स्टोरी

जग्गाधनी कालु, दान दिने मीनबहादुर !

By खबरहब

October 20, 2024

काठमाडौं– नेपालीमा एउटा उखान छ– काम गर्ने कालु, मकै खाने भालु !

नेकपा एमालेले मुख्यालय निर्माणका लागि दानमा पाएको जग्गाको हालत पनि यस्तै देखिएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पानी समातेर दान लिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गाका मालिक अर्कै व्यक्ति भएको तथ्य फेला परेको छ । उक्त जग्गा मीनबहादुर गुरुङको नभएर विवादित व्यवसायी कालु गुरुङको रहेको पाइएको छ । जग्गाधनी कालु, तर ‘दानवीर’को पहिचान बनाउनेचाहिँ मीनबहादुर गुरुङ देखा परेका छन् ।

कीर्तिपुरको मित्रनगरमा रहेको उक्त जग्गा मीनबहादुरका नाममा नरहेको र भनिएवमोजिम जग्गाको क्षेत्रफलसमेत १० रोपनी १४ आना भन्दा कम रहेको रिपोर्ट कान्तिपुर टेलिभिजनले प्रशारण गरेको छ ।

मीनबहादुर दम्पत्तिले भूमि पूजनमार्फत घण्टी बजाउँदै पानी समातेर एमालेलाई दिएको जग्गाको नामसारीको जिम्मा भने अब कालु गुरुङका काँधमा छ । तर, रोचक पक्ष के छ भने उक्त जग्गा कालु गुरुङले पानी समातेर एमालेलाई दिएनन्, तेस्रो व्यक्ति मीनबहादुर गुरुङ ‘फ्रन्ट’मा देखा परे ।

असोज २५ गते कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रीय कार्यालयको शिलान्यास गरेका थिए । भवन निर्माणका लागि आवश्यक जग्गा र भवन बनाउँदा लाग्ने खर्चसमेत व्यवसायी मीनबहादुर गुरुङले नै व्यहोर्ने बताइएको छ ।

व्यवसायी मीनबहादुर गुरुङले आगामी वर्षको दशैंको घटस्थापनाको दिन सो भवनको निर्माण सम्पन्न गरेर उद्घाटन हुने बताएका छन् ।

भवनको शिलान्यास कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमालेका महासचिव शंकर पोखरेलले १० रोपनी १४ आना क्षेत्रफलको जग्गा भाटभटेनीका सञ्चालक गुरुङ दम्पत्तिले पार्टीको भवन निर्माणको निम्ति भमिपूजनमार्फत दान गरेको प्रतिक्रिया दिएका थिए ।

‘मीनबहादुर गुरुङ र उहाँको जीवनसंगिनी सावित्री गुरुङले भूमि पूजनका माध्यमबाट नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गर्नुभएको छ’, पोखरेलले शिलान्यास कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।

एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङको दम्पत्तिद्वयले संयुक्तरुपमा शिलान्यास गरेको भवनको विषय निकै विवादित बन्दै आएको छ । ललिता निवासको जग्गा हिनामिनामा मुछिएका व्यवसायी गुरुङको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा एमालेको केन्द्रीय कार्यालय निर्माणको लागि उनैले अर्ब बराबरको सहयोग गर्ने विषय ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

पार्टी कार्यालय निर्माणमा अर्ब बराबरको सहयोग कुनै एक विवादित व्यवसायीबाट लिएको विषयमा एमाले पार्टीभित्रै पनि निकै विवादित बनेको देखिन्छ । एमालेको नेतृत्वदेखि कार्यकर्तासम्मले दुई विपरीत धारणा राख्ने गरेका छन् ।

जग्गा मीनबहादुरको नभएर ‘कालु गुरुङ’को नाममा

कान्तिपुरका अनुसार प्रधानमन्त्री एमाले अध्यक्ष र व्यवसायी गुरुङ दम्पत्तिले पूजा गरेर संयुक्तरूपमा पार्टी कार्यालय निर्माणका लागि शिलान्यास गरेको जग्गा भने अर्का व्यवसायी कालु गुरुङको भएको भेटिएको हो ।

एमाले पार्टी कार्यालयको भवनको शिलान्यास नापी विभागको नक्साअनुसार कित्ता नम्बर २५७ र २५८ को बीचमा गरिएको छ । मालपोत कार्यालय कलंकीका अनुसार ती कित्ता नम्बर भएका जग्गा रोड सो रियल स्टेट प्रालिको नाममा रहेका छन् । जुन कम्पनीको अध्यक्षमा व्यवसायी कालु गुरुङ र सञ्चालकमा मीनाकुमारी गुरुङ र सागर गुरुङ रहेका छन् ।

