जनकपुरधाम – जनकपुरधामका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्-
‘कुनै पनि समाजको बौद्धिक स्तर कस्तो छ, चेतनाको स्तर कति माथि उठेको छ भन्ने जान्नको लागि सबैभन्दा ठुलो मापदण्ड के हो ? भन्ने त्यहाँको सार्वजनिक पुस्तकालयमा कति मानिस आइरहेका छन्, या पुस्तकहरूप्रति मानिसको कतिको लगाव रहेको छ भन्ने प्रश्नको उत्तरबाट सहजै खोज्न सकिन्छ । यदि पुस्तकालयप्रति मानिसहरूको लगाव तथा अभिरुचि बढीरहेको पाइन्छ भने त्यहाँको समाजको चेतनाको स्तर पनि स्वभाविक रुपमा माथि उठेको बुझ्न सकिन्छ तर, यदि त्यहाँको समाज पुस्तकालयप्रति उदासिन छ र उपेक्षाको भाव राख्दछ भने उक्त समाजले आफूलाई चाहे जतिसुकै बौद्धिक रहेको दावी किन नगरोस् त्यहाँ आम मानिसको चेतनाको स्तर उठेको मानिदैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । यद्यपि केही बुद्धिजीवीको त्यसलाई एउटा क्लास भन्न सकिन्छ ।’ निश्चय पनि समाजमा चेतनाको स्तर माथि उठाउन त्यहाँका सार्वजनिक पुस्तकालयको अति नै महत्वपूर्ण योगदान रहन्छ ।
हालको मधेस प्रदेश र प्राचीन मिथिलाको समेत राजधानी जनकपुरधाममा अध्ययनका लागि गुणस्तरीय पुस्तकालय अभाव छ । सरोकारवालाहरूको ध्यान पुग्न नसक्दा भएका पुस्तकालय पनि जीर्ण अवस्थामा छन् ।
जनकपुरधाम उपमहानगरपालिका – ४ स्थित गङ्गासागर पोखरीको पश्चिम डिलमा वि.सं. २०१२ सालमा सार्वजनिक पुस्तकालय स्थापना भएको थियो । जनकपुरधाममा पढाइलेखाइको संस्कार बसाल्न युगेश्वर र कुशेश्वर लाभद्वय सहितका व्यक्तिहरूले आफ्नो निजी प्रयासमा केही पुस्तकहरू किनेर उक्त पुस्तकालय स्थापना गरेका थिए ।
तर, जनकपुरमा २०१२ मा स्थापित पुरानो सार्वजनिक पुस्तकालय सम्बन्धित निकायको उपेक्षाका कारण दिन-प्रतिदिन जीर्ण बन्दैछ । यतिसम्म कि उक्त पुस्तकालयको सञ्चालन र संरक्षण गर्ने जिम्मेवारी लिएको जनकपुर नगरपालिकाको कार्यालयले समेत चासो राख्न छाडेको छ ।
कसरी भयो पुस्तकालय स्थापना ?
नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्ध टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद् सक्रिय थियो । सो परिषद्का सदस्यसमेत रहेका कुशेश्वर लाभ लगायतको एक समूह जनकपुरमा पनि सक्रिय थिए ।
इङ्गल्याण्डको ब्रिटिश काउन्सिलबाट प्रकाशन हुने अखबार ‘लण्डन प्रेस सर्भिस’ जनकपुर ल्याएर सो पत्रिकाको अन्तिम पृष्ठको खाली भागमा लेथो मेसिनले राणा शासन विरुद्धका प्रचार लेखेर पत्रिका वितरण गर्दथ्यो उक्त समूहले ।
२००७ सालमा राणाशासन अन्त्य भएसँगै जनकपुरका नागरिकको चेतनास्तर अघि बढाउने उद्देश्यले ती जागरुक यूवाहरूको समूहले २०१२ मा सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए ।
पञ्चायतकालमा जनकपुरमा अहिले झैं ठूलो संख्यामा पत्रपत्रिकाको प्रकाशन वा वितरण हुँदैनथ्यो । पुस्तकहरूपनि सहज रूपमा उपलब्ध हुँदैनथ्यो ।
