ब्रेकिङ स्टोरी

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड (बयानको पूर्णपाठ)

By खबरहब

September 20, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया नेट्वर्कले टेलिभिजन चलाउन ल्याएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिलाई ५१ वटा प्रश्नको जवाफ दिने क्रममा उनले गितेन्द्रबाबु राईले आफूलाई आकर्षक तलब दिने भनेपछि ग्यालेक्सी टेलिभिजनमा जोडिएको बताएका छन्।

रविले गोर्खा मिडिया नेट्वर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आवद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।

रविले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउने काममा आफ्नो संलग्नता पनि अस्वीकार गरेका छन् । उनले आफू कुनै पनि सहकारीको शेयर सदस्य नरहेको बताउँदै ग्यालेक्सी टेलिभिजन छोड्दा एक पैसो नलिएको उल्लेख गरेका छन् ।

उनले सहकारी संस्थालाई आफूले हानीनोक्सानी पुर्‍याउने कुनै काम नगरेको पनि बताएका छन् । रविले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको जिकिर गरेका छन् ।

रविले गोर्खा मिडियामा करिब एक वर्ष प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीको १७ करोड ३१ लाख रुपैयाँ भित्र्याइएको खुलेको छ । उक्त कुरा उनकै बयानबाट पुष्टि भएको हो । तर प्रबन्ध निर्देशक रहेका उनैले त्यो रकम जीबीले कसरी ल्याए भन्ने थाहा नभएको पनि बताएका छन् ।

आफू गोर्खा मिडियामा आवद्ध हुँदासम्म जीबी राईले सहकारी संस्था चलाउँछन् भन्नेसमेत जानकारी नभएको रविले बताएका छन् । आफू आउनुअघि नै जीबी र छविलाल जोशीले कम्पनी खडा गरिसकेको अवस्थामा १५ प्रतिशत शेयर दिएको कुरा उनले स्वीकारेका छन् ।

उनले बयानका क्रममा केही पारिवारिक विवरण पनि खुलाएका छन् । उनले अमेरिकामा एक छोरा र दुई छोरी बस्दै आएको बताएका छन् । उनले आफू सिजी हिल्स अपार्टमेन्टमा बस्ने गरेको पनि बताएका छन् ।

रविको बयानको पूर्णपाठ