समाचार

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

By खबरहब

February 20, 2024

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा बिभिन्न देशबाट खटिएका सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चार मंगलबारबाट सुरु भएको छ । 

१९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक मुख्यालय भद्रकालीमा उद्घाटन गरे । सो क्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । 

नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेको प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशंसा गरेको पनि स्मरण गरे ।

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।