एमालेका लागि भवन बनाउन शिलान्यास गरिएका दुई कित्ता जग्गा सहित ९ कित्ता जग्गा रोड शो प्रालिले ०७७ सालमा बनोरीप्रसाद शाह, प्रमिला शाह र उद्देश्वरलाल श्रेष्ठसँग खरिद गरेको थियो । जसको कुल क्षेत्रफल करिब ४ रोपनी छ । सोही जग्गा तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा राखेर उक्त कम्पनीले १२ करोड ३२ लाख ऋण समेत लिएको छ । जसले गर्दा मालपोत कार्यालयले सो जग्गालाई रोक्का राखेको छ ।

व्यवसायी मीनबहादुर गुरुङकै नाममा नभएको जग्गा उनले कसरी एमाले कार्यालय भवन निर्माणको लागि भनेर दान दिए ? यो निकै रोचक विषय बनेको छ ।

यो पनि-

सचिवालयलाई झुक्याएर मीनबहादुरको जग्गा प्राप्ति

‘रातोघर’को फोहोर हटाउन महानगरको डोजर

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

कीर्तिपुरको मैत्रीनगरमा रहेको कालु गुरुङको जग्गा कालुले मीनबहादुरलाई दिने र मीनबहादुरको भक्तपुरको दुवाकोटमा रहेको जग्गा कालु गुरुङलाई दिने सहमति दुई पक्षबीचमा भएको चर्चा छ । तर, त्यसो गर्दा पनि कीर्तिपुर मित्रनगरमा भवन शिलान्यास गरिएको ठाउँमा १० रोपनी १४ आना जग्गा भने पुग्न सक्दैन ।

त्यसैले सो ठाउँ वरपरका अन्य जग्गा पनि साटफेर गर्ने तयारी मीनबहादुरले गरेका छन् । ती वरपरका जग्गा साटफेर गर्ने विषयमा स्थानीयसँग छलफल भएको अन्तिम चरणमा पुगेको र नामसारी मात्रै गर्न बाँकी रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् । कीर्तिपुरको मित्रनगरमा सरकारी दररेटअनुसार प्रतिआना ७ लाखको हाराहारीमा जग्गाको मूल्य भएपनि बजार मूल्यअनुसार भने ५० लाख भन्दा बढीमा कारोबार चल्ने गरेको स्थानीयले बताएका छन् । यदि मिनबहादुरले एमालेलाई सबै प्रक्रिया पूरा गरेर १० रोपनी १४ आना जग्गा दिए भने त्यो हालको मूल्यमा ५० करोड ७० लाख बराबरको हुने देखिन्छ ।

को हुन् कालु गुरुङ ?

घरजग्गा व्यवसायीका रूपमा परिचित कालु गुरुङ चर्चित युनिटी प्रकरणमा मुछिएर ९ करोड धरौटीमा व्यक्ति हुन् । काठमाडौं, कास्की लगायतका थुप्रै जिल्लामा कारोबार गर्दै कालु गुरुङ रोड सो रियल स्टेट प्रालिका अध्यक्ष हुन् ।

त्यति मात्रै नभएर उनले रोड शो सेक्युरिटिज (शेयर ब्रोकर कम्पनी), माछापुच्छ्रे ब्रिक्स फ्याक्ट्री प्रालि, पवित्रा इन्भेष्टमेन्ट, रञ्जना ट्रेड सेन्टर प्रालि, अकारा डेभलपर्स प्रालि, सिटिजन्स बैंक इन्टरनेशनल, अन्नपूर्ण केबलकार, पोखरा फाइनान्स कम्पनी लगायतमा नेतृत्व तथा सञ्चालक तहमा रहेर काम गर्दै आएका छन् ।

उनी २०६७ सालमा युनिटी नेटवर्कको ठगी प्रकरणमा पक्राउ परेपछि ९ करोड धरौटीमा रिहा भएका थिए । उक्त प्रकरणमा ललितपुर जिल्ला अदालतले उनलाई ०७० चैतमा सफाइ दिँदै अन्य १२ जना सञ्चालकलाई दोषी ठहर गरेको थियो ।

उच्च अदालत पाटनले भने २०७४ मंसिरमा सो मुद्दामा जोडिएका सबैजनालाई सफाइ दिएको थियो । ०७४ चैतमा सोही मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएकोमा अहिलेसम्म ५२ पटक पेशी चढेपनि अन्तिम टुंगो लागेको छैन ।

(माथिको रिपोर्ट कान्तिपुर टेलिभिजनका लागि प्रकाश बम र सुविन्द्र श्रेष्ठले तयार पारेको सामग्रीमा आधारित छ)

हेर्नुहोस् कान्तिपुर टेलिभिजनको रिपोर्ट–

मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गा कालु गुरुङको, को हुन् कालु गुरुङ ?