अन्तर्राष्ट्रिय

दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै

By खबरहब

June 20, 2024

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरु गर्दै गर्दा दर्जनौँ भारतीय कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् । 

आगामी २ महिनामा भारतीय शेयर बजारमा हजारौँ करोड भारु बराबरको आईपीओ जारी हुन लागेको आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

हालसम्म १८ वटा कम्पनीले भारतीय प्रत्याभूति एवम् विनिमय बोर्ड सेबीबाट आईपीओ जारी गर्ने विषयमा अनुमति पाइसकेका छन् । यी १८ कम्पनीले २० हजार करोड भारु बराबरको आईपीओ निष्काशित गर्ने अपेक्षा गरिएको छ ।

त्यसबाहेक अरु ३७ कम्पनीहरू आईपीओ जारी गर्ने प्रक्रियामा रहेको जनाइएको छ । यी कम्पनीहरूले ५० हजार करोड भारु बराबरको आईपीओ बजारमा ल्याउने बताइएको छ ।

सन् २०२४ मा भारतका ३० वटा कम्पनीले बजारमा २७ हजार ७ सय ८० करोड बराबरको आईपीओ जारी गरिसकेका छन् । सन् २०२३ मा ५७ कम्पनीले ४९ हजार ५ सय करोड भारुको आईपीओ बजारमा ल्याएका थिए ।