आर्थिक

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र

By खबरहब

May 20, 2024

काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएको छ । 

आगामी भदौ १५ गते सो कम्पनीको २० वर्षे अनुमति पत्रको म्याद सकिने भएकोले ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।

नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार नेपालमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरूले अनुमति पत्र लिने र नवीकरण गर्ने कार्य गर्दै आएका छन् । सो व्यवस्थाअनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरूले एकपटकमा २५ वर्षे अनुमति पत्र लिएपछि त्यसको पहिलोपटक १०, दोस्रोपटक १५ र तेस्रोपटक २० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार प्राधिकरणले अग्रिम जानकारीका लागि पत्र पठाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबलाई बताए । ‘एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १५ गते सकिँदैछ, त्यसको ३ महिना अगाडि नै उसले नवीकरणको लागि दस्तुर सहित निवेदन दिनुपर्ने हुन्छ, सोही अनुसार रिमाइन्डको लागि पत्र पठाएका हौं’, पौडेलले भने । 

उनका अनुसार प्राधिकरणले जेठ ४ गते नै एनसेललाई पत्र पठाएको छ र उसले जेठ १५ गतेभित्र २० अर्ब रुपैयाँ सहित नवीकरणको लागि निवेदन दिनुपर्ने हुन्छ ।

तत्कालीन मेरो मोबाइल (हालको एनसेल)ले २०६१ सालमा बोलकबोल प्रक्रियाबाट अनुमतिपत्रको नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउने बोलकबोल गरेको थियो । सोहीअनुसार एनसेलले नवीकरणका लागि २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने नवीकरण अनुमतिपत्रको लागि थप रकम बुझाउनुपर्नेछ ।

वैशाख २९ गतेमात्रै अनुमतिपत्र नवीकरण गरेको नेपाल टेलिकमले ऐन तथा नियमावलीअनुसार नवीकरण दस्तुरबापत २० अर्ब र अनुमतिपत्र बापत २१ करोड रकम बुझाइसकेको छ ।

तोकिएको समयमा नवीकरण नगराए अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था दूरसञ्चार ऐन तथा नियमावलीमा गरिएको छ ।

०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले २५ वर्ष समाप्ति भएपछि नेपाल सरकारको स्वामित्वमा आउने गरी मात्रै र कम्पनीको कायम रहेको शेयर संरचनामा कुनै फेरबदल नगर्ने सर्तमा मात्रै एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ ।