राजनीति

सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिन्छ : देउवा

By खबरहब

August 20, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैसँग सल्लाह गरेर संविधान संशोधन गरिने बताएका छन् ।

कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले छलफल गरेरै संविधान संशोधन गरिने बताएका हुन् ।

‘संविधानमा केही कुराहरु संशोधन गर्ने ओलीजी र मेरोबीचमा सहमति भएको हो । यहाँ लुकाउनु पर्ने केही छैन,’ देउवाले भने, ‘यो षड्यन्त्र होइन । सबैसित सल्लाह गरेर गर्ने कुरा हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सबैले सहमति जनाए उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए ।

‘राष्ट्रियसभाको अध्यक्ष को हुने भन्ने कुरा छ । यदि सबैको सहमति हुन्छ भने उपराष्ट्रपति राष्ट्रियसभाको अध्यक्ष बन्ने इन्डियामा पनि छ, अरु देशमा पनि छ,’ उनले भने, ‘त्यो नेपालमा पनि हुने सम्भावना छ ।’