आर्थिक

घट्दो वैदेशिक व्यापार, अघिल्लो वर्षभन्दा आयात साढे दुई प्रतिशतले ‌ओरालो

By खबरहब

May 20, 2024

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्ष (आव)को १० महिनाको तुलनामा चालु आवको १० महिनामा साढे दुई प्रतिशतले वैदेशिक व्यापार घटेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुको आयात भएको छ । जुन आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आवको १० महिनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६१ प्रतिशतले कम हो ।

विभागको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा ९१.१७ प्रतिशत आयात रहेको छ भने जम्मा ८.८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।