स्वास्थ्य

बलिउड गायिका अल्कालाई लागेको दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति कस्तो रोग हो ?

By पवन मुडभरी

June 20, 2024

९० को दशकदेखि निरन्तर भारतीय संगीतमा छाएर करोडौं श्रोता तथा दर्शकलाई आफ्नो स्वरबाट मन्त्रमुग्ध बनाउने जादुमय आवाजकी धनी बलिउड पाश्र्व गायिका हुन् अल्का याग्निक। उनले आफ्नो सांगीतिक करिअरका क्रममा २१ हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन्। तर बिडम्बना अहिले उनले आफ्नो जादुमय आवाज आफैले सुन्न नपाउने भएकी छन्। उनलाई दुर्लभ न्यूरो संक्रमण भएको छ। यहीकारण यी चर्चित गायिकाले सुन्ने क्षमता गुमाएकी छन्। यो कुराको पुष्टि उनी आफैंले इन्स्टाग्राममार्फत मंगलबार गरेकी हुन्।

उक्त पोस्टमा उनले स्वास्थ्य समस्याकै कारण आफू केही समयदेखि हराएको समेत उल्लेख गरेकी छन्। ‘यो एक्कासी आएको ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ। यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन्। अल्काले पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथीभाइ, फलोअर्स र शुभचिन्तक। केही साताअघि जब म फ्लाइटबाट बाहिर निस्कें, मलाई अचानक महसुस भयो म केही सुन्न सक्दिनँ। डाक्टरले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन्। यो अचानक ठूलो झट्काले मलाई पूर्ण रूपमा चकित बनाएको छ। म यसबाट निको हुन खोज्दैछु। तपाईंहरु सबैको माया र साथले म मेरो जीवनलाई पुनः व्यवस्थित गर्न र छिट्टै तपाईंकहाँ फर्किने विश्वास गर्दछु।’

‘यो एक्कासी आएको ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ। यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन्।

अल्काको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएपछि फ्यानहरु चिन्तित बनेका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन्। साथै अल्काले चर्को संगीत र हेडफोनको एक्सपोजरमा सावधान रहन समेत आग्रह गरेकी छन्। अल्कालाई लागेको दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति कस्तो समस्या हो ? यसको उपचार विधि के छ ? भन्ने विषयमा मेडिसिटी अस्पतालमा कार्यरत न्युरो सर्जन तथा न्युरोलोजिष्ट डा. प्रसन्ना कार्कीसँग गरिएको कुराकानीः

दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति कस्तो समस्या हो ? यो मस्तिष्कसँग जोडिएको कानको नसामा समस्या देखिएर लाग्ने रोग हो। कान सुन्न नसक्ने समस्या विभिन्न कारणले हुन्छ। कानका तीन वटा भाग हुन्छन्। एउटा बाहिर र दुई वटा भित्र हुन्छन्। जसलाई अङ्ग्रेजीमा आउटर, मिडल र इनर कान भनिन्छ। बाहिरी कानमा पिप जमेको, पाकेको त्यस्तो केही समस्या छ भने त्यसलाई कनेक्टिभ हेयरिङ लस भनिन्छ। जसले नसालाई असर गर्दैन। बिचको कानको समस्याले गर्दा नसुन्ने समस्या भएको छ भने बिचको कानमा हड्डी हुन्छन्। जसलाई आसिकल भनिन्छ। ती आसिकल मार्फत कानको भित्री भागसम्म आवाज पुग्छ। वातावरणको अवाजलाई भित्री कानसम्म प्रवाह गर्ने अथवा ध्वनीको कन्डक्सनमा बाहिरी कान, कानको नली, जाली एवं स-साना हड्डी आसिकलको प्रमुख भूमिका हुन्छ। कानका यी भागमध्ये भित्री कानको नसा कुनै खरावी वा समस्या भए ध्वनीको कन्डक्सनमा अवरोध हुन्छ। जसलाई सेन्सरी न्युरन हेयरिङ लस भनिन्छ।

दुर्लभ मानिएको यो रोगको अवस्था अहिले कस्तो छ ? बढ्दो उमेरसँगै कानका नसा सुक्दै जान थाल्छन्। यसरी नशा सुक्न थालेपछि १० गुणा २० गुणाका दरले श्रवण शक्ति घट्दै जान्छ। दुई वटा कानमा विस्तारै समस्या हुँदै आउनुलाई समान्य मानिन्छ। तर एउटा मात्रै कान नसुन्नु र अचानक युवावस्थामा यो समस्या देखिनु दुलर्भ हो।

दुई वटा कानमा विस्तारै समस्या हुँदै आउनुलाई समान्य मानिन्छ। तर एउटा मात्रै कान नसुन्नु र अचानक युवावस्थामा यो समस्या देखिनु दुलर्भ हो।

