नोभेम्बर २० अर्थात् विश्व बालदिवस । ‘भविष्यको आवाज सुनौँ’ भन्ने नारासहित यसको वर्षको दिवस विश्वभर मनाइँदै छ । तर आजको २१औँ शताब्दी पार गर्नै लाग्दाको अवस्थामा पनि बालबालिकाले आफ्नो अधिकार प्राप्त गर्न सकेको अवस्था छैन ।
विकसित राष्ट्रमा बालबालिकाको क्षेत्रमा केही राम्रो प्रयास भए पनि गरिब देशहरूमा बालबालिकाले पौष्टिक आहारसम्म पाइरहेको अवस्था छैन । अझ युद्धरत देशहरूमा बालबालिकाको अवस्था अझै दयनीय छ ।
संयुक्त राष्ट्रसंघद्धारा सन् १९५४ नोभेम्बर २० बाट बालबालिकाहरूको हक तथा अधिकार उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको सन्देश भनेको बालबालिकाहरूमाथि भइरहेको हिंसा र दुर्व्यवहारको निराकरण गर्नु हो । बालअधिकार अन्तर्गत बाँच्ने, खाना, स्वच्छ पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वतन्त्रता, पहिचान र खेल्न पाउने अधिकार पर्छन् ।
यसै दिवसको अवसरमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तथा बालबालिकासम्बन्धी थुप्रै किताबसमेत लेखेका लेखक तथा बालअभियन्ता दामोदर न्यौपानेसँग गरिएको कुराकानीको अंश :
‘भविष्यको आवाज सुनौँ’ भन्नुको अर्थ के हो ? बालबालिका भविष्य हुन् । योग्य नागरिक बनेर भोलि उनीहरूले नै देश चलाउँछन् । आजका बालबालिका भोलिका दक्ष नागरिक हुन् । समाज, परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नागरिक हुन् । त्यसको लागि उनीहरूलाई आजैदेखि तयारी गरिनु पर्छ । उनीहरूको आवाज आजैदेखि सुनुवाइ हुनुपर्छ ।
यो अभियानमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ? सबैभन्दा मुख्य भूमिका भनेकै अभिभावकको हो । प्रकृतिले पनि उचित संरक्षणमा बालबालिका हुर्काउने जिम्मा अभिभावकलाई नै दिएको छ । अझ धेरै आमालाई दिएको छ । चेतनशील मानवको हकमा अभिभावक दुवै मुख्य हो ।
आफ्नो सन्तान कस्तो बनाउने भन्ने कुरा अभिभावकको हुर्काइमा भर पर्छ । उनीहरूले दिएको संस्कारमा भर पर्छ । पालनपोषणदेखि बालबालिकाका अधिकारको व्यवस्था घरले नै गर्ने हो । संघसंस्था वा राज्यले गरेको कार्यले बच्चालाई पुग्दैन । राज्यले नीति नियम बनाइदिन्छ । तर त्यसको कार्यान्वयनमा बच्चा आफैँ उपभोग गर्न सक्दैन । उसलाई अभिभावकत्व चाहिन्छ ।
अर्को कस्तो वातावरणमा हुर्काउने भन्ने महत्त्वपूर्ण हुन्छ । कस्तो शिक्षा दिने भन्ने दायित्व घरकै हो । अभिभावकत्व सही नहुँदा बालबालिकाले गलत बाटो अपनाउँछन् । आज अधिकांश सडकमा बेवारिसे भेटिएका बालबालिकाको अभिभावकत्व नहुँदाको परिणाम हो । हाम्रो वातावरणमा हुर्कन पाउनुपर्ने बालबालिकाको अधिकार पनि हो ।
