काठमाडौं– नयाँ सरकार गठनका लागि सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएका भित्री छलफलहरूमा परराष्ट्रमन्त्री डा. आरजु राणा नछुट्ने नेतामा पर्छिन् ।
गत असार १९ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच व्यवसायी रामेश्वर थापाको चपली हाइटस्थित घरमा भएको सात बुँदे सहमतिमा हस्ताक्षर हुँदा आरजु पनि हस्ताक्षर स्थलमा उपस्थित थिइन् ।
त्यसअघि भएका गोप्य छलफलमा पनि उनी बालकोटमा उपस्थित थिइन् । असार १५ गते ‘दहीच्यूरा खाने’ प्रचार गराउँदै पति एवम् पार्टी सभापति देउवासँग आरजू पनि ओली निवास बालकोट पुगेकी थिइन् ।
सात बुँदे सहमतिबमोजिम असार ३१ मा ओली प्रधानमन्त्री नियुक्त भए भने कांग्रेस केन्द्रीय सदस्य डा. राणाले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाइन् । परराष्ट्र मन्त्रालय सम्हाल्ने चौथो महिला नेतृमा उनले आफ्नो नाम लेखाउन सफल भइन् । त्यसअघि कांग्रेसबाटै सुजाता कोइराला परराष्ट्रमन्त्री भएकी थिइन् ।
परराष्ट्रमन्त्री राणा गत भदौ २ गते भारतीय समकक्षी (विदेशमन्त्री) एस. जयशंकरको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली उडिन् । उनले भारतीय पक्षबाट नयाँ दिल्लीमा पाएकी सम्मानजनक आतिथ्यताले नेपालमा ठूलै चर्चा कमायो ।
भ्रमण क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय समकक्षी एस. जयशंकरसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गरेकी थिइन् । जयशंकरसँग भदौ ३ गते दिउँसो भेट गरेकी परराष्ट्रमन्त्री राणाको सोही बेलुकी भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता भएको थियो ।
पार्टीमा प्रभाव बढाउँदै
दक्षिणी छिमेकी मुलुक भारतसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुधार्न सफल नभए पनि परराष्ट्रमन्त्री राणाले आफ्नो पार्टीमा भने पकड बढाउँदैछिन् । परराष्ट्रमन्त्रीमा नियुक्त हुनुअघि विभिन्न काण्डमा नाम जोडेर राणाको चर्को आलोचना हुने गरेको थियो । उनलाई सोसल मिडियामा ‘भाउजू’ भन्दै उडाउने गरिएको थियो ।
तर, पछिल्लो समय उनी ती आलोचनाहरू बिर्साउने गरी अघि बढेको कांग्रेस नेताहरुको दाबी छ । कांग्रेसको संस्थापनइतर समूहका नेताहरू नै मन्त्री बन्नुअघि जतिसुकै आलोचना हुने गरिएको भए पनि अहिले परराष्ट्रमन्त्रीका रूपमा राणाको भूमिकाले पुराना कुरा भुलाइदिएको बताउँछन् ।
इतर समूहका एक पदाधिकारी भन्छन्, ‘मन्त्री बनाउँदा जसरी शेरबहादुर दाइ आलोचित हुनुहुन्थ्यो, मन्त्री बनिसकेपछि उहाँले छलाङ हान्दै हुनुहुन्छ, उहाँको सक्रियताले मान्छेहरूमा पुराना कुरा बिर्साइसक्यो । शेरबहादुरले बनाएको भन्दा पनि योग्य मान्छे रैछन् भन्ने छाप परेको छ ।’ ती पदाधिकारीले परराष्ट्रमन्त्री राणाको प्रभाव पार्टीमा बढ्दै गएको दाबीसमेत गरे ।
‘पार्टीमा आलोचना गर्नेहरू प्रशस्तै छन् । तर, उहाँसँग आशावादी हुनेहरू झन् बढी छन्,’ ती नेता भन्छन्, ‘आशावादी हुनेको संख्या बढी भएपछि त पार्टीमा पकड हुने नै भयो । क्षमता पनि रहेछ भन्ने प्रमाणित गरेर देखाउनुभयो, पढे–लेखेकी पनि हुनुहुन्छ । परराष्ट्रमन्त्रीका रूपमा फेरि पहिलाको जस्तो उहाँको आलोचना पनि छैन ।’
कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीको दाबीअनुसार परराष्ट्रमन्त्री राणाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् । ती मन्त्रीले सरकारमा पार्टीका तर्फबाट मन्त्री राणाको भूमिका बढी प्रभावकारी रहेको बताए ।
‘परराष्ट्रमन्त्रीको रूपमा र क्याबिनेटमा उहाँलाई जुन रोल छ, त्यो रोल भनेको प्रधानमन्त्रीले मन्त्रीमध्येमा सोधपुछ गर्ने मन्त्रीमा निःसन्देश नै उहाँ हुनुहुन्छ,’ कांग्रेसका ती मन्त्री भन्छन्, ‘परराष्ट्रमन्त्री र त्यसमा पनि सभापतिज्यूकी श्रीमती भनेपछि त भूमिका त्यसै बढिहाल्यो ।’
दिल्ली दौड : न्यानो स्वागत, चिसो सम्बन्ध !
