समाचार

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : देउवा

By खबरहब

August 20, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरूको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो ।’

सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा  धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन् ।

देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरूलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने सन्देशमा उल्लेख गरेका छन् ।