पुगेन ? पुगेर पनि वास्ता नगरेको हो कि ? प्रधानमन्त्रीले केही भन्नुहुन्छ कि भन्ने आशमा छु ।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भने घलेको भेट भइसकेको छ । गोर्खाकै नेता भट्टराईले जिल्लामा गएर निवेदन दिन सुझाव दिएको घलेले सुनाए । उनी भन्छन्, ‘मेरो लगानी पूरै फिर्ता पाउँ भनेर जिल्लामा गएर निवेदन दिनू भन्नुभयो ।’
तर, जिल्ला प्रशासनले साधारण मान्छेको निवदेनलाई कागजको खोस्टो मात्रै मान्ने गरेको घलेको गुनासो छ । उनी भन्छन्, ‘गुनासो सुनुवाइ नभएर नै मैले आफ्नो क्षेत्रका नेता, पूर्वप्रधानमनत्रीसँग गुहार मागेको हो ।’
सबैतिरबाट निराश भएपछि धर्नामा बस्नुपरेको घले सुनाउँछन् । उनी भन्छन्, ‘एक दिन न्याय पाउँछु भन्ने त छ, तर सात महिनासम्म ६६ वर्षको बुढो नागरिक धर्नामा बसेको छ, सरकारलाई कुनै मतलब छैन ।’
गत निर्वाचनमा भने घलेले गोरखाबाट प्रचण्डलाई भोट हालेका रहेछन् उनी गोरखाली जोस निकाल्दै भन्छन्, ‘तर म माओवादीको कार्यकर्ता होइन । हामी गोरखालीहरु कांग्रेस, एमाले, माओवादी भन्नेमा छैनौ । गोरखामा कठोरवादी जनता छैनन् ।’
घलेले बिट मार्दै भने, ‘प्रचण्डलाई भोट हालेर प्रधानमन्त्री बनाएको हुँ, उहाँको प्रतिक्रिया नपाएसम्म धर्नामा बस्छु । कम्तिमा लगानी फिर्ता पाउनुपर्छ भन्ने मेरो माग हो ।’
तस्बिर/भिडियो : चिरायु शाक्य/खबरहब