अन्तर्राष्ट्रिय

कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने

By खबरहब

July 20, 2024

काठमाडौँ– कतारमा भारतीयहरूले युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

 भारतको राष्ट्रिय भुक्तानी प्राधिकरणले कतार नेशनल बैंक (क्यूएनबी) सँग भुक्तानी सहकार्यसम्बन्धी सम्झौता गरेसँगै कतारमा बस्ने भारतीयले यस्तो सुविधा उपभोग गर्न पाउने भएका हुन् ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार क्यूएनबी मध्यपूर्वकै सबैभन्दा ठूलो वित्तीय संस्था हो । यसबाट भारतीयहरूले यूपीआईमार्फत् क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न पाउने भएका छन् ।

कतारमा ठूलो सङ्ख्यामा भारतीयहरूको बसोबास रहिआएको छ । त्यसबाहेक सन् २०२४ मा खाडी मुलुकहरूमा भारतका झण्डै १ करोड पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

यसबाट कतारमा रहेका तथा कतार भ्रमणमा जाने भारतीयहरूका लागि भुक्तानी प्रक्रिया थप सहज हुने प्राधिकरणले उल्लेख गरेको छ ।