फाइल फोटो

समाचार

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

By खबरहब

May 20, 2024

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी दुई देशबीचको सीमानाका बन्द गर्न लागिएको जानकारी दिए ।

उनले दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्न लागिएको बताए ।

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बीडीसीसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।