युवावस्थामा अचानक समस्या आउनुको कारण ठुलो आवाजमा गीत सुन्नुलाई पनि मान्न सकिने हो ? यो धेरै किसिमको रोगका कारणले हुने गर्दछ। ८० देखी ९० प्रतिशतमा चाहिँ यसको कारण नै थाहा हुँदैन। जसलाई इडियोप्यथिक भनिन्छ। बाँकी २० प्रतिशत बिरामीको भाइरल इन्फेक्शनका कारण हुने गरेको पाइएको छ। जस्तै अचानक भाइरल इन्फेक्सन भयो र त्यसले कानको नसामा असर गर्यो भने एउटा कानको मात्रै श्रवण शक्ति गुम्ने हुन्छ। त्यस्तै अहिलेको जेनेरेशनमा नयाँ आएको कानभित्रै छिराउने खालको इयर पटहरु धेरै ठुलो आवाजमा सुन्ने गर्नाले पनि भित्री भागको नसा थाकेर कानै नसुन्ने समस्या आउनसक्छ। त्यस्तै कहिलेकाहीँ दुर्घटना भएर टाउकोमा चोट लाग्दा पनि कानको नसामा समस्या आउँदा एउटा कान नसुन्ने समस्या आउनसक्छ। त्यस्तै एण्टीबायोटिक औषधीको धरै प्रयोग, किमो थेरापीका कारण पनि कानमा समस्या ल्याउन सक्छ।

कुनैकुनै बालबालिकामा जन्मजातै कान नसुन्ने समस्या हुन्छ, यसलाई पनि न्युरोसँग सम्बिन्धत समस्या मान्न सकिने हो ? जन्मैदेखि दुइवटै कान नसुन्ने समस्या आमाको शरीरमा कुनै इन्फेक्सन छ अथवा मस्ष्किबाट कानसम्म जाने नसा नै विकास भएन भने पनि यस्तो समस्या देखिनसक्छ। त्यस्तो बच्चालाई फिजियो थेरापी गराउने, मेसिनले सहयोग गर्छ कि अथवा त्यसको उपाय केही छ कि त्यसको बारेमा सोच्नुपर्ने हुन्छ। तर नसा नै सुकेर जन्मिएका कारण कुनै पनि उपायले खासै काम गरेको पाइदैन।

जन्मैदेखि दुइवटै कान नसुन्ने समस्या आमाको शरीरमा कुनै इन्फेक्सन छ अथवा मस्ष्किबाट कानसम्म जाने नसा नै विकास भएन भने पनि यस्तो समस्या देखिनसक्छ।

दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति भइसकेपछि यसको उपचार विधि के छ ? बुढ्यौलीसँगै आएको समस्या हो। विस्तारै दुई वटा कान नसुन्ने समस्या भएको हो भने हेयरिङ एडहरु दिन मिल्छ। जसले बाहिरको आवाजलाई १० गुणाबाट ५० गुणा सुनाइदिने काम गर्छ। तर एउटा कान मात्रै वा दुई वटै कान अचानक युवा अवस्थामै सुन्न कम भयो भने विभिन्न जाँच गराउनुपर्छ। पहिले भाइरल इन्फेक्सनका कारण भएको हो कि भनेर रगत जाँच गर्नुपर्छ। त्यसपछि सुन्ने शक्ति कति छ त्यो जाँच गर्नुपर्छ। त्यसपछि पहिले खाने औषधी दिइन्छ। त्यो औषधी खाएको केही समयमा सुन्ने शक्ति अलिकति फर्कियो भने रोकथामका लागि हेयरिङ एडहरु प्रयोग गर्न दिइन्छ।

यसबाट बच्नका लागि के गर्ने ? अहिले बालबालिकादेखि युवासम्म धेरै मानिसले ठुलो आवाजमा गीत सुन्ने गर्छन्। त्यो बन्द गर्नुपर्छ। समय समयमा गीत सुने पनि ठिक्कको आवाजमा एक घण्टा जती सुनेर कानलाई आराम दिनुपर्छ। कानमा असर गर्ने खालको औषधी छ भने खाँदा सचेत बन्नुपर्छ। त्यस्तै नेपालमा बच्चामा कानको इन्फेक्सन बढी नै देखिँदै आएको छ। जसलाई अभिभावकले बेवास्ता गर्ने गर्दछन्। एकैचोटी पिप निस्केपछि मात्रै उपचारका लागि लैजाने गरिन्छ। त्यसैले कानमा सबैभन्दा पहिले कानमा इन्फेक्सन हुनबाट जोगाउनुपर्छ। पौडी खेल्दा कानमा प्लग लगाउने, यस्ता कुरामा ध्यान दियौं भने पछि गएर कानमा समस्या आउनबाट जोगिन सकिन्छ।

अहिले बालबालिकादेखि युवासम्म धेरै मानिसले ठुलो आवाजमा गीत सुन्ने गर्छन्। त्यो बन्द गर्नुपर्छ।

न्युरो सम्बन्धी रोगबाट बच्नका लागि के सुझाव दिनुहुन्छ ? हामी सम्पूर्ण शरीरको चेकजाँच गराउँदा शरीरको महत्वपूर्ण अंग ब्रेन अथवा मस्तिष्कको जाँच कहिल्यै पनि गराउँदैनौं। धेरै ठाउँमा होलबडी चेकअपमा रगत, मुटु, किड्नी लगायतलाई प्रथमिकतामा राखे पनि यी सबै अङ्लाई सञ्चालन गर्नका लागि चाहिने मस्तिष्कलाई राखेको हुँदैन। त्यसैले होलबडी चेकअपमा यसलाई पनि समावेश गर्नु आवश्यक छ। ब्रेनमा ट्युमर हुँदा मात्रै होइन ब्रेनको नियमित जेकजाँच गर्न पनि आवश्यक छ। जस्तै ब्रेनको सामान्य स्क्यान गरिन्छ। त्यसबाट धेरै कुराबारे जानकारी पाउन सकिन्छ। यो ५ वर्षमा १ पटक गराउँदा पनि हुन्छ। किनकी केही समस्या छ भने समयमै पत्ता लगाएर उपचार गर्न सकिन्छ।