फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

By खबरहब

June 20, 2024

मुम्बई– भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको मुख्यमन्त्री स्टालिनले बताए।

अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उनले बताएको मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मदिराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका छन् ।

तामिलनाडुका राज्यपालले सामाजिक सञ्जालमा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरे।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।