अन्तर्राष्ट्रिय

पाकिस्तानमा आईएसआईलाई फोन कलमा निगरानी गर्न दिने सरकारको निर्णयको विरोध

By खबरहब

July 20, 2024

काठमाडौँ– पाकिस्तान सरकारले मुलुकको जासुसी निकाय आईएसआईलाई जनताको फोन कलमा पहुँच दिएको भन्दै त्यहाँको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै सरकारले आईएसआईलाई जनताको फोन कल ट्रेस गर्ने अख्तियारी दिएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

आयोगले संघीय सरकारको उक्त कदम असंवैधानिक भएकोभन्दै आपत्ति जनाएको छ । यसअघि पाकिस्तान सरकारले राष्ट्रिय हितको रक्षाका लागि भन्दै आईएसआईलाई जनताको फोन कल ट्रेस गर्न दिने निर्णय गरेको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आयोगले पाकिस्तानी संविधानको धारा ९, १४ र १९ मा जनताको स्वतन्त्रता र गोपनियताको हक सुरक्षित रहेको उल्लेख गरेको छ। सरकारको उक्त कदमबाट जनताको मौलिक हकमा प्रत्यक्ष असर पर्ने आयोगको ठहर छ ।