समाचार

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

By खबरहब

September 20, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको भेटिएको छ ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलबस्वरुप लिएका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख तलब लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब लिएका छन् ।

समितिले ग्यालेक्सी टिभीमा सहकारीभन्दा बाहिरबाट कुनै पनि लगानी नआएको निष्कर्ष निकालेको छ ।

समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ ।

लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस पनि समितिले गरेको छ ।