शहरमा धेरैको साथी बनेको छ कुकुर । आफ्ना सन्तति विभिन्न कारणले विदेशमा रहेको अवस्थामा सन्तानले पाउने माया त्यही कुकुरमा खन्याउने आम प्रवृत्ति बनेको छ । तीनपुस्ता रहेको परिवारमा पनि पछिल्लो छिमलले कुकुरलाई अत्यन्त माया गर्ने भएका कारण उसको इच्छा पूरा गर्न पनि कुकुर पाल्ने प्रचलन छ ।
घरका सन्तानले पाउने माया प्रेम मात्र हैन, उसका हरेक उपद्रो क्षम्य हुने गरेका छन् । सँगै सुत्ने, खाने, विहान बेलुका डुलाउन संगै लैजानेसम्मका कर्ममा कुकुर छुट्दैन । उसले चिथोरेको, दाँत गाढेको विषयलाई सामान्य सम्झिएर उपचारमा हेलचेक्र्याइँ हुने गरेको छ । बिर्सिएर पनि त्यस्तो गल्ती नगर्नु होला । यही गल्तीले मानिसको ज्यान जानसक्छ ।
यही फागुन २ गते रेबिजको संक्रमणका कारण मकवानपुरकी बालिका बिनु महर्जनको मृत्यु भयो । उनलाई गत मंसीर२५ गते नै घरमा पालेको कुकुरले खेलिरहेका बेला टोकेको थियो । कुकुरको टोकाईपछि घरमानै पालेको कुकुर हो भनेर खोप लगाइएन । बिरामी भएपछि परिवारले हेटौडा अस्पताल , भरतपुर अस्पतालमा हुदै काठमाडौं टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पताल पुयाइएको थियो ।
उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए । उनको उपचार क्रममा कुकुरले टोकेको ६२ दिनपछि मृत्यु भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाले बताए । उनी हेटौडा – ५ मा जेनिथ ईन्टरनेशनल नर्सरीमा अध्ययनरत छात्रा हुन । उनीसँगै एउटै कक्षामा अध्यनरत सम्पूर्ण विद्यार्थीहरु र बसमा यात्रा गर्ने विद्यार्थीहरुलाई सचेत गराएर सम्भावितहरुलाई सुई खोप पनि लगाईएको छ ।
यस्तै लापर्वाहीले बिनुजस्तै धेरैले अकालमै ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ ।
रेबिज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खासगरी रोगी जनावरले टोकेको अवस्थामा र्यालको माध्यमबाट सर्दछ ।
शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक ५ सय जना कुकुरको टोकाइबाट बिरामी भएका व्यक्ति उपचारमा आउने गरेका ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । त्यसमध्ये २० देखि २२ जनाको मृत्यु हने गरेको उनले बताए । उनका अनुसार अस्पताल नआउनेको संख्या दोब्बर रहेको छ ।
रेबिज भाइरसको सङ्क्रमण भएपछि पनि समयमा उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ । त्यसैले समयमै उपचार गर्नुपर्र्ने उनको सुझाव छ । ‘नेपालको कुरा गर्ने हो भने रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरै व्यक्तिलाई जानकारी नै छैन । त्यसैले जो कसैले रेबिज विरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुने , डाक्टर पुन बताउँछन् । रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ । टोकेको १० दिनमा कुकुर मर्छ, त्यो समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाए पूर्ण रुपमा निको हुन्छ ।
रेबिज रोग र यसका लक्षण
रेबिज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खासगरी रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट सर्दछ ।
रेविज रोग लागेर बहुलाएको जनावरहरुको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा र नाकमा र्याल परेमा पनि रोग सर्न सक्दछ । यसले संक्रमण गरेको सामान्यतया १ देखि ३ महिनामा लक्षण देखिन्छन् । तर नेपालमा ५ देखि ६ महिनामा लक्षणहरु देखिने गरेका छन् ।
कुकुरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ ।
शुरुवाती अवस्थामा टोकोको ठाउँमा झमझमाउने, रगत आउने, ज्वरो आउने जस्ता लक्षणहरु देखिन्छन् त्यसलाई त्यति धेरै ध्यान दिइदैन । जब हावा र पानीदेखी डराउने अवस्था सिर्जना हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ ।
तर विश्व लगायत नेपालमा पनि धेरै बिरामीहरुमा कुकुरको टोकाइबाट रेबिज संक्रमण सरेको पाइएको डा. पुन बताउँछन् । त्यसमा पनि सामुदायिक कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट अस्पताल आउनेहरूको सङ्ख्या धेरै छ । कुकुर पाल्ने मात्रै होइन, कुकुरलाई लगाउने भ्याक्सिनदेखि सबै कुराको बारेमा ध्यान दिन जरुरी भएको उनको सुझाव छ । अझ सहर भन्दा गाउँमा पालिएका कुकुरबाट जोखिम धेरै भएको उनी बताउँछन् ।
शहरमा पालिएका कुकुर एउटा घरमा सीमित हुन्छन् । अन्य बाहिरका कुकुरहरुसँग उनीहरु सम्पर्कमा रहँदैनन् र बेलाबेलामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिन्छ । गाउँका कुकुर एउटै घरमा सीमित नभएर सर्वत्र डुल्ने, अन्य ककुरहरुको सम्पर्कमा रहने हुँदा बढी जोखिम हुने डाक्टर पुन बताउँछन् ।
संक्रमण र मृत्युदर बढ्दो
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ।
तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको डा पुन बताउँछन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्यांकअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।
तत्कालको यकिन तथ्याङ्क नभएपनि संक्रमण दर बढेको डा. पुनले बताए । उनका अनुसार अहिले पनि टेकु अस्पतालमा मात्रै दैनिक ५ सय जना भन्दा धेरै रेबिजका बिरामीहरु आउने गरेका छन् । त्यसमध्ये २० देखि २२ जनाको मृत्यु हुने गरेको छ । देशभरका अस्पतालहरुको तथ्याङ्क हेर्ने हो भने अझै बढ्ने उनको भनाई छ । त्यस्तै गाउँघरमा उपचार नगरेर झारफुकमा लाग्दा पनि मृत्यु भएको पाइन्छ । जसको गणना नै नहुने उनले बताए ।
नियन्त्रण गर्न के गर्ने ?
कुकुरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ ।
रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ भने त्यसपछि रेबिजको खोप लगाउनैपर्छ । त्यसैले समय भन्दा पनि कुकुरको अवस्था थाहा पाउनु महत्वपूर्ण हो । तर कुकुरले एक महिनाअघि टोकेको थियो । टोक्ने बित्तिकै कुकुर गायब भयो भने उसले पनि रेबिजको खोप लगाउनुपर्छ ।
कुकुरको अवस्था थाहा छ भने रेबिजको खोप नलगाए पनि हुन्छ । त्यस्तै कुकुरले यदि घाँटी भन्दा माथिको भाग र औंलाको टुप्पोमा टोकेको छ भने जोखिम अलि धेरै हुने उनी बताउँछन् ।अर्को कुरा नियन्त्रण भन्दा पनि के कारणले बढिरहेको छ भनेर पत्ता लगाउन आवश्यक रहेको डा. पुन बताउँछन् ।
पछिल्लो समय पहिलेको भन्दा खोप सर्वसुलभ र निःशुल्क पाइन्छ । तर कुकुर सानो छ लगाउनु पर्दैन, केही दिन हेरौं पछि लगाउँला भन्दा भन्दै टोकेको घाउ निको भएपछि अब लगाउनुपर्दैन होला भन्दै चुप लागेर बस्ने, गाउँतिरको कुरा गर्नुपर्दा औषधी पसलमा जाने र उनिहरुले गलत सल्लाह दिने गर्नाले पनि यो संक्रमण दर बढेको डा. पुनको निष्कर्ष छ ।