फाइल तस्वीर

आर्थिक

अर्थसंक्षेप : २ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा, तनहुँ जलविद्युत आयोजनाको आधा काम सकियो

By खबरहब

October 20, 2024

काठमाडौं– निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज ३० गते ‘एकीकृत परिपत्र–२०८०’ लाई संशोधन गर्दै नीतिगत व्यवस्थामा व्यापक परिवर्तन गर्‍यो । र, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

यस्ता छन आजका प्रमुख आर्थिक समाचारहरुः

२ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा 

चालु आर्थिक वर्षको २ महिनामा बैंकिङ क्षेत्रले २० अर्ब बढी नाफा नाफा आर्जन गरेको छ भने वाणिज्य बैंकहरूले मात्रै १६ अर्ब बढी नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिना अवधिमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त क्षेत्रले २० अर्ब २१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

तथ्यांकअनुसार नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले समीक्षा अवधिमा १७ खर्ब १७ अर्ब ६९ करोड २ लाख रुपैयाँ र विकास बैंकहरूले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा फाइनान्स कम्पनीहरूले ८७ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२.०७ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युतगृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ ।

आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छ भने सुरुङ, विद्युतगृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।

विदेशी मुद्रा सटहीमा लचिलो राष्ट्र बैंक : आवश्यकता कि प्रभाव ?

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज ३० गते ‘एकीकृत परिपत्र–२०८०’ लाई संशोधन गर्दै नीतिगत व्यवस्थामा व्यापक परिवर्तन ग¥यो । मुद्रा सटही सीमामा सयौं प्रतिशत परिवर्तन, विदेश भ्रमणमा गरिने खर्च, आयातमा कागजी प्रक्रिया, विदेशमा उपचार लगायत विषयमा राष्ट्र बैंकले परिपत्र संशोधनमार्फत् हदैसम्म लचक नीति अख्तियार गरेको छ ।

परिपत्र संशोधनमार्फत् राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले विभिन्न व्यावसायिक क्षेत्र र व्यक्तिहरूले प्राप्त गर्ने विदेशी मुद्रा सटहीको दायरा फराकिलो भएको छ । संशोधन गरिएको केही व्यवस्थाले अति आवश्यक क्षेत्रको आयातमा भुक्तानी सहजीकरणलाई सम्बोधन गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई दिइने विदेशी मुद्रा सटही सुविधा पनि दोब्बरले बढाइएको छ ।

होटेलमा पर्यटकले दैनिक साट्न पाउने र विदेशबाट दैनिक पठाउन पाइने विदेशी मुद्राको सीमा लगायतका विदेशी मुद्रा आप्रवाहसँग सम्बन्धित विषयलाई बढाइएको भए पनि आयात र विदेशमा गरिने खर्चको सीमा बढाउँदा संशोधित परिपत्रकै कारण मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रभाव पार्न सक्छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा १ लाख ६५ हजार पुगेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

नेप्से ४७ अंकले घटेर परिसूचक २६९७ विन्दुमा झ¥यो, कारोबार कति ?

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंकले घटेको छ । आज बजार खुल्ला हुँदा १ बजे केही बेर मात्र बढेको बजार दिनभर राताम्य भएको छ । नेप्से १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा आएको छ । नेप्से घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच भएको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१५ वटा कम्पनीको कारोबारमा आउँदा ८८ हजार ७१४ पटक शेयर किनबेच भएको छ ।

आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशते घटेर ३ हजार २९९.४० विन्दुमा आएको छ । आज सबैभन्दा कम वाणिज्य बैंक समूह १.०२ प्रतिशतले घटेर १ हजार ५९१.७९ विन्दुमा आएको छ । आज म्युचुअल फण्ड भने स्थिर रहेर २१.२८ विन्दु कायम भएको छ ।

सहरी विकास मन्त्रालयद्वारा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण

सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ । साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलवालले बताए ।

जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरा अस्पताल भवन निर्माण गरेको छ । त्यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ ।

मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ पालिकाको प्रशासकीय भवन निर्माण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।

मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको बताए । ‘दमकको व्यापारिक भवन, बुटवलको सभाहल, धरहराजस्ता ठूला संरचना निर्माण भइसकेको छ, अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा गठनादेश बनाएर मन्त्रिपरिषद्मै पठाएका छौँ’, उनले भने । मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, ते¥हथुम, मारेकहटहरे स्वास्थ्य चौकी र मूर्तिढुङ्गा स्वास्थ्य चौकी धनकुटा र थोक्लुङ स्वास्थ्य चौकी ते¥हथुमको निर्माण भइसकेको छ । जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनःनिर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीनवटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको उनको भनाइ छ । दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ । साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधीन अवस्थामा छन् ।

खिम्ती–लामोसाँघु प्रसारणलाइन सञ्चालनमा ल्याउन ईआरएस टावर

गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।