परराष्ट्रमन्त्री राणाले गत भदौ ७ गते पार्टीको केन्द्रीय कार्यसमितिमा ‘ब्रिफिङ’ गर्दै भारत भ्रमण सफल भएको बताएकी थिइन् । भ्रमणले नेपाल–भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको पनि उनको दाबी थियो ।
भ्रमणबाट दुई मुलुकबीचको मैत्रीपूर्ण, सहयोगी, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको उनको ‘रिपोर्टिङ’ थियो । उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव बैठकमा सुनाएकी थिइन् ।
आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेको तथा ती वार्तामा नेपालको हित एवम् चासोका सबै विषयहरू राखेको उनले बताएकी थिइन् ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको मन्त्री राणाले जानकारी बैठकलाई दिएकी थिइन् ।
भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको पनि जानकारी मन्त्री राणाले पार्टीलाई दिएको नेताहरू बताउँछन् ।
विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी–डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतबारे कुराकानी भएको उनले पार्टीमा ब्रिफिङ गरेकी थिइन् ।
भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरूको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवम् अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि मन्त्री राणाको भनाइ थियो ।
भ्रमण तालिकामा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता पूर्वनिर्धारित भए पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट तय भइसकेको थिएन । उनी भ्रमणमा जानुअघि नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता हुन सक्ने सम्भावनामात्रै बताइएको थियो ।
तर, भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणासँग हैदरावाद हाउसमा झण्डै ४५ मिनेट लामो भेटवार्ता गरे । राणा–मोदीको भेटवार्तालाई काठमाडौंमा अत्यन्तै चासोका साथ नै हेरियो ।
यसअघि भारतले नेपालका सीमित परराष्ट्रमन्त्रीहरूलाई दिएको महत्वजस्तै डा. राणालाई पनि महत्व दिएको भन्दै काठमाडौंमा वर्तमान सत्ता गठबन्धनको भविष्यदेखि सत्तारुढ नेकपा एमाले चिढिएसम्मका अनेक प्रश्नहरूसमेत उठेका थिए ।
परराष्ट्रमन्त्रीका रूपमा राणालाई नयाँ दिल्लीमा दिइएको सम्मानले नेपालप्रतिको भारतको दृष्टिकोण नै फेरिएको विश्लेषण कतिपयको थियो ।
तर, मन्त्रिपरिषद्कै सदस्यहरू परराष्ट्रमन्त्री राणाले नयाँ दिल्लीमा पाएको सम्मानले दुई मुलुकबीचको सम्बन्धमा खासै फरक नपरेको स्वीकार्छन् ।
‘प्रधानमन्त्रीसँग भारतको सम्बन्ध सुध्रिएको छैन । उहाँ (परराष्ट्रमन्त्री) सँगको सम्बन्ध मात्रै सुमधुर छ भन्ने देखिन्छ,’ ओली क्याबिनेटका एक मन्त्रीले खबरहबसँग भने, ‘भारतका प्रधानमन्त्रीसँगको अमेरिकामा भएको भेटमा पनि उहाँ (आरजु)को ठूलो रोल छ ।’
ती मन्त्रीले प्रधानमन्त्री ओलीको भारतसँगको सम्बन्धमा सुधार नभएकै कारणले पहिलो भ्रमण चीन हुन लागेको पनि बताए । ‘प्रधानमन्त्रीको भारतसँगको सम्बन्ध सुध्रिएको भए सायद पहिले चीन भ्रमणमा जाने कार्यक्रम बन्दैनथ्यो होला,’ उनको तर्क छ ।
तथापि, कांग्रेस महामन्त्री गगन थापानिकट एक नेता परराष्ट्रमन्त्रीका रूपमा राणाले भारतसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुधार गर्न नसकेको भनेर प्रश्न उठाउन सकिए पनि आलोचना नै गरिहाल्नुपर्ने अवस्था नभएको बताउँछन् । ती नेता मन्त्री राणाकै पहलका कारण प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेट गर्ने वातावरण बनेको दाबी पनि गर्छन् ।
‘परराष्ट्रमन्त्रीका रूपमा छिमेकी मुलुकसँग प्रधानमन्त्रीको सम्बन्ध सुधारका विषयमा प्रश्न उठाउन सकिएला । तर, यो बाहेक आलोचना गरिहाल्नुपर्ने काम उहाँले गर्नुभएको छैन,’ ती नेताले भने, ‘उहाँको कार्यसम्पादन धेरै कमजोर छैन । अरू परराष्ट्रमन्त्रीहरूको तुलनामा राम्रै छ । अमेरिकामा हाम्रा प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीको भेटघाटको वातावरण पनि राणाकै पहलले बनेको हो ।’
जापान हुँदै बेइजिङ जाने तयारी
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री राणा नोभेम्बर २९ अर्थात मंसिर १४ मा बेइजिङ जाने तयारीमा छिन् । त्यसअघि उनी उपचारका लागि जापानको नायोगा पुग्ने तालिका छ ।
सचिवालयका अनुसार मन्त्री राणा स्वास्थ्य उपचारका लागि जापान जान लागेकी हुन् । उनको उपचारका लागि टोकियोबाट चिकित्सक नायोगा आउने छन् । नोभेम्बर २६ चिकित्सकले परराष्ट्रमन्त्री राणाको फलोअप चेकजाँच गर्ने बताइएको छ ।
परराष्ट्रमन्त्री राणा उपचारपछि जापानबाटै चीनको बेइजिङ जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नोभेम्बर २८ मा परराष्ट्र सचिव सेवा लम्साल पनि बेइजिङ जाने तय भएको छ ।
प्रधानमन्त्री ओली भने आगामी डिसेम्बर २ मा बेइजिङ जाने परराष्ट्रका अधिकारीहरू बताउँछन् ।