आर्थिक

अर्थसंक्षेप : ४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात, ९ अंकले बढ्यो नेप्से

By खबरहब

November 20, 2024

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१–८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । यस्तै,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । यता सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ भने उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । यस्तै, उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । यसरी नै, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर २७११.७५ विन्दुमा पुगेको हो ।

प्रमुख आर्थिक समाचारहरु :

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्ष (आव) २०८१–८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयामा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ। यसअवधिमा लघुवित्तको चुक्तापुँजी १ अर्ब ४ करोड रहेको छ।

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो ।

‘चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड पुगेको छ’, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘जुन कुल जिडिपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।’

विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा अर्ब ९८ करोड बराबर सार्वजनिक ऋण घटेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख बराबर छ । जिडिपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत हो ।

चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् ।

हिउँदयामको सुरुआती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन् ।

हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेँसी झर्नेक्रम सुरु भएको बाजुराको बूढीनन्दा नगरपालिका–७ पाण्डुसैनका सुरत थापाले बताए ।

हरेक वर्ष चिसो मौसम सुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय हिउँदेखेती लगाएर मङ्सिरको अन्तिमतिर बेँसी झर्ने गरिए पनि यसवर्ष चाँडै चिसो बढेकाले कात्तिक दोस्रो साताबाटै बेँसी झर्न सुरु भएको उनको भनाइ छ ।

म्याद नाघेका सामान गाउँका पसलमा, ५१ हजार बढीका सामान जफत

विभिन्न कम्पनीका डिलर (अधिकृत बिक्रेता)ले म्याद नाघेका सामान बिकाउन ग्रामीण क्षेत्रमा पठाउने गरेका पाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाको ग्रामीण क्षेत्रमा पर्ने वडा नं ७ हिस्तान र वडा नं ८ राम्चेका पसलको अनुगमन गर्ने क्रममा म्याद सकिएका र सकिन लागेका सामग्री पाइएको हो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोलीले सोमबार र मङ्गलबार दुई वडाका ३६ वटा पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ५१ हजार नौ सय ४० मूल्य बराबरका म्याद नाघेका सामान जफत र नष्ट गरिएको अध्यक्ष पुनले जानकारी दिए ।

‘अनुगमनका क्रममा डिलरहरूले म्याद सकिने समय भएका सामान गाउँमा सस्तोमा पठाउने गरेको पाएका छौँ’, अध्यक्ष पुनले भने, ‘एक दिनअघि बिल काटेर गाउँमा पठाएको सामान पनि भेटियो । म्याद सकिन १५–२० दिनअघि बजारमा नबिकेका सामान गाउँमा पठाउने गरेको समस्या पाइयो ।’

खाने तेल, कुरकुरे, कोक, फेन्टा, स्प्राइट, जुस, वियर, चिउरा, मिठाइलगायत बालबालिकाले र भोजभतेरमा बढी प्रयोग हुने सामग्रीको म्याद नाघेको पाइएको उनले जानकारी दिए ।

धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन्। हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।

‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने।

उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका हुन् । भाडामा लिएको जग्गाको वार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउँदै आएको अर्यालले बताए।

यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ । ‘पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ’, उनले भने, ‘मिलका लागि राज्यले सहयोग गरे त धेरै सहज हुने थियो ।’

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।

काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा चार वटा वडाका करिब दुई सय महिलालाई तालिम दिएपछि अहिले उनीहरुले व्यावसायिक रुपमा अचार बनाउन सुरु गरिसकेका छन् ।

काठेखोला गाउँपालिका–३ धम्जा, वडा नम्बर ५ बिहुँ, वडा नम्बर ७ रेश र वडा नम्बर ८ लेखानीका महिलालाई तालिम दिइएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाएको उनको भनाइ छ ।

काठेखोला गाउँपालिका–३ की रेजिना हमालले पहिले गाउँघरमा उत्पादन हुने तरकारी खेर जाने गरेको भए पनि अहिले गाउँपालिकाले तालिम दिएपछि अचार बनाएर बिक्री गर्न थालेको बताइन् । पालिकाले दिएको अन्य तालिमभन्दा अचार बनाउने तालिम निकै प्रभावकारी बनेको उनको भनाइ छ ।

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन ।

सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ ।

पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब रुपैयाँ लगानी थपिएको बताइन्छ ।

आलुको व्यावसायिक खेती एक करोड ५० लाख विनियोजन

कृषि विकास निर्देशनालयले खायन आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो । आर्थिक वर्ष २०८०–८१ मा एक सय ५२ हेक्टरमा आलुखेती गरिएको थियो । यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए ।

गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट तीन करोड विनियोजन भएको थियो । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ । हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ ।

गत आवमा जिल्लाभर तीन हजार तीन सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु बेचेर आठ करोड आम्दानी भएको केन्द्रले जनाएको छ ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस–४२, कुफ्री, ज्योति, ताराखोला जातका आलु राम्रो उत्पादन हुने गरेको छ ।

पाँच वटा सडक जोडिए पनि म्याग्दी टोड्के पुग्नै सकस

म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँचवटा सडक छन् ।

पाँचवटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुने गरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य हो ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भए यात्रा भने सकसपूर्ण हुने गरेको हालै त्यहाँको भ्रमण गरेर फर्किएका बेनीका देवी जिसीले बताए । ‘टोड्के पुग्नै समस्या छ, पुगेपछि भने रमाइलो छ’, उनले भने ।

बेनी नगरपालिका–१० वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मंगला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । घुम्ती तथा ग्रेड नमिलेको कच्ची सडकमा बर्खा र हिउँ पर्ने समयमा यातायातका साधन चल्दैनन् । अन्य समयमा पनि यात्रा जोखिमपूर्ण छ ।

मंगला–१ पूर्णगाउँका खगेन्द्र खत्रीले निर्माण भएका सडक स्तरोन्नति गर्नेभन्दा नयाँ सडक निर्माण गर्ने होडबाजीले कुनै सडक स्तरीय बन्न नसकेको बताए ।

टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडकको समस्याका कारण अपेक्षाकृत रुपमा टोड्केमा पर्यटक आउन नसकेका बताए । ‘हिउँ नपरेको र वर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टर मात्र चल्छन्’, उनले भने, ‘ढुवानी र गाडी रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्छ ।’

कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ

गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक महिनामा ३५ लाख रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा १० लाख रुपैयाँ कम हो ।

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । असोज महिनामा बडादशैँ परेको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ । जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी हुँदा १६ लाख रुपैयाँ खर्च भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कात्तिकमा ३५ लाख तीन हजार तीन सय ३२ आम्दानी भएको र १६ लाख १५ हजार खर्च भएको छ भने १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको खड्काले बताए ।

९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर २७११.७५ विन्दुमा पुगेको हो ।

नेप्से बढ्दा कारोबार भने घटेको छ । ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर कारोबार भएको छ ।

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३२३ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ३०३ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

१३ समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.३८ प्रतिशतले बढेर ५ हजार ७०२.२४ विन्दुमा पुगेको छ ।