अन्तर्राष्ट्रिय

ओसामा बिन लादेनका सहयोगी पक्राउ

By खबरहब

July 20, 2024

काठमाडौँ– अल कायदाका संस्थापक एवम् सेप्टेम्बर ११ हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको नजिकका सहयोगीलाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पञ्जाबको आतङ्कवाद विरोधी विभागले गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

आतङ्कवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उल हकलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको जनाएका छन् ।

अफगानिस्तानबाट पश्चिमी नेटो सेना फिर्ता भएपछि उनी फेरी देखा परेका थिए । उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गरेका थिए ।

नेटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो ।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो । उनी सन् २०११ मा अमेरिकी कारबाहीमा मारिएका थिए ।