अन्तर्राष्ट्रिय

रुसलाई वार्ताको दबाब दिने युक्रेनी नीति

By मनोज घिमिरे

August 20, 2024

रुसी भूभागको दोस्रो पुल पार गरेपछि युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीको उत्साह नै अर्कै भएको छ। दुई साताअघि अप्रत्याशित रूपमा रुसको विरुद्धमा आक्रामक रहेको युक्रेनका सामु पनि दबाब नभएको होइन। रुसले कब्जा जमाएको पूर्वी भागमा युक्रेनी सैन्य जत्थाको नजिक रुसी सेना लम्किरहेको छ। रुस पुगेको युक्रेनी सेनाको ध्यान अहिले आफ्नै भूभागमा छ। यस सफलताको बाबजुद युक्रेनको चाहना अझै पनि युद्ध होइन।

जेलेन्सकीले फेरि पनि रुसलाई वार्ताका लागि दबाब दिने नीति नै रहेको छ। सुरुमा रुसले दिएको क्षतिको विरुद्धमा रक्षात्मक रहेको युक्रेनले गरेको आक्रमण पनि रुसले प्रत्याक्रमण गर्दै आफूलाई बलियो रूपमा प्रस्तुत गरेको थियो।

पछिल्लो घटनासँगै जेलेन्सकीले अब रक्षात्मक रूपले अघि बढ्ने समय गएकाले आक्रामक हुनुको विकल्प नभएको बताएका छन्।

पछिल्लो घटनासँगै जेलेन्सकीले अब रक्षात्मक रूपले अघि बढ्ने समय गएकाले आक्रामक हुनुको विकल्प नभएको बताएका छन्।

अहिले युक्रेनले कर्सकलाई बफर जोनको रूपमा स्थापित गर्ने सोचमा छन्। यस स्थानबाट अघि बढेर रुसले आक्रमण गर्न नसकोस् भन्ने युक्रेनी राष्ट्रपतिको चाहना छ। रुसी सेना, रुसी राज्य र रुसी औद्योगिक क्षेत्रमा समेत हारको महसुस भएपछि मात्र उनको विपक्षी युद्ध विरामका लागि तयार हुने कुरामा जेलेन्सकी ढुक्क छन्। यसै कारण पनि उनी कुनै पनि हालतमा यो दबाब कायम राख्न चाहन्छन्।

युक्रेनले रुसको एक हजार वर्ग किलोमिटर कब्जा गरेको जनाएको छ। भिषण युद्ध चलिरहेको सो स्थानबाट रुसी नागरिक हटाइएको कुरामा रुस र युक्रेन दुवै सहमत छन्। युक्रेनको रणनीति रुसको सप्लाई चेन नास गर्ने हो। आइतबार हवाई आक्रमण गरेर अर्को पुल भत्काइएको छ। युक्रेनी हवाई आक्रमण सम्हाली रहेका कमान्डर लेफ्टीनेन्ट जनरल मायकोला ओलुस्चुकले सामानको आपूर्ति ठप्प गर्ने नीति भएको बताएका छन्।

दुई दिन अघि मात्र सेयम नदीको पुल भत्काइएको रुसले जनाएको थियो। रुसले पश्चिमा देशले सहयोग गरेको हवाई उपकरणको प्रयोगले त्यो पुल भत्काइएको हो। रुसकै अनुमान अनुसार अमेरिकाको सहयोगमा रुसले पाएको हिमार्सको प्रयोगले पुल भत्काइएको हो। किभले लडाइँमा उपयोग गरेको हिमार्स अथवा हाइ मोबिलिटी आर्टीलरी रकेट सिस्टम अहिले सबै भन्दा अत्याधुनिक मानिन्छ। किभले रुसमा थप सफलता पाएको जनाएको छ।

सञ्चार माध्यममा उपलब्ध भिडियोकै आधारमा युक्रेनी डिफेन्स फोर्स सुड्जा सहर भन्दा २० किलोमिटर परको ओल्गोभ्का गाउँमा पुगेको छ। युक्रेनी अफिसियलका अनुसार किभ शक्तिले गत साता सुड्जा कब्जा गरिसकेको छ।

आइतबार मात्र युक्रेनी सेनाले सिभाल्कामा कब्जा गरेको भिडियो सार्वजनिक गरेको थियो। अहिले युक्रेनी सेनाको कब्जामा रहेको स्थानको अवस्था साँच्चै दुःखद छ। कोही गाउँ बासी भागी रहेका छन्। कोही गाउँ छाड्न मानिरहेका छैनन्। रुसले त्यहाँको अवस्था शान्त भएपछि मात्र बोलाउने भनेको छ। कर्सक जिल्लाकी प्रशासन प्रमुख मारिना डेग्टायाभाले शत्रु पक्ष चाँडो हार्ने र सबै जना घर फर्काइने बताए पनि स्थानीय पत्याउन सकिरहेका छैनन्।

