फाइल फोटो

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

By खबरहब

April 20, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्को उथलपुथल हुने चेतावनी दिएका छन्।

सत्ता साझेदार दलका अध्यक्ष नेपालले आफ्नो पार्टीको भूमिकाको अवमूल्यन गरे जे सुक्कै हुने बताए । 

शनिबार गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘हामी कसैको दास होइनौँ  र कसैको इसारामा चल्ने व्यक्ति पनि होइनौँ। त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठुलो मूल्य चुकाउनुपर्छ । त्यसैले यो कुरा बुझ्यो भने ठिक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

पछिल्लो समय सत्ता गठबन्धनमा हलचल सुरु भएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सत्ता गठबन्धनमा रहेको ठुलो दल एमाले र उनीबीचको सम्बन्ध राम्रो नहुँदा गठबन्धनमा खटपट सुरु भएको छ ।