समाचार

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

By खबरहब

June 20, 2024

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा बितेका ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्‍याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ ।

निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको बताए । उनले झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन सहज हुनुका साथै गाउँका किसानको दैनिकी पनि फेरिएको बताए ।

पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताए । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि  किसानले खेतीबाली लगाउन सुरु गरेको उनको भनाइ छ ।

प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत ९१ लाखको लगानीमा उक्त पुल बनेको हो । तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ ।