राजनीति

केपी ओलीलाई विश्वप्रकाशको चुनौती – कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस्

By खबरहब

June 20, 2024

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट प्रकरणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेको प्रमाण भेटिए आफूहरूविरुद्ध फाइल खोल्न ओलीलाई चुनौती दिए ।

‘गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसले कमिशन खाएर एक टुक्रा जग्गा बेचेको प्रमाण छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, तपाईं सरकारमा हुनुहुन्छ । खोल्नुस् फाइल । बनाउनुस्, छानबिन समिति,’ शर्माले चुनौती दिँदै भने ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न समयमा कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर हिनामिना गरेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष ओलीको आरोपलाई चुनौती दिँदै शर्माले फाइल खोलेर देखाउन र छानबिन समिति बनाउन चुनौती दिएका हुन् ।

उनले सहकारी प्रकरणमा छानबिन समिति बनेपछि गृहमन्त्रीले राजीनामा नदिएर नैतिकता नदेखाएको पनि जिकिर गरे । यद्यपि उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको प्रष्ट पारे ।