विगत लामो समयदेखि उक्त पुस्तकालयमा काम गर्दै आएका र कोषाध्यक्ष समेत रहेका बलिराम मण्डल भन्छन, ‘देश-विदेशबाट प्रकाशित हुने पुस्तक र पत्रिकाहरू पढ्न मानिसहरू नियमित आउँथे । पुस्तकालयको सदस्यतावापत् १० रुपैयाँ धरौटी लिइन्थ्यो । २ रुपैयाँ मासिक शुल्क तिरेर पाठकहरू नियमित सदस्य बनेका थिए ।’
त्यस समय जनकपुरका ५० देखि १०० जनासम्मको संख्यामा जागरुक यूवाहरूको समूह पुस्तकहरू पढ्न पुस्तकालयमा नियमित आउँथे । तर अहिले उक्त संख्या करिब २० मा झरेको छ । अब मानिसहरूमा पुस्तकालय छिरेर पुस्तक पढ्ने रुचि घट्दै गएको छ ।
‘त्यसबेला सार्वजनिक पुस्तकालयमा सोभियत भूमि, सोभियत संघ र रूसी पत्रिकाहरू पनि आउँने गर्थ्यो । विभिन्न किसिमका उपन्यासहरू, धार्मिक, साहित्यिक र राजनीतिक पुस्तकहरू थियो । अझ भारतीय राजदूतावासले भारतमा प्रकाशित धार्मिक, साहित्यिक र ऐतिहासिक पुस्तकहरू दिने गर्थ्यो । अब त यहाँ पुस्तकहरू त्यति धेरै छैन ।’
४ हजारभन्दा बढी संख्यामा पुस्तकहरू रहेको उक्त पुस्तकालयमा अहिले मुस्किलले ७०० जति पुस्तक बाँकी छ । पुस्तकालयमा पुस्तक नभएकामा अत्यन्तै पीडाबोध गर्दै मण्डलले भने, ‘अहिले पुस्तकालयमा पुस्तक अभाव छ, भएका पुस्तकहरूमा पनि धमिरा लागिसकेको छ । नयाँ पुस्तक ल्याउने स्रोत छैन । मैले नै अन्तिमपटक २०७० सालमा भारतीय दूतावासबाट गण्तन्त्र दिवसका दिन ९९ वटा किताब ल्याएको थिएँ । त्यसैले पुस्तकालयलाई धानिरहेको छ । पुस्तकालयको महत्वलाई जनकपुरधाम उपमहानगरपालिकाले प्राथमिकतामा नराख्नु आउँदो पुस्ताका लागि दुर्भाग्यपुर्ण अवस्था हो ।’
केही वर्ष पहिले भारतीय दूतावासले सहयोग गरेको पुस्तकको भरमा पुस्तकालय सञ्चालन हुँदै आएको मण्डलको भनाइ छ । दिउँसो साढे दुईदेखि साँझ साढे सात बजेसम्म सञ्चालन हुने पुस्तकालयमा खानेपानी र शौचालय व्यवस्थापनमा समेत स्थानीय तहले सहयोग गर्न नसकेको गुनासो गर्दै मण्डलले भने, ‘पुस्तकालयको विकासतर्फ यहाँका बुद्धिजीवीहरूको पनि ध्यान पुग्न सकेको छैन । हामी केही व्यक्तिहरूले जेनतेन सञ्चालन गरेका छौँ ।’
पहिले जनकपुरधाममा कुनै सभा वा बैठक गर्न पनि पर्याप्त ठाउँहरू नभएको बेला पुस्तकालय प्रयोग गरिन्थ्यो । उक्त पुस्तकालयमा पञ्चायतकालमा महिला दिवस मनाइरहेका स्थानीयवासीहरू महावीर सिंह, ललन राय, मदन थापा, सीतानन्दन राय, रामआशिष महासेठ र रामनगिना सिंहलाई तत्कालीन प्रशासनले गिरफ्तार नै गरेको इतिहास छ । क्रान्तिकारी विचार बोक्ने परिवर्तनकारी युवाहरू नियमित रूपमा पुस्तकालयमा जाने गर्थे । तर, हाल उक्त पुस्तकालयप्रति स्थानीयबासीको समेत उपेक्षा देखिन्छ ।
बिच्चमा त २०६४ साल देखि २०६९ साल सम्म पुस्तकालय बन्द नै भएको थियो । पुस्तकालय बन्द भएपनि उक्त पुस्तकालय पुनः संचालन गर्नका लागि २१ फागुन २०६९ मा एउटा संचालक समिति गठन गरियो । उक्त समितिको अध्यक्षमा विपति मण्डल, उपाध्यक्षमा विजय यादव, महासचिवमा डा. संजय गुप्ता, कोषाध्यक्षमा बलराम मण्डल, सदस्यहरूमा युवराज खाँति, ललन चौधरी, शंकर राय, अजय सिंह र रामपुकार राय चयन गरियो । लागु औषध सेवन गर्नेहरूको र दिसापिसाब गर्नेहरूको अखाडा बनि सकेको उक्त पुस्तकालयलाई उक्त समितिले आफ्नो प्रयासबाट पुनः संचालनमा ल्याए । अहिले उक्त पुस्तकालयमा केही राष्टिूय अखबार र स्थानिय अखबार मात्र आउने गरेको छ । पुस्तकालयमा पुस्तकहरू छैनन ।
हुन त जनकपुरधाम उपमहानगरपालिकाले पटकपटक पुस्तकालय प्रति गम्भीर ध्यान दिने प्रतिवद्धता गरेको भएपनि कुनै कार्य नगरेको कोषाध्यक्ष बलिराम मण्डलले गुनासो व्यक्त गरे ।
बन्द भएको सुहृद पुस्तकालय
जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीमा पूर्वगर्भनर सत्येन्द्रप्यारा श्रेष्ठ, अम्बिका कोइराला, शहीद सरोज कोइराला लगायतका व्यक्तिहरूले आफ्नौ निजी पहलमा २०११ मा ‘सुहृद’ नाम राखेर पुस्तकालय स्थापना गरेका थिए । तर, अहिले उक्त पुस्तकालय बन्दकै अवस्थामा पुगेको छ ।
पुरानो र ऐतिहासिक पुस्तकालय भएपनि स्तरोन्नतितर्फ सरोकारवाला निकायको ध्यान पुग्न नसकेको सुहृद पुस्तकालयका पूर्वसचिव समेत रहेका नेपाली काँग्रेसका नेता स्थानीय सुरेश कोइराला बताउँछन् । २१ औँ शताब्दीमा ई–पुस्तकालयले व्यापकता पाइरहेका बेला धरोहरको रूपमा रहेको सुहृद पुस्तकालयको स्तरोन्नतितर्फ स्थानीय तहको ध्यान पुग्न नसक्नु दुःखद रहेको उनले बताए ।
‘स्थानीय सरकारले पहल गरिदिनुपर्यो। चाँडै ऐतिहासिक पुस्तकालय संचालनमा आओस् भन्ने हाम्रो इच्छा छ,’ उनले भने, ‘२ वर्षअघि पुस्तकालय संचालन गर्छु भन्दै एसिया फाउन्डेसनका पनि केही मानिस आएका थिए । तर फेरि उनीहरू कता हराए, थाहै भएन ।’
प्रजातन्त्रिक आन्दोलनताका यस क्षेत्रमा जति पनि रणनीति बन्ने गरेको थियो- सबै सुहृद पुस्तकालयमै बन्ने गरेको बताउँदै कोइरालाले भने, ‘पञ्चायती व्यवस्थामा प्रहरीको नजर यसै क्षेत्रमा हुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका बेला रामनारायण मिश्र, महेश्वरप्रसाद सिंह, शेख इन्द्रिस लगायतलाई पुस्तकालय र वरपरबाट प्रहरीले पक्राउ गरेको थियो । यति मात्रै हैन, पुस्तकालयमा विपी कोइराला, गिरिजा कोइराला र शुशील कोइराला लगायत पनि बारमबार आउने गर्दथे ।’
पुस्तकालय जोगाउन र थप विकास गर्न स्थानीय सरकारले सोच्नुपर्ने साहित्यकार एवम् पत्रकार नित्यानन्द मण्डलले बताए । उपमहानगरपालिकाले अन्य क्षेत्रको सहयोगबाट भए पनि पुस्तकालय विकासतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
‘ज्ञानको अभावमा मानिस नकारात्मक दिशातर्फ बढ्दछ,’ उनले भने, ‘जनकपुरमा पढ्ने संस्कार खस्किँदै गएको छ । र, यसका दोषी यहाँका बुद्धिजीवीहरू पनि हुन् । विभिन्न मञ्चमा कुरा गरे पनि पुस्तकालय विकाससम्बन्धी कुरा कसैले गरेका छैनन् ।’
पुस्तकालयमा पाठ्यपुस्तकका अलावा अन्य सहयोगी पुस्तकहरू उपलब्ध हुने र पढ्ने संस्कारको विकास हुने भएकोले यसरी पुस्तकालय नहुनु दुःखद रहेको सरोकारवालाहरू बताउँछन् ।
प्रदेशको अधिकारसम्बन्धी संविधानको अनुसूची ६-मा प्रदेश सरकारलाई पुस्तकालय सञ्चालन गर्ने अधिकार छ । तर, प्रदेश सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।