बालबालिकाको हकमा हाम्रा अभिभावकहरूले निभाएको भूमिका कस्तो छ ? बालबालिकाको हक र अधिकारका पक्षमा नेपालमा धेरै बहस हुन थालेका छन् । बालआवाज सुनिन थालेका छन् । असल अभिभावकत्व के हो ? यो अभ्यास सुरु भएको छ ।
तर समग्रमा अझै पनि बालबालिकालाई नसुन्ने प्रवृत्ति हाबी छ । उनीहरूको कुरा वास्ता नहुने, केन्द्रमा नराखिने शैली कायमै छ । खान दिएपछि, लगाउन दिएपछि र शिक्षा दिएपछि अभिभावकले आफ्नो कर्तव्य निभाएको ठान्छन् ।
बच्चालाई धेरै माया दिए मात्तिन्छन् भन्ने होइन । माया मात्रै दिने तर संस्कार नसिकाउँदा भने त्यसो हुन सक्छ । बालबालिका काँचो माटो हो । त्यो माटोको कस्तो भाँडा बनाउने भन्ने कुरा अभिभावकको हातमा छ ।
थर्काएर, दप्काएर मात्रै उनीहरू सुध्रिन्छन् भन्ने छैन । माया र सद्भावमार्फत बालबालिकालाई हुर्काउनु पर्छ । त्यो नै उचित हुर्काइ हो ।
बालबालिका हुर्काउँदै गर्दा अभिभावकले ख्याल गर्नुपर्ने मुख्य दुई पक्ष छन् । त्यो भनेको प्रेम र अर्को नियत हो । प्रेमपूर्ण वातावरणमा हुर्काउनु पर्यो । त्यसको साथसाथै क्रमशः नियमहरू पनि तय गर्नुपर्छ । नियम पनि सिकाउँदै जानुपर्छ ।
के गर्न हुन्छ ? यो प्रेम हो । के–के गर्न हुँदैन ? त्यो नियम हो । गर्न नहुने कुराहरूलाई नियन्त्रण गर्दै जाने अथवा रोक्ने हो । प्रोत्साहन र हौसला दिने क्रममा उनीहरूको बुझाइ र सोचलाई स्वतन्त्र छोडिदिनु पर्छ । विवेक पनि सिकाउनु पर्छ । उनीहरूको मनोविज्ञान बुझेर सिकाइनु पर्छ ।
अभिभावकको जिम्मेवारीसँगै बालबालिकाको सवालमा सरकारले गरेका कामहरू कति सन्तुष्टजनक छ ?
बालबालिकाको पक्षमा धेरै राम्रा प्रयासहरू भएका छन् । पर्याप्त मात्रामा कानुनको निर्माण भएको छ । संविधानमै शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, बालमैत्री तथा मर्यादित व्यवहारको सुनिश्चित गरिएको छ । यो निकै ठूलो उपलब्धि हो ।
शिक्षालाई मौलिक हकमा राखेको छ । यसको अर्थ बालबालिकाको दायित्व सरकारले ग्रहण गरेको हो । कानुनमा संघर्ष गर्नुपर्ने अवस्था छैन । तर नेपालको हकमा समस्या के हुन्छ भने कानुनको कार्यान्वयन पक्ष फितलो भइदिन्छ ।
आज पनि धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । शिक्षा निःशुल्क गरिएको छ । तर विद्यालयसम्म बालबालिका किन पुग्न सकिरहेका छैनन् ? पुग्न नसकेका बालबालिकाको लागि वातावरण निर्माण गरिदिनु पर्छ । कतिपय सामुदायिक विद्यालय नै अलपत्र छन् । त्यसले पनि उनीहरूले सिक्ने अधिकार पर्याप्त पाइरहेका छैनन् ।
मुख्य स्वास्थ्यमा छ । उनीहरूले उति उपचार पाएको अवस्था छैन । राज्यले उनीहरूको उपचारमा ध्यान दिन सकिरहेको छैन । बालअधिकारको क्षेत्रमा सैद्धान्तिक रूपमा निकै सफल तर व्यवहारिक रूपमा असफल राष्ट्र हो ।