अन्तर्राष्ट्रिय

रक्षा सहकार्यलाई निरन्तरता दिन भारत र इटाली सहमत

By खबरहब

June 20, 2024

काठमाडौं – रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा भारत र इटाली सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा दुई मुलुक सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सका अनुसार युरोपेली युनियनमा इटाली भारतको चौथो ठूलो व्यापारिक साझेदार मुलुक हो । प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा दुई मुलुकबीच रणनीतिक एवम् कूटनीतिक सम्बन्ध पनि विस्तार भएको छ ।

भारत र इटालीले द्विपक्षीय सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ स्तरमा विस्तार गरेका छन् भने दुई मुलुकबीच व्यापार, ऊर्जा, विज्ञान प्रविधिजस्ता क्षेत्रमा पनि सहकार्य रहँदै आएको छ ।

दुई मुलुकबीच आर्थिक वर्ष सन् २०२२/२३ मा १५ अर्ब डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो । यो व्यापार इतिहासकै उच्च रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।