सांकेतिक तस्बिर

समाचार

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

By खबरहब

May 20, 2024

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।   

पक्राउमध्ये धनेश्‍वरले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रुपैयाँ, सिकेन्दरले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ र भविन्द्रनाथले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्‍वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।