काठमाडौं– सनातन धर्मलाई कमजोर बनाउने उद्देश्यले पशुपति परिसर भित्र बाइबल वितरण भएको हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले बताएको छ ।
सनातन धर्मको मुख्य धरोहर पशुपतिनाथको प्राङगणमा इसाई धर्म प्रचार हुँदा पशुपति क्षेत्र विकास कोष आँखामा पट्टी बाँधेर बसेको अभियानको आरोप छ ।
अभियानका राष्ट्रिय महासचिव देवेन्द्र झाले कोषलाई पशुपति परिसरमा भएका विभिन्न बेथिति रोक्न आह्वान गरेका छन् । जागरण अभियानले आइतबार कोषलाई ज्ञापनपत्र बुझाउँदै परिसरभित्रको बेथिति रोक्न अनुरोध गरेको हो ।
साथै, अभियानले हिन्दु धर्मालम्बीको आराध्यादेवमा अख्तियार दुरुपयोग निवारण आयोग र अदालतले नै प्रवेश गर्ने गरी कोषको कार्य सञ्चालन हुनु दुखद भएको टिप्पणी गरेका छन् ।
हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले ध्यानाकर्षण गराएका विषयहरू :
– पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको जग्गा मदर टेरेसा ट्रस्ट अन्तर्गत पर्ने मिसनरी अफ च्यारिटी चर्च (मित्रपार्क, कालोपुल) सञ्चालन गर्न दिएको । – कालोपुलको ज्ञानेश्वर चर्च स्थानीय हिन्दु समाजले रोक लगाए पनि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट पुनः अनुमति लिएको । – विजयनगरमा गुठीको जग्गा मस्जिद सञ्चालनमा दिएको – पशुपतिनाथ मन्दिर परिसरमा फाटो खिच्न मनाही हुँदा पनि शिवलिङ अभिषेक भइरहेको देख्ने गरी बस्ने मिलाई विदेशीसमेतलाई सहज फोटोग्राफ गर्न मिल्ने गरी फ्रेन्डस् पार्क निर्माण गरिएको – सर्वोच्च अदातलबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र मृगस्थलिमा इसाईहरूका लागि चिहान बनाउन दिएको । – नन्दी बाच्छा सेवा केन्द्रमा गौमाता र नन्दीलाई सद्गति गर्दा सोही दिन त्यही ठाउँमा माछा मासु खाने गरेको । – पशुपात क्षेत्रमै इसाहरुले बाइबल वितरण गर्ने गरेको । – वनकाली धर्मशालालाई वर्षौदेखि अलपत्र पारेको – भक्तजनको सुविधाको लागि निर्माण गरिएको तिलगंगास्थित धर्मशाला होटलको रूपमा सञ्चालन गरेको । – पशुपति विकास कोषले इसाई धर्मावलम्बीलाई कर्मचारी नियुक्त गरेको ।