कर्सकमा युक्रेनले कब्जा जमाए पनि पूर्वी भागमा रुसी सेना अघि बढेको छ। डोन्सटकमा रहेको पोभ्रस्र्कको नजिक रुसी सेना पुगी सकेको छ। त्यस क्षेत्र पनि महत्त्वपूर्ण मानिएको छ। युक्रेनले समान ओसार्न तथा घाइतेलाई उपचार स्थलमा लैजान सोही बाटो प्रयोग गरेको छ। पोभर्रस्क सहरको सैन्य प्रशासनका प्रमुख सेरहिल डोबायरकले सहरको ११ किलोमिटर नजिक रुसी सेना पुगीसकेको जनाएको छ। अहिले युक्रेनले डोन्सटक क्षेत्रमा नयाँ सैन्य योजना बनाइरहेको छ। यो क्षेत्र नै युक्रेनका लागि चिन्ताको विषय भएको छ।

जेलेन्सकीले सो क्षेत्र जोगाउन युक्रेनी सेना लागि परेको बताएका छन्। त्यस सहरका स्थानीयलाई जतिसक्दो चाँडो अन्यत्र लैजाँदै गरिएको छ। अहिलेसम्म १८ सय जना निकालिएका छन्। चार सय ५० देखि पाँच सय परिवार त्यस स्थानबाट बाहिर निकालिने क्रममा छन्। डोबायरकले अहिले गाउँमा सेनाले सर्वसाधारणको ज्यान लिइरहेको बताएका छन्। योक्रम रोक्न जरुरी रहेको उनले बताएका छन्।

युक्रेनकी उपप्रधानमन्त्री आर्यना भेरेस्चुकले सो क्षेत्रमा अहिले चुनौती बढ्दै गएको बताएकी छिन्। उनले गाउँलाई जोगाउनु महत्त्वपूर्ण भएको बताएकी छिन्। त्यहाँका बासिन्दाले रोजगारी, घर र सम्पत्ति गुमाइरहेका छन्। यस अवस्थामा सबै बालबालिका जोगाउनु अर्को चुनौती हो।

पिन्चिच्चे र जालिन्चेका गाउँमा पनि अहिले युद्ध भइरहेको छ। सो क्षेत्र पोभ्रस्र्कको ४० किलोमिटर पूर्वमा छ। युक्रेनी अधिकारीले जनाए अनुसार आइतबार रुसले ठुलो आक्रमण गरेको थियो। युक्रेनका अधिकारीले जनाए अनुसार १२ सवारी सहित सजिएको रुसी सेनाको युक्रेनको सैन्य शिविरमा हमला गरेर टोरेस्टक तर्फ जाने हो। त्यो स्थान कब्जा गरेमा रुसी सेनाका लागि कोस्टियनटानिभ्का, क्रामार्टोस्क र स्लोभियान्सकमा प्रवेशको बाटो खुल्ने छ। युक्रेनी अधिकारी यो सम्भव नहुनेमा विश्वास व्यक्त गर्छन्। यसअघि पनि युक्रेनी सेनाले त्यस खाले प्रयासलाई बारम्बार विफल तुल्याएको थियो।

युक्रेनका चुनावी कमान्डर अलेक्जेन्डर स्यारुस्कीले आफ्नो सेनाले बहादुरीपूर्वक लडी रहेको बताउँदै अमेरिका, बेलायत र फ्रान्स लगायत सहयोगीले जतिसक्दो चाँडो हतियार उपलब्ध गराउनु पर्ने बताएका छन्। ‘युद्धमा कुनै बिदा हुँदैन,’ स्यारुस्कीले भने ।

त्यसो त पश्चिमा शक्ति युक्रेनको पछिल्लो सफलताले उत्साहित भएका छन्। रुसले जनवरीदेखि जुलाईको बिचमा कब्जा गरे भन्दा बढी भूभाग ६ अगस्टमा आक्रमण सुरु गरेको युक्रेनले कब्जा गरीसकेको छ। अमेरिकी विदेश विभागले सहयोग निरन्तर रहने जनाइसकेको छ।

युद्धमा दुवै पक्षले चाहे जस्तो भएको छैन। रुसले चाहे जस्तो एकदमै छिटो युद्ध पनि सकिएन। रुसले चाहे जस्तो युक्रेनी सेनाले हार खाएन। युक्रेनका लागि पश्चिमा शक्तिको सहयोग छ। परन्तु, पूर्ण रूपमा छैन। थुप्रै देशमा आन्तरिक बहस जारी छ। यस अर्थमा युद्ध अबको छोटो समयमा नै वार्ताबाट टुङ्गिने सम्भावना छ।नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ। सो निर्वाचनमा डोनाल्ड ट्रम्प जितेमा रुससँग हुने वार्ता र समझदारीमा आफू झुक्नुपर्ने बाध्यता आउनसक्छ। तसर्थ युक्रेनको चाहना नोभेम्बर भन्दा अघि नै जतिसक्दो धेरै रुसी भूमि कब्जा गर्नु र अमेरिकी निर्वाचन अगाडि नै रुसलाई दबाब दिनु नै हो। स्रोतः सिएनएन, द गार्जियन, फरेन